पोखरा–पूर्वी नेपाल हवाइ सेवा चलाउन माग

समाधान संवाददाता २०८० कार्तिक १९ गते १८:२४

विराटनगर ।
पोखराबाट पूर्वी नेपालका विभिन्न सहरसम्म विगतमा हुँदै आएको सिधा हवाई सेवा पुनः थाल्न व्यवसायी एकमत देखिएका छन् । १६ कात्तिकबाट सुरु भएको जाउँ है पोखरा अभियानको तेस्रो दिन शनिबार पूर्वी नेपालको औद्योगिक सहर विराटनगरमा आयोजित पत्रकार सम्मेलन एबं अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरु आन्तरिक पर्यटन प्रवद्र्धनबारे चर्चा गर्दै थिए ।

Advertisement


२०७६ को माघ महिनामा विराटनगर र गएको फागुन महिनामा झापाको भद्रपुरबाट पोखरा जोड्ने गरी सुरु गरिएका सिधा उडान सेवा स्थगित छन् । पर्यटनका लागि पहुँच (कनेक्टिभिटी) महत्वपूर्ण हुने कारण सिधा हवाई सेवा पुनः सुचारु गर्न जरुरी देखिएको अभियानको आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । पूर्वी नेपालका विभिन्न सहरबाट पोखरा सम्म सिधा उडान सेवा र स्तरीय पर्यटक बस सेवा संचालन गर्न पुनः पहल अगाडि बढाउनुपर्नेमा अध्यक्ष सुवेदीले जोड दिए ।


होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले आवश्यक तयारी गरी पूर्वबाट पोखरासम्मको सिधा उडान सेवा सुचारु गरिनुपर्ने सुझाव राखे । सेवा दिगो हुन त्यसको निरन्तरता ठूलो कुरा भएको उनले बताए । होटल संघ नेपाल कोशी प्रदेशका अध्यक्ष राजन श्रेष्ठले पोखरासम्म सिधा हवाई सेवा सञ्चालन हुन नसक्नुका कमजोरीको समीक्षा गरी सेवा पुनः सुचारु गर्नुअघि सिमावर्ती भारतीय सहरमा पनि सेवाबारे प्रचारप्रसार गरिनुपर्ने सुझाव दिए ।


पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले समृद्धिको आधार पर्यटन भएको बताउँदै पर्यटनका लागि हवाई र स्तरीय बस सेवाको आबश्यकता औंल्याए । पूर्वी नेपालबाट आन्तरिक र भारतीय पर्यटक पोखरा पु¥याउन कनेक्टिभिटी महत्वपूर्ण पक्ष भएको उनले बताए ।


नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण साहले हवाई सेवा सञ्चालनलाई दिगो बनाउन पालिकाहरुले प्रति यात्रु सब्सिडिज रकम उपलब्ध गराउनुपर्ने उल्लेख गरे । पूर्वका व्यवसायी भविशकुमार श्रेष्ठले पोखराबाट पूर्वी नेपालका सहरसम्म सिधा स्तरीय बस सेवा सञ्चालनका लागि पोखराका व्यवसायीसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए ।

Advertisement


आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्दै होटल संघ पोखरा नेपालले कात्तिक २० गतेसम्म सञ्चालन गर्ने गरी सुरु गरेको ५ दिने अभियान अन्तर्गत जनकपुर, बिराटनगर, बिर्तामोड, धनकुटा र चितवन लगायतका स्थल समेटिएका छन् । पोखरा महानगरपालिकाले यो अभियानलाई प्रवद्र्धन गरेको छ ।


२ दशकअघि सुरु गरिएको जाउँ है पोखरा अभियानकै कारण हाल पोखरा घुम्ने आन्तरिक पर्यटकको दर कूल पर्यटकको ३५ प्रतिशत पुगेको संघका अध्यक्ष सुवेदीले जानकारी दिए ।


कार्यक्रम सञ्चालन होटल संघ पोखरा नेपालका महासचिव राजेन्द्र ढकालले गरेका थिए । यसअघि शुक्रबार इटहरीमा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघले आयोजना गरेको कार्यक्रममा राज्यले होटल क्षेत्रलाई हेर्नुपर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने माग गर्दै पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता र सुविधा दिनुपर्ने माग व्यवसायीले गरे ।

तपाईको प्रतिक्रिया