फेवामा बोटिङ, पुम्दीकोटबाट साइट सिन

समाधान संवाददाता २०८० कार्तिक १४ गते १२:०४

लेखनाथ ।
सबैलाई लागेको थियो संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको यो पहिलो पोखरा भ्रमण हो । तर त्यो सत्य थिएन । साढे चार दशकअघि उनी पोखरा आएका थिए । त्यस बेला विद्यार्थीका रुपमा घुम्न आएका थिए ।


सोमबार दिउँसो दोस्रो पोखरा ओर्लिएपछि उनलाई पोखरेली भव्य स्वागत गरे । २ बजे फिस्टेल लज पुगेपछि उनका औपचारिक कार्यक्रम तय थिएनन् । महासचिव गुटेरेसकै इच्छामा नयाँ कार्यक्रम तय भए । उनी केही समय आराम गरेपछि पोखरा २२ पुम्दीभुम्दी पुगे । गुटेरेसले सोमबार दिउँसो पुम्दीकोटबाट पोखरा उपत्यका, हिमाल र फेवाताल नियाले ।


पोखरा महानगरका प्रमुख धनराज आचार्यसँग महासचिव गुटेरेसले सन् १९७८ मा आफूले भ्रमण गर्दाको पोखराको सम्झना गरे । महानगर प्रमुख आचार्यसँग उनले पुम्दीकोटबाट देखिने हिमालहरुको उचाइबारे समेत जानकारी लिए ।

Advertisement


मेयर आचार्य भन्छन्, ‘महासचिवज्यूले सबै हिमालको उचाई, मङ्गलबार जाने अन्नपूर्ण बेस क्याम्पको अवस्थिति र दूरीबारे चासो राख्नुभयो । पुम्दीकोटमा दोहोर‍्याएरै उहाँले हिमालहरु अवलोकन गर्नुभयो ।’ पुरानो पोखराबारे उत्सुक हुँदै महासचिव गुटेरेसले टोनी हागनले खिचेको पोखराको पुरानो तस्बिरसमेत मेयर आचार्यको मोवाइलमै अवलोकन गरे ।

२ बजे फिस्टेल लज पुगेपछि उनका औपचारिक कार्यक्रम तय थिएनन् । महासचिव गुटेरेसकै इच्छामा नयाँ कार्यक्रम तय भए ।

Advertisement


पुम्दीकोटबाट फर्किएर सोमबार साँझ उनी फेरि फेवातालमा बोटिङमा गए । बोटिङ सकेर उहाँ फिस्टेल लजमै बसेका छन् । यसअघि पनि पोखरा आएका अतिविशिष्ट पाहुनाहरु बसेको फिस्टेल लजबाट फेवाताल र हिमालको सुन्दर दृष्य देखिन्छ ।
सोमबार दिउँसो पोखराको पुरानो विमानस्थलमा अवतरणपछि उनलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगर प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतले विमानस्थलमा स्वागत गरेका थिए । स्वागतमा ढाका टोपी पाएका उनले स्वागतमा लामवद्ध केहीसँग कुरासमेत गरे ।


विमानस्थलको भिइपी कक्षबाहिर पोखरा महानगरले सांस्कृतिक कार्यक्रमसहित उनको स्वागत गरेको थियो । महासचिव गुटेरेस मङ्गलबार बिहान अन्नपूर्ण आधार शिविर जाने कार्यक्रम छ । बिहान साढे छ आधार शिविरका लागि प्रस्थान गरी उनी ६ः ५० मा त्यहाँ पुग्नेछन् । त्यहाँ महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण सर्वसाधारणको जनजीवनमा परेका असरबारे सर्वसाधारणसँग समेत कुरा गर्ने तय छ ।


राष्ट्रसंघ महासचिवको भ्रमणको तयारीका लागि आइतबार नै अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी आधार शिविर पुगिसकेका छन् । अन्नपूर्ण आधार शिविर अन्नपूर्ण गाउँपालिका वडा नं. ११ मा पर्छ । त्यहाँको स्थानीय व्यवस्थापनको जिम्मा छोम्रोङ पर्यटन व्यवस्थापन समितिले लिएको छ ।


समितिका सचिव दिलीप गुरुङले महासचिवको स्वागतको भव्य तयारी भएको सुनाए । ‘जलवायु परिवर्तन र त्यसबाट परेका असरबारे हामी उहाँसँग कुरा राख्ने तयारीमा छौँ । अतिविशिष्ट पाहुनाको भ्रमणले यहाँ उत्साह छ,’ उनी भन्छन् ।
साढे ७ बजे आधार शिविरबाट गुटेरेस पोखरा विमानस्थल फर्किने छन् । विमानस्थलमा पोखराका पत्रकारहरुसँग कुरा गर्ने कार्यक्रम सकेर सवा ८ बजे उनी पोखरा विमानस्थलबाट लुम्बिनी प्रस्थान गर्ने छन् ।


सन् २०१७ मा संयुक्त राष्ट्र संघको महासचिव भएपछि उनी पहिलो पटक नेपालको भ्रमणमा आउनुभएको हो । पोखरा महानगरका प्रमुख धनराज आचार्यले यो भ्रमणले पोखरा र समग्र गण्डकी प्रदेशमै उत्साह छाएको जनाए । ‘पोखराको पर्यटन प्रवद्र्धनसहित यसको अन्तर्राष्ट्रिय बजारीकरणमा पनि भ्रमणले ठूलो योगदान पुग्छ,’ उनी भन्छन् ।


महासचिव एन्टोनियो गुटेरेसको स्वागत र सुरक्षाका लागि पोखरामा विषेश तयारी गरिएको छ । विमानस्थलदेखि फिस्टेल गेटसम्मको सडक सिंगारिएको छ । अन्नपूर्ण आधार शिविरमा शुक्रबार नेपाली सेनाको टोली पुगिसकेको छ । पहिला नै एक हेलिप्याड रहेकोमा बेसक्याम्पमा उडानलाई सहज बनाउन थप २ हेलिप्याड निर्माण गरिएको छ ।


अन्नपूर्ण गाउँपालिकाले स्थानीय गुरुङ संस्कृति अनुसार महासचिव गुटेरेसलाई स्वागत गर्न लागेको अध्यक्ष केसीले बताए ।

तपाईको प्रतिक्रिया