सम्पादकीय: झोलुंगे पुल

नेपाल पहाडहरु धेरै भएको देश हो । नदीनाला र खोलानाला पनि हजारौंको संख्यामा छन् । पहाडका कुनाकन्दरा र खोलानाला तर्न देशका कुनाकुनामा झोलुंगे पुल बनेका छन् । मुलुकमा झोलुंगे पुलको संख्या १० हजारभन्दा धेरै छ । त्यसो त अचेल थुप्रै झोलुंगे पुल आधुनिक मोटरेबल पुलले विस्थापित पनि गरेका छन् । तर कैयौं ठाउँमा झोलुंगे पुलको विकल्प हैन, खाँचो नै छ । तार वा लठ्ठोमा झुन्डिएर गरिने तुइनको यात्रा जोखिमपूर्ण छ । तुइनकै भरमा नदी र खोला तर्दा धेरैले ज्यान गुमाएका छन् । सरकारले तुइन विस्थापनको नीति पनि लिएको छ । त्यो भनेको तुइनको सट्टा झोलुंगे पुल नै हो । नेपालको पनि बागलुङबाट आधुनिक खालका झोलुंगे पुल निर्माणको अभियान थालिएको थियो । यसै पनि यो जिल्ला झोलुंगे पुलको जिल्ला भनेर पनि चिनिन्छ ।
परम्परागत रुपमा राणाकालमै नेपालमा झोलुंगे पुलहरु बन्न थालेका थिए । त्यति बेला सिमेन्ट थिएन । चुन र काठपात अनि माटोकै भरमा पुलहरु बनाइन्थ्यो । परम्परागत खानीबाट निकालिएको फलामका साङ्ला बनाएर पुल बनाउने तरिका नेपालकै प्राविधिकहरुले पनि जानेका थिए । स्वदेशी सिप र प्रविधिबाट बनेका पुराना झोलुंगे पुलले अझै पनि काम गरेका थुप्रै दृष्टान्त छन् । त्यसो त स्विट्जरल्यान्डको विकास सहयोगमा पछि नेपालमा आधुनिक तवरका झोलुंगे पुलहरु बन्न थालेका हुन् । नेपालले यतिसम्म विकास गर्यो कि पछि त थुप्रै अरु देशमा झोलुंगे पुलका लागि नेपालका प्राविधिकले सहयोग गरे । अरु देशहरुले यो प्रविधिका लागि नेपाली प्राविधिकहरुलाई पत्याएका छन् । पुल निर्माणका लागि निम्तो दिने गरेका छन् ।
जति नै यातायातका नयाँ नयाँ साधनको विकास भए पनि अझैसम्म गाउँघरमा झोलुंगे पुलको औचित्य समाप्त भएको छैन । सबै ठाउँमा मोटरेबल पुल निर्माण सम्भव छैन । पैदल यात्राका लागि पनि अनेक बाटाहरु छन् । त्यहाँ झोलुंगे पुलकै खाँचो हुन्छ । नेपालले विकास गरेको यो प्रगतिमा साँच्चीकै गर्व गर्नुपर्छ । यसको प्रविधि विदेश निर्यातका लागि सरकारी तवरबाटै पनि पहल भए उत्तम हुन्छ । खोलानालामा अनाहकमा बगेर ज्यान जाने स्थितिको अन्त्य गर्न प्रविधिलाई विश्वमाझ पुर्याउन कुनै कसर बाँकी राखिनु हुँदैन ।
तपाईको प्रतिक्रिया