‘कोशी विवाद सभापति र वरिष्ठ नेताको जिम्मामा’

समाधान संवाददाता २०८० कार्तिक १९ गते १०:३५

पोखरा ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका एक/एक मन्त्री सरकारमा समावेश गरेसँगै कोशी प्रदेशमा केदार कार्की नेतृत्वको सरकार पुनः एकप टक धर्मराएको छ । माओवादी र एकीकृत समाजवादी सरकारमा सहभागी भएसँगै एमाले सरकार छोड्ने तयारी गरेको छ ।

Advertisement


एमाले सरकारबाट बाहिरिएको खण्डमा मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । यथास्थितिमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने सम्भावना कम देखिन्छ । कार्कीले विश्वासको मत लिन नसकेमा ६ महिनाभित्र कोशीमा निर्वाचन गर्नुपर्ने हुन्छ ।


कोशी प्रदेशको विषयमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जिम्मा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाले लिनुपर्ने बताएका छन् । पोखरामा शनिबार पत्रकारसम्म कुरा गर्दै महामन्त्री थापाले कोशी प्रदेशमा सभापति र वरिष्ठ नेताले समस्या ल्याएको भन्दै सबै हल उनीहरुले नै गर्नुपर्ने बताएका हुन् ।


‘कोशी प्रदेशको जिम्मा पार्टीको सभापति र वरिष्ठ नेताले लिनुपर्छ । यसको सबै हलचाहिँ के गर्ने भन्ने कुरा उहाँहरु गर्नुहुन्छ । मैले सभापतिलाई घरै भनेर आएको हुँ –तपाईंले गरेको फोहोर हो । तपाईंले सोहोर्नुपर्छ । फोहोर गर्ने बेलामा एक्लै गर्ने सोहोर्ने बेला हामीलाई नबोलाउनुहोला,’ उनले भने, ‘मैले सोहोर्न सकिनँ भन्नुभयो भने सार्न हामी जान्छौं ।’


थापाले राजधानीदेखि गाउँ गाउँसम्मका काङ्ग्रेस नेता, कार्यकर्ता निराश देखिएको, सुनिएको उल्लेख गरे । तीन तहकै सरकारमा हुँदा पनि निराश हुनु उदेकलाग्दो भएको उनको टिप्पणी छ ।

Advertisement


‘सबैतिर हामी सरकारमा छौं । केही समयपछि संघ सरकारको नेतृत्व पनि हाम्रै हुन्छ । सबैभन्दा दुःखी हामी नै छौँ किन ? यसको कारण पहिला घरभित्र खोज्दै छौ, अब हुने महासचिव बैठकमा,’ महामन्त्री थापाले भने । ८ लाख ६६ हजार कार्यकर्ता भएको देशको सबैभदा पुरानो र सबैभन्दा ठूलो पार्टी कांग्रेसलाई युगसापेक्ष बनाउन केही वैधानिक प्रावधान नै बदल्नुपर्नेमा उनको जोड छ ।


निर्वाचनामा टिकट बाड्ने प्रक्रिया, पार्टी सदस्यता वितरण प्रक्रिया, आर्थिक पारदर्शिता र निर्णय प्रक्रिया बदल्नुपर्ने उनी बताउँछन् । नेपालका दलहरुमा गठबन्धन सरकार सञ्चाल गर्ने संस्कार नै बस्न बाँकी रहेको जनाउँदै उनले चुनावअघिको गठबन्धन कांग्रेसका लागि घातक बनेको दाबी गरे । ‘म जहाँ जहाँ पुगेँ, सबैतिर चुनावअघि गठबन्धन गर्नुहुन्न भन्ने आएको छ । निर्वाचनपछि सरकार बनाउन गठबन्धन सामान्य रहे पनि निर्वाचनकै बेला गठबन्धन गर्नै हुुँदैन,’ थापाले भने ।


कोरोनका कहरका बेला प्रदेश सरकारहरु चुकेको टिप्पणी गर्दै उनले शुक्रबार राति आएको भूकम्पमा जनतालाई सरकारको आभास दिलाउन आग्रह गरे । अहिलेको भूकम्पले भविष्यमा हुन सक्ने क्षतिको संकेत गरेको जनाउँदै उहाँले यसलाई पाठको रुपमा लिएर पुनर्निर्माण र योजना बनाउनुपर्नेमा जोड दिए ।


शुक्रबार चार दिने पदयात्राबाट फर्किएका थापाले अबका वर्ष मर्दी पदयात्रा र एबिसी जाने योजना सुनाए । ट्रेकिङ रुट र सडक सँगसँगै हुँदा पदयात्रा पर्यटनमा समस्या आएको सुनाउँदै उनले कानुनी रुपमै यसलाई रोक्नुपर्ने विचार राखे ।

तपाईको प्रतिक्रिया