रुपान्तरण अभियानले पार्टी गतिशीलः गुरुङ

समाधान संवाददाता २०८० कार्तिक १९ गते ११:२६

पोखरा ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पार्टीले सञ्चालन गरिरहेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानले पार्टीलाई गतिशील तुल्याउने दाबी गरेका छन् । पार्टीको गण्डकी प्रदेश कार्यालयको विस्तारित बैठकलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै महासचिव गुरुङले ३ महिनाको अभियान प्रभावकारी भएको र संगठन विस्तारमा समेत सहयोगी भएको जनाए ।


उनले पार्टी गत भदौ १६ गतेदेखि सुरु भएको अभियान पदाधिकारी बैठकले १ महिना थप गरी पुस १५ गतेसम्म पुर्‍याएको जानकारी दिए । महासचिव गुरुङले भने, ‘अभियानले पार्टीलाई गतिशील बनाएको छ । पार्टीका सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अभियानमा जोडिनुभएको छ । यसले पार्टीभित्र र बाहिरसमेत सकारात्मक सन्देश प्रवाह भएको छ ।’


उनले पार्टीको नेतृत्वमा रहेको सरकारले धेरै जनपक्षीय काम गरिरहेकाले सरकारले गरेका राम्रा कामलाई जनतामा प्रचार गर्न नेता कार्यकर्तालाई आग्रह गरे । पार्टीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले गणतन्त्र, संघीयता र अहिलेको प्रणालीको रक्षा गर्न माओवादी केन्द्र शक्तिशाली बन्नुपर्नेमा जोड दिए । देशमा प्राप्त उपलब्धिहरूको रक्षा गर्नु अहिलेको आवश्यकता रहेकाले पछिल्लो समय देखिएका व्यवस्था विरोधी गतिविधिविरुद्ध अभियानका क्रममा जनतालाई समेत प्रशिक्षित गर्न उनले आग्रह गरे ।

Advertisement


बैठकमा पार्टीका गण्डकी प्रदेश समितिका अध्यक्ष गायत्री गुरुङले प्रदेशका ७ सय ५९ वटै वडामा सञ्चालन भइरहेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियानको बारेमा जानकारी गराइन् ।

Advertisement

तपाईको प्रतिक्रिया