सम्पादकीयः गैरआवासीयलाई नागरिकता

समाधान संवाददाता २०८० कार्तिक १२ गते १३:१८

सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिन थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघ (एनआरएनए)का निवर्तमान अध्यक्ष कुल आचार्य र कार्यकारी अध्यक्ष बद्री केसीलाई नागरिकता प्रदान गरी यसको शुभारम्भ गरेका हुन् । अब गैरआवासीय नेपालीले मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्त गर्न सक्नेछन् ।

Advertisement

नागरिकतावाहक गैरआवासीय नेपालीले राजनीति बाहेकका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउनेछन् । गैरआवासीय नेपालीले दुई दशक पहिलेदेखि नेपाली नागरिकता दिनुपर्ने माग गर्दै आएका थिए । उनीहरूकै मागलाई मुलुकको संविधान २०७२ मा सम्बोधन गरिएको भए तापनि हालसम्म कार्यान्वयन हुन सकेको थिएन । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० लागू भएसँगै गैरआवासीय नेपालीलाई नागरिकता लिन बाटो खुलेको हो । गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्ने प्रक्रिया नेपाली नागरिकता लिए सरह नै हुने व्यवस्था छ ।


अनुसूची फाराम भर्ने, वडाको सिफारिस चाहिने, प्रमुख जिल्ला अधिकारीकहाँ शपथग्रहण गर्नुपर्ने प्रक्रियाहरू छन् । वंशजको नेपाली नागरिकता, अंगीकृत नागरिकता भनेजस्तै गैरआवासीय नेपालीले प्राप्त गर्ने नागरिकतालाई ‘गैरआवासीय नेपाली नागरिकता’ भनिएको छ । यस्तो नागरिकता सार्क मुलुकबाहेकका गैरआवासीय नेपालीले पाउनेछन् । ‘एक पटकको नेपाली, सधैंको नेपाली’ अभियान अन्तर्गत गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्था गरिएको हो ।

संशोधित नागरिकता ऐनमा विदेशी मुलुकको नागरिकता प्राप्त गरी सार्क सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साबिकमा वंशज वा जन्मको आधारमा निज वा निजका बुबा वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउनेगरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।


मताधिकार, राहदानी, चालक अनुमतिपत्रलगायत अन्य धेरै सेवा, सुविधा पाउनुपर्छ र पाउनुहुँदैन भन्ने बहस चलिरहेको छ । गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था राष्ट्रहित अनुरूप छ÷छैन भन्ने टिप्पणी पनि यदाकदा भएको पाइन्छ । संविधानतः हाल गरिएको व्यवस्थामा पछि कुनै संशोधन नभए राष्ट्रको हितमा नै छ । भोलि संशोधन गर्दै सरकार अनि संसद्ले नै राष्ट्रहितविपरीत हुने बिन्दुसम्म पुग्नु हुँदैन । हालको व्यवस्था अनुसारको नागरिकताले गैरआवासीय नेपालीहरू संसारको जुन ठाउँमा रहे पनि आफू ‘नेपाली हुँ’ भन्ने भावनाबाट अलग हुन दिंदैन ।

Advertisement

यसले नेपालको सांस्कृतिक पहिचान विश्वको विभिन्न स्थानमा मौलाउनेछ भने स्वदेशमा लगानी बढ्ने र संसारभरिका नेपालीसँग रहेको सीप एवं स्रोत नेपाल भित्र्याउन सहज हुनेछ । नागरिकताको प्रत्याभूति नहुँदा बाहिर बस्ने नेपालीहरू लगानी गर्न डराएका थिए । एनआरएनहरूले पहिलेदेखि नै नेपालमा सरलरूपमा पैसा लिएर आउन पाउने र चाहिएको बेलामा फिर्ता लग्न पाउनेगरी विदेशी मुद्रामा खाता खोल्ने व्यवस्थाका लागि आवाज उठाउँदै आएका थिए । अब बाटो सहज बनेको छ ।

तपाईको प्रतिक्रिया