दसैंको ऋण तिर्न त्रिशूली किनारमा

राष्ट्रिय समाचार समिति (रासस) २०८० कार्तिक १३ गते १०:५५

तनहुँ ।
दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास १० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् । ‘दसैँमा जुटाएको दामले घर खर्च भ्याएन । तीस/चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्‍यो’, शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारा तर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बोटेले भने, ‘त्यही ऋण तिर्न यता आएको हुँ । आइतबार बिहानैबाट सुन खोज्ने काम गर्नुपर्ला ।’


५५ वर्षीया श्रीमती गौमाया, ३५ वर्षीय छोरा रामबहादुर, छोरी ज्वाइँ ४५ वर्षीय कमल बोटे र ४० वर्षीया अनिता बोटे गरी ५जना भएर सुन खोज्न हिँडेको हर्कबहादुरले सुनाए । मादी किनारामा पर्ने कोमलटारीमा करिब ४० घर बोटेको बसोबास छ । यहाँका करिब २५ घरका बोटे त्रिशूली, कालीगण्डकी, बुढीगण्डकी र मस्र्याङ्दी किनारामा सुन खोज्न जाने गर्छन् । प्रायः सुन खोज्न जाँदा श्रीमान्–श्रीमतीसहितका परिवार भएर जाने चलन रहेको हर्कबहादुरले जानकारी दिए ।


सुन खोज्न जानेले काठको डुँड, बाँसको चनौटो र बालुवा हाल्ने विशेष खालको सामान (पाटी) अनिवार्यरूपमा लैजानु पर्दछ । सुन खोज्दा नदी किनारामा प्रायः २ जनाले मिलेर बालुवा छान्नु पर्छ । घरबाटै त्रिपाल, भाँडावर्तन, लत्ताकपडा लैजाने र नदी किनारामै पाल टाँगेर रात बिताउने गरिएको सुन खोज्न त्रिशूली किनारामा पुगेका कमल बोटेले भने । बालुवा चाल्ने क्रममा महिनाको करिब २० हजार बराबरको काँचो सुन संकलन हुनेसमेत कमलले उल्लेख गरे ।

Advertisement


घरमा मकै खेतीसमेत गरेकाले खेती थन्क्याएर तिहारलगत्तै आफू सुन चाल्न त्रिशूली किनारामा जाने योजना बनाएको ६५ वर्षीय वीरबहादुर बोटे बताउँछन् । करिब ४५÷५० दिन सुन चालेर घर फर्किने गरेको उनको सुनाए ।


‘अब तिहार मानेर सुन खोज्न जाने योजनामा छु’, उनी भन्छन्, ‘माघे संक्रान्ति मान्न घर फर्किँदा त्यस्तै २५/३० हजार हातमा पर्ला कि भन्ने विश्वासमा छु । मेहनतको कुरा हो यसै भन्न सकिँदैन ।’ पहिले मादी नदीमा पनि सुन चाल्ने गरिए पनि सुन पाउन छाडेपछि आफूहरू अन्य नदीमा जानुपरेको बोटेहरूको भनाइ छ ।

Advertisement


सुन चाल्ने पेसालाई राज्यले पनि संरक्षण गर्नुपर्नेमा त्यसो हुन नसक्दा नयाँ पुस्ताले सिक्न नचाहेको समेत वीरबहादुरले गुनासो गरे । यहाँका बोटेहरूले निर्वाहमुखी कृषि पेसासँगै बालुवामा सुन खोज्ने कार्यलाई पनि पेसाकै रूपमा अँगाल्दै आएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया