नेपाल संवतमा भिन्तुना र्‍याली गरिने

समाधान संवाददाता २०८० कार्तिक २२ गते १२:३१

पोखरा ।
नेवा खलः कास्कीले मौलिक तथा राष्ट्रिय संवत नेपाल संवत ११४४ को अवसरमा भिन्तुना र्‍याली आयोजना गर्ने भएको छ । संस्थाले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जनाएको हो ।


म्हपूजाको अवसरमा कात्तिक २८ गते पोखराका विभिन्न स्थलमा र्‍याली आयोजना गरिने नेवा खलः कास्की अध्यक्ष अशोक पालिखेले जानकारी दिए । २८ गते बिहान साढे ७ बजे नारायणस्थानमा रहेको राष्ट्रिय विभूति शंखधर शाख्वाको प्रतिमामा माल्यार्पण गरिनेछ । त्यसपछि ८ बजे कास्कीमा रहेका विभिन्न नेवा खलः, नेवा ल्याम्ह पुचः, नेवा कचाँ, नेवा मिसा पुचः लगायत विभिन्न जातीय समुदायको सहभागीतामा पृथ्वीचोकबाट भिन्तुनार्‍याली निकालिनेछ ।


उक्त ¥याली नयाँबजार महेन्द्रपुल, तेर्सापट्टी हुँदै नेवा छेँकै भवनमा पुगेपछि समापन गरिनेछ । र्‍यालीमा सहभागी हुने समूहरुलाई जातीय सांस्कृतिक पोशाकसहित उपस्थित हुन अध्यक्ष पालिखेले आग्रह गरेका छन् ।

Advertisement


पोखरा र आसपासमा रहेका नेवारी समुदायको झाँकी, बाजा तथा भेषभूषाको प्रस्तुति र प्रचारप्रसार गर्ने उद्देश्यले र्‍याली आयोजना गर्न लागिएको नेवा पत्रकार पुचः कास्की अध्यक्ष अनिशा श्रेष्ठ बताउँछिन् । र्‍यालीमा प्रथम हुने समूहलाई २५ हजार, द्वितीय हुनेलाई ७ हजार र तृतीय तथा सान्त्वना हुने समूहलाई नगद ५/५ हजार पुरस्कारको व्यवस्था गरेको आयोजकले जनाएको छ ।


नेपाल संवतलाई राष्ट्रिय सम्वतको रुपमा प्रचार गर्ने, स्थानीय कला संस्कृतिको प्रचार प्रसार गर्ने तथा आपसी भाइचाराको विकास गरी आत्मीयता कायम गर्ने उद्देश्यले र्‍याली निकाल्न लागिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया