फलेबास प्रवद्र्धनमा सहकार्य गर्छाैंः तिवारी

समाधान संवाददाता २०८० कार्तिक २० गते १६:३५

पोखरा ।
फलेबास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले फलेबास नगरपालिकालाई रमणीय फलेबास बनाउन कवि, लेखकसँग आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय संस्कृति समितिको आयोजना र कालिभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठान पर्वतको संयोजनमा भएको पर्वत, फलेबास पर्यटकीय संस्कृति एवं काव्य यात्रालाई सम्बोधन गर्दै तिवारीले नेपालमा प्रकृतिले अत्यन्त धेरै सुन्दर चिज दिएको र तिनको संरक्षण तथा उपयोग गर्न कवि लेखकलाई आग्रह गरेका हुन् ।

Advertisement


‘फलेबास फलफूल उत्पादन हुने क्षेत्र हो । यहाँको हावामा फलफूलको बासना मिसिएको छ’, उनले भने, ‘सोही कारणले फलेबास नाम रहन गएको हो । तपाईंका कलमबाट सिर्जना भएका कृतिले देशलाई परिवर्तन गर्न सक्छन् । सम्बन्धित निकायलाई गोरेटो देखाउन सक्छन् । तपाईंका सिर्जनालाई प्रकाशन गर्न नगरपालिकाको सदैव सहयोग गर्नेछ ।’


शनिबार फलेबासको देविस्थानमा भएको काव्ययात्रामा कार्यक्रमका सूत्रधार महेश्वर पन्तको कवितासंग्रह उडेका पैताला विमोचन गरिएको छ । कवि पन्तका बुवा गोविन्दप्रसाद पन्त, आमा उर्मिला, फलेबास नगरपालिकाका मेयर तिवारी, अनेसास नेपाल अध्यक्ष राजेन्द्र केसीलगायतले कृति विमोचन गरेका हुन् ।


कृतिमाथि कवि सुरेन्द्र अस्तफलले समीक्षात्मक टिप्पणी राखे । अस्तफलले पन्तका कवितामा माटोको माया र प्रवासको पसिना सबै मिसिएको औंल्याए । काव्ययात्रामा विभिन्न स्रस्टाले रचना वाचन पनि गरेका थिए । काठमाडौं, चितवन र पोखरादेखि शुक्रबार साँझ फलेबास आएका स्रस्टाले शनिबार बिहान कालीगण्डकी किनार, फलेबासका विभिन्न रमणीय र धार्मिक क्षेत्र अवलोकन गरेर स्थलगत रचना सिर्जना गरेका थिए । कार्यक्रमलाई निशा केसीले सहजीकरण गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया