तिहार पर्वमा भित्रिएको बेथिति

दसैं पछिको ठूलो पर्वको रुपमा तिहारलाई मानिन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि द्वितीयासम्म मनाइने यो पर्व दिदी बहिनीले दाजुभाइ पुज्ने, स्नेह र शुभेच्छा साटासाट गर्ने चलन छ । यमराज आफ्नी बहिनी यमुनाकहाँ गई बसेको र सो अवसरमा यमुनाले उनको सेवा र पूजा गरेको भन्ने पौराणिक कथन छ । यमराज पाँच दिन यमुनाकोमा बसेको हुनाले तिहारलाई यमपञ्चक पनि भन्ने गरिन्छ । द्वितीयाका दिन दिदी बहिनीहरुले सुख समृद्धि र दीर्घायुका लागि दाजुभाइहरूको निधारमा सप्तरंगी टीका लगाइदिने, फूलको माला पहिराइदिने, मिष्ठान्न भोजन खुवाउने र दुखसुख साटासाट गर्ने चलन छ ।
तिहारकै अवसरमा मनोरञ्जनका लागि छरछिमेक, साथीभाइहरुसँग सामूहिकरुपमा घरघरमा गएर देउसी भैलो खेल्ने र प्रसाद, दक्षिणा ग्रहण गर्ने गरिन्छ । समयको परिवर्तनसँगै तिहार तथा अन्य चाडपर्व मनाउने शैलीमा पनि परिवर्तन भएको छ । युवावर्गमा चाडवाडको महत्व बढ्दै गएको, रीतिरिवाज संस्कारबारे बुझ्न उत्साहित भएको देख्न सकिन्छ । यसले समाजमा आपसी भाइचारा कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । चाडवाड मनाउने शैलीमा केही सकारात्मक पक्षले स्थान पाएता पनि धेरै नकारात्मक पक्षले स्थान ओगटेको छ ।
हाम्रो चाडपर्व संस्कृतिमा पश्चिमेली मुलकका भद्दा शैलीहरु भित्रिएका छन् । छिमेकी मुलुक भारतका चालचलनमा केही समानता देखिएता पनि अनावश्यक रुपमा भारतीय संस्कृतिको अबलम्वन गर्ने, देखासिकी गर्ने प्रवृत्ति बढ्दो छ । विशेषत हाम्रा चाडपर्वमा खर्चालु संस्कृति भित्रिएको छ । कमजोर आय भएका तथा गरिब वर्गलाई यसको प्रत्यक्ष असर पारेको छ । हुने खाने धनीवर्गलाई यी चाडपर्वहरु हर्सो उल्लास बन्छ भने नहुने वर्गलाई ऋणको बोझ थपिने गरेको छ । ठूलावडाले जसो गरे कमजोरवर्गले पनि नसकि नसकि भए पनि सोही विधि अपनाउन खोज्दा हाम्रा संस्कृतिहरु बढी खर्चिलो र मनाउन धौधौ हुन पुगेका छन् । तडकभडक बनाउने प्रयत्न गर्दा समाजमा विभेद र असामञ्जस्यता बढ्न थालेको छ ।
तिहार पर्वलाई मौलिक रुपमा मनाउनुको सट्टा यसको अस्तित्व मेटाउन तर्फ उद्दत भएको आभाष गराउछ । मिष्ठान्न भोजनको नाममा विदेशी अखाद्य वस्तु मिसावटका मिठाईहरु खाने चलन बढ्दो छ । यस्ता मिठाई खानाले मधुमेह, मुटु रोग, उच्च रक्तचाप जस्ता दिर्घकालिन रोग लाग्न सक्ने खतरा बढ्ने देखिन्छ । नेपाली परम्परा अनृुसारको सेलरोटी, अचार जस्ता खाद्य चिजबिजको चलन बिर्सिँदै गइएको छ । हर्षे उललास गर्न सामुहिक रुपमा मदिरा सेवन गर्ने दुश्साहस बढेको देख्न सकिन्छ । यसले गर्दा झै झगडा उत्पन्न गराउने, समाजमा अशान्ति र डर भय सृजना गरिरहेको छ । सयपत्री, मखमली सुपारी फुल घरमा फुलाउन छाडेर भारतबाट आयातित फूलहरु महँगो मूल्यमा किन्ने बानीले स्थान पाएको छ ।
भारतीय संस्कृतिको अबलम्वन गर्ने, देखासिकी गर्ने प्रवृत्ति बढ्दो छ । विशेषत हाम्रा चाडपर्वमा खर्चालु संस्कृति भित्रिएको छ
प्राकृतिक फूलमालाको सट्टा कुत्रिम फूलमालाको प्रयोग गर्न थालिएको छ । सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर, टिकटकमा देखाउन महँगा बस्त्र, गरगहना, खाद्यवस्तुको प्रयोग बढ्दो छ । सामान्य कमाई वा आयआर्जन भएको परिवारलाई तिहार मान्न झन् कष्टकर बन्दै गएको छ । चाडपर्व मनाउनका लागी कतिपय युवाशक्ति विदेशिनु पर्ने, सार्वजनिक पदधारण गरेको व्यक्तिले पदिय दुरुपयोग गरी भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न हुने गरेको उदाहरणहरु हाम्रो नेपाली समाजमा प्रशस्त छन् । यस्ता कदमहरुको नियन्त्रण गर्न अति जरुरी छ । यस्ता विषयमा भने चाडपर्व मनाउने व्यक्ति मौन छौ तर जागरुक छैनौं । आफ्नो संस्कृति मासेर अर्काको संस्कृति अगाँल्न खोज्नु दुखद कदम हो । यसले हाम्रो सांस्कृतिक परम्पराको सौन्दर्य माथि कालो दाग लगाउने गर्छ ।
तिहारमा खेलिने देउसी भैलोमा आजभोली मौलिकता हराउदै गएको छ । मौलिक टुक्का, गीतको स्थानमा विदेशी गीतलाई स्थान दिन थालिएको छ । नेपाली बाध्य बादनहरु मादल, खैजरी मुजुराको सट्टा गितार, ड्रमसेट बजाउन खोजिएको छ । घरघरमा गई देउसी भैलो खेल्ने चलन हराउँदै गएको छ । सामूहीक रुपमा धेरै साथीभाई जम्मा हुने र चोकमा स्पीकर, माइक राखी नाचगान गरी दक्षिणा थाप्ने प्रयास गरिएको छ । विगतका केही नाँचगानहरु उत्तेजक, अश्लिलता प्रर्दशन गरेको समेत देखिएको थियो । देउसी भैलो खेल्नलाई एक दुई सवारी साधन रिजर्भ गरी हिँड्ने गरेको देखिएको छ । यसरी हिँड्दा केही स्थानमा सवारी दुर्घटना भई केहीको ज्यान गएको समाचार पनि सुनिएको थियो । स्पीकर माइकले समुदायमा ध्वनी प्रदुषण बढ्ने गरेको छ ।
लाउड स्पिकरले शोकमा परेको परिवार, बिरामी तथा परीक्षा दिँदै गरेका विद्यार्थीलाई ठूलो बाधा पर्ने गरेको छ । सरकारी निकायले देउसी भैलो खेल्ने निश्चित समय छुट्याए पनि त्यस नियमलाई बेवास्ता गरी रातभरी देउसीभैलो खेल्ने, अनावश्यक रुपमा होहल्ला गर्ने क्रियाकलापले पकड जमाएको छ । यही समयमा किशोरी, महिलामाथी यौनजन्य दुरव्यवहार बढ्ने गरेको छ । देउसीभैलो खेलेर दक्षिणा थाप्दा खुलेआम बढी रकम माग्ने नदिएमा गुनासो गर्ने प्रवृत्ति मौलाएको छ ।
सामाजिक संघ संस्थाले पनि यही तिहारको अवसरमा देउसीभैलो खेलेर रकम जम्मा गर्ने परिपाटी बसेको छ । झन् समाजलाई मार्गदर्शन दिलाउन स्थापना भएका संघसस्था, राजनीतिक दल तथा विभिन्न समूहहरुले नै देउसीभैलोको नाममा रकम जम्मा गर्दा सिंगो समाजलाई नै अप्ठ्रयारो पर्न गएको छ । यसले देउसीभैलोमा धेरै पैसा असुल्लने मनशाय या मोलमोलाईलाई निस्तेज पार्न सकस हुने गरेको छ । देउसीभैलो मनोरञ्जनका लागि खेलिने खेल हो भन्ने कुरा सबै पक्षले बुझ्नु आवश्यक छ ।
चाडपर्वको समयमा शहरबाट गाउँ थातथलोतिर जाने हुनाले सहरमा शून्यता छाउने र सो मौकामा चोरी डकैती लुटपाट जस्ता घटनाहरु घट्न सक्छन् । लुकीछिपी पटका बेचबिखन गर्नाले कैयौं बालबालिका तथा अन्य व्यक्तिहरुको पटका पट्काउने क्रममा ज्यान गएको छ । यही समयमा बजारमा कालो बजारी, महँगी बढ्ने जस्ता दुष्प्रयासहरु हुन सक्छन् । त्यसप्रति राज्य सचेत र क्रियाशील हुनु जरुरी छ ।
चाडपर्वलाई सभ्य र मर्यादित बनाउन आम नागरिकमा नैतिक आचरण पालन गर्नु आवश्यक छ । नागरिक सचेतनाको अभिवृद्धि गर्दै चाडवाडको मूल्य मान्यतालाई जोगाउनु बढी बुद्धिमता हुन्छ । नागरिक जागरणबाट नै चाडपर्व, संस्कृतिका राम्रा पक्षलाई दिगो रुप दिनु पर्ने देखिन्छ । हाम्रा चाडपर्व कसरी व्यक्ति, समुदायको मन मस्तिष्कमा बस्न सक्छन् र लोकप्रिय बनाउन सकिन्छ भन्ने विषय बारे असल अभ्यास गर्नु जरुरी छ । तिहारमा भित्रिदै गरेको नराम्रा पक्षलाई निरुत्साहित गरी मौलिक संस्कृतिलाई बढवा र प्रोत्साहन गर्नु आवश्यक छ । चाडपर्व, जात्रा तथा साँसकृतिक चालचलन सबैले मनाउन सक्ने र समाजलाई स्वीकार्य हुनुपर्दछ ।
समाजलाई नै असहज बनाउने गरी चाडपर्व मनाउँदा सामूहिक एकतामा ठेस पुग्दछ । हाम्रा चाडपर्वले समाजलाई सकारात्मक सन्देश दिनु आवश्यक छ । तिहार पर्व मनाउने नाममा विभिन्न होहल्ला, उच्छृङ्खल गतिविधि गर्ने, तडकभडक सहितका ज्यादै खर्चिला कार्यक्रम आयोजना गर्ने, विकृति फैलाउने कृयाकलापहरुलाई रोक्न नेपाल सरकारले विशेष भूमिका खेल्नुपर्छ ।
त्यसका लागि सामाजिक व्यवहार (सुधार) ऐन २०३३ र नियमावली २०३३ को व्यवस्था गरिएको छ । जसले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरु मनाउने सम्बन्धमा व्यवस्थित र नियमित गर्न आधार प्रदान गरेको छ । हाम्रा चाडपर्व देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने एक महत्वपूर्ण चिनारी हुन् । नेपालको संस्कृति अरु देशको भन्दा पृथक र भिन्न प्रकृतिका छन् । त्यसैले चाडपर्व मनाउने स्वरुप र शैलीहरु अनुशासित, मर्यादित र सामाजिक हुनु आवश्यक छ ।
तपाईको प्रतिक्रिया