दुर्गमको दुःखमा भूकम्पको धक्का

पोखरा ।
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति भएको छ । शनिबार साँझसम्मको विवरण अनुसार हालसम्म १ सय ५७ जनाको मृत्यु भएको पुष्टि भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी करिब २ सय घाइते छन् । गम्भीर घाइतेको उपचार भइरहेको छ भने राहत र उद्धार नै जारी हुँदा मृतकको संख्या थपिन सक्छ ।
सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज तथा अन्य ठाउँमा लगिएको जनाए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बिहानै प्रभावित क्षेत्रमा पुगेर उद्धारको पहलमा जुटेका थिए । उनी चिकित्सक टोली र राहतसामग्रीसहित प्रभावित क्षेत्रमा पुगेका हुन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि १ हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि ५ हेलिकप्टर तथा जहाजको प्रयोग गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार ३३ घाइतेको जिल्ला अस्पताल जाजरकोट र रुकुम पश्चिमबाट हेलिकप्टरमा उद्धार गरी उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
शनिबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले जाजरकोट भूकम्प गत महिना बझाङमा गएको भूकम्पको परकम्प नभएको जानकारी दिएका छन् । यो भूकम्पपछि डेढ सयभन्दा बढी परकम्पहरु गएका छन् ।
गण्डकी प्रदेश र पोखरा महानगरको साथ
गण्डकी सरकारले भूकम्पबाट प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्रीसहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोली पठाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिबार अपिल जारी गरी प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने उद्देश्यले चिकित्सकसहितको टोली त्यसतर्फ पठाइएको जनाएका छन् ।
सरकारले प्रदेश सरकार मातहतको सङ्क्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा विकास गौचनको नेतृत्वमा मेडिकल, हाडजोर्नी र एनेस्थिेसियाको विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी का साथै उपचार सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा पठाएको हो । स्थलमार्ग हुँदै जाने टोली आइतबार बिहान रुकुम पुगी भूकम्पबाट घाइतेको उपचारमा खटिनेछ ।
यता, पोखरा महानगरपालिकाको टिम वडा अध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरीसहित राहत तथा उद्धारका सामग्री लिएर प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । २ हलुवा सवारी र १ ट्रकसहित १७ जनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
टोली आवश्यकता अनुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिनेछ । टोलीले राहत सामग्रीमा लत्ताकपडा, त्रिपाल, ब्याङ्केट, औषधी एवं उपचारका आवश्यक सामाग्री लगेको छ ।
पहिलो चरणमा महानगरका नगरप्रमुख, उपप्रमुख लगायत अध्यक्ष तथा कार्यपालिका सदस्य हरूको १ महिनाको पारिश्रमिकबाट शोघ भर्ना हुने गरी १३ लाख १५ हजार र अन्य जनप्रतिनिधि एवं कर्मचारीको स्वछिक सहयोग र नपुग रकम महानगरपालिकाको विपद कोष बाट खर्च बेहोरिनेछ । महानगरले ५० लाख बराबरको राहत सहयोग गर्ने जनाएको छ ।








एमाले अध्यक्षमा ओली र महासचिवमा शंकर पोखरेल विजयी
८३ वर्षमा ‘धान्द्रुके बाजे’ बने चन्द्रबहादुर, पाए नागरिकता र भत्ता
अन्नपूर्ण बेसक्याम्पमा सञ्चार विच्छेदको सास्ती : मन्त्री खरेलद्वारा तत्काल टावर राख्ने प्रतिबद्धता
सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया