चोरी नियन्त्रण गर्न सचेतना

समाधान संवाददाता २०८० कार्तिक १७ गते १५:०९

पोखरा ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पुथ्वीचोक हेमजाले दसैं, तिहार लगायतका चाड पर्वको सन्दर्भमा हुन सक्ने चोरी, डकैती तथा लुटपाटका घटनाबाट स्थानीय समुदायलाई सुरक्षित तथा सजक बनाउन अभियान चलाएका छन् ।


सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पुथ्वीचोक हेमजाले चाड, पर्वका बेलामा हुन सक्ने चोरी डकैतीका घटनाबाट सुरक्षित रहन सन्देश प्रवाह गर्न सचेतनामूलक घरदैदलो कार्यक्रम गरेको सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष कमलबहादुर श्रेष्ठले जानकारी दिए ।


केन्द्रले पोखरा महानगरपालिका वडा नम्बर १५ को चोरसाँघु जनशक्ति टोल, अल्कापुर, नागबेली, मितेरी पुल लगायतका पर्चा पम्लेटसहित घरदैलो गरेको छ । पोखरा १५ का वडा सदस्य बलराम पौडेलले सभ्य, समुन्नत समाज निर्माण तथा शान्ति सुरक्षा कायम गर्न सेवा केन्द्रसँग सहकार्य गरेको बताए ।

Advertisement


कार्यक्रम संयोजक सेवा केन्द्रका सहयोग उपसमितिका सदस्य शान्ति पन्त हमालले विकृति, विसंगति न्यूनीकरणका लागि नियमित कार्यक्रम गरेको जानकारी दिइन् । सेवा केन्द्रले डेंगीको प्रकोप नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमका अलावा चाड, पर्वमा हुन सक्ने चोरीका घटना नियन्त्रणका लागि घरदैलो कार्यक्रम गरेको अध्यक्ष श्रेष्ठले बताए ।


समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र हेमजाले हेमजाको हनुमानचोक गन्धर्वटोल, दलित बस्ती लगायतका क्षेत्रमा चोरी नियन्त्रणसम्बन्धी पर्चा, पम्लेटसहित घरदैलो कार्यक्रम गरेको संस्थाका उपाध्यक्ष देवीप्रसाद अधिकारीले जानकारी दिए । सेवा केन्द्रका प्रहरी हवल्दार नरेन्द्रसिंह ठकुरीले सुरक्षाको आधारभूत तत्व होसियारी भएको बताए ।

Advertisement


चोरी हुनबाट जोगिन घरभित्र रहँदा होस् या बाहिर जाँदा घरको मुल ढोका राम्रोसँग बन्द गर्नुपर्ने उल्लेख गर्दै उनले आवश्यक कामले घरका सबै सदस्य बाहिर जानु परेमा आफ्नो विश्वासिलो छिमेकी तथा नजिकको प्रहरीलाई जानकारी गराउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया