सबै जिल्ला कमिटी अधिवेशन माघभित्र

समाधान संवाददाता २०८० कार्तिक १४ गते १२:०८

काठमाडौं ।
नेकपा (एमाले)ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको संगठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको एमाले संगठन विभागका सचिव माधवप्रसाद ढुंगेलले जानकारी दिए ।

Advertisement


एमालेले भर्खरैमात्रै सात प्रदेश कमिटीको अधिवेशन गरेको छ । पार्टीले सबै जिल्ला र पालिका तहलाई माघसम्म सम्पन्न गर्ने गरी कार्ययोजना बनाउनसमेत निर्देशन दिएको उनले बताए । पार्टीका जनसंगठनको प्रदेश तथा जिल्ला तहका अधिवेशन आगामी मंसिर र वडा कमिटीको अधिवेशन चैत मसान्तभित्र आयोजना गर्ने निर्णय गरेको उनले सुनाए ।


पार्टीले वडा कमिटीको अधिवेशनसँगै पुनः फागुन र चैतमा पार्टी सदस्यता नवीकरण अभियान सञ्चालन गर्ने भएको छ । गत साउनमा गरिएको पार्टी सदस्यता अभियान र नवीकरणमा करिब ५ लाख ५० हजार पार्टी सदस्यता पुगेका छन् । केन्द्रीय संगठन विभागबाट प्रमाणीकरण गरिएको नवीकृत सदस्यहरूको सूचीमा रहेका पार्टी सदस्यले मात्र स्थानीय पार्टी अधिवेशनको प्रक्रियामा सहभागी हुन पाउने छन् ।


साउनदेखि रोकिएको सदस्यता स्थानान्तरण कार्यलाई पनि खुला गर्ने निर्णय गरेको विभागका सचिव ढुंगेलले जानकारी दिए । सदस्यता स्थानान्तरण गर्न चाहने सदस्यले सम्बन्धित जिल्लाको अधिवेशनको मिति नतोकिँदासम्म आफ्नो सदस्यता स्थानान्तरण गर्न पाउने छन् । पार्टीले विभिन्न कारणले कारबाहीमा परेकालाई लिखितरुपमा आत्मालोचना गरेको अवस्थामा पार्टी काममा फर्काउने समेत निर्णय गरेको उनले जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया