डिपो प्रमुख दास धरौटीमा छुटे

समाधान संवाददाता २०८० कार्तिक १४ गते ११:५९

पोखरा ।
नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय पोखराका तत्कालीन डिपो प्रमुख चित्तरञ्जन दासलाई ५ लाख धरौटीमा रिहा भएका छन् । नेपाल आयल निगम प्रादेशिक कार्यालय गगनगौंडा डिपो पोखरामा भएको तेल अपचलन घटनाका मुख्य आरोपित तत्कालीन डिपो प्रमुख दासलाई आइतबार ५ लाख धरौटीमा छोड्न आदेश भएको हो ।


आइतबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश ऋषिराम आचार्यको इजलासले दासलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका शाखा अधिकृत रामबहादुर किसानले जानकारी दिए । दास आइतबार नै ५ लाख धरौटी बुझाएर रिहा भएका छन् । दास १ दिन पनि हिरासत नबसी धरौटीमा रिहा भएका छन् । उनी गत साउन २५ गतेदेखि फरार थिए ।


दासविरुद्ध गत साउन ३० गते जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि फरार रहेका दास आइतबार अदालतमा उपस्थित भएका हुन् । दासलाई नेपाल आयल निगमले साउन २५ गते निलम्बन गरेको थियो ।
यसअघि इन्धन अपचलनमा संलग्न पेट्रोल पम्प व्यवसायी बाबुराम जमरकट्टेलसहित ३ जना धरौटी रिहा भइसकेका छन् ।

Advertisement

व्यवसायी जमरकट्टेलसहित गण्डकी–धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनका कार्यालय सचिव जगन्नाथ ढुंगाना र ट्यांकर चालक निर्मल थापा धरौटीमा छुटेका थिए । ट्यांकरधनीसमेत रहेका जमरकट्टेल १ लाख ५० हजार, ढुंगाना १ लाख र चालक थापा ७५ हजार धरौटीमा छुटेका हुन् ।

पेट्रोलियम पदार्थ अपचलनमा संलग्न इन्धन डिपोका तत्कालीन प्रमुख चित्तरञ्जन दास १ दिन पनि हिरासत नबसी धरौटीमा रिहा

Advertisement


गत साउन २५ गते डिजेलको पैसा तिरेर निस्केको ट्यांकरलाई जिल्ला प्रशासन कार्यालय, कास्कीको अनुगमन टोलीले नियन्त्रणमा लिई जाँच गर्दा १५ हजार २ सय लिटर डिजेल फेला परेको थियो । तोकिएभन्दा ३ हजार २ सय लिटर बढी डिजेल अपचलन गरेको घटनामा प्रहरीले विस्तृत अध्ययन गरी आयल निगमको तत्कालीन डिपो प्रमुख चित्तरञ्जन दाससहित तीनै जनालाई कारबाहीका लागि मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन दिएको थियो ।


सरकारी वकिलको कार्यालयले अदालतमा डिपो प्रमुख दासलाई कम्तीमा ५ वर्ष जेल सजाय र ५० हजार रुपैयाँ जरिवाना माग दाबी गरी मुद्दा दायर गरेको थियो । अरु ३ जना व्यवसायीलाई जनही ३ वर्ष जेल सजाय वा ३० हजार जरिवाना वा दुवै सयाजको माग दाबी गरी मुद्दा दायर भएको थियो ।


निगमको डिपोबाट डिजेल लोड गरी पश्चिमाञ्चल पेट्रोल पम्पमा लैजाँदै गरेको ग२ख ८३६ नम्बरको ट्यांकर कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेको आदेशमा नियन्त्रणमा लिइएको थियो ।


निगम गण्डकी प्रदेशका कार्यालय प्रमुख चितरञ्जन दासमाथि डिपोका लागि तोकिएको नोक्सानी लक्ष्यको दुरुपयोग गरी इन्धन चोरी गर्ने गरेको आरोप लाग्दै आए पनि यसअघि प्रमाण भेटिएको थिएन । दास प्रदेश प्रमुख बनेपछि गण्डकीमा निगमले अघिल्लो २ आर्थिक वर्षभन्दा दोब्बर नोक्सानी गराइएको निगम केन्द्रीय कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।


साउन २५ गते नियन्त्रण गरिएको ट्यांकरको चलान, बिल र गेटपास समेत दासले आफैं सही गरेर पठाएका थिए । बरामद गरिएको ३ हजार लिटर डिजलको मूल्य करिब ४ लाख ५९ हजार रुपैयाँ छ । १२ हजार लिटरको बिल काटेर दासले १५ हजार लिटर डिजल उपलब्ध गराइदिएका थिए । बिक्री भएभन्दा बढी डिजल ओसारपसार गर्ने ट्यांकर जमरकट्टेलको हो ।

तपाईको प्रतिक्रिया