मुस्ताङीका लागि खुल्यो कोरला

सुन्दरकुमार थकाली २०८० मंसिर १ गते १०:४८

जोमसोम ।
चीनको सिगात्से सहरबाट सबैभन्दा छोटो दूरीको नाका हो कोरला । यो सिगात्से सहरबाट ६ सय ३० किमीमा छ । जबकी सिगात्सेबाट केरुङ नाका करिब १ हजार २ सय किमी टाढा पर्छ ।


कोरलाबाट सिगात्से हुँदै ल्हासा करिब ९०० किमी टाढा छ । व्यापारिक कारोबारका हिसाबले मुस्ताङको कोरला सबैभन्दा सहज र नजिकको नाका हो । तर यो नाका हाललाई मुस्ताङीका लागि मात्र खुला भएको छ । परापूर्व कालमा यही नाका हुँदै तिब्बतबाट नूनदेखि सुनसम्म नेपाल भित्रिन्थ्यो । त्यस बेला नेपाली हप्तौं पैदल हिडेर भोट पुगेर नून ल्याउँथे ।


२०१७ मा तिब्बतमा भएको खम्बा विद्रोहपछि खम्पाहरु मुस्ताङ पसे । खम्पाहरुले मुस्ताङमा एकछत्र राज गरेका थिए । खम्पाहरुले त्यस बेला मुस्ताङमा बसेर चीन विरोधी गतिविधि गरेपछि नेपाली सेनाले उनीहरुलाई धपाएको थियो । २०३१ मा खम्पा हटेपछि मुस्ताङ नेपाल सरकारको नियन्त्रणमा आएको थियो ।

Advertisement


२०३१ पछि खुला भएको यो नाका पहिले नेपाल—चीनको संयुक्त चरन क्षेत्र थियो । सीमापारीबाट सीमावारी र सीमावारीबाट सीमापारी चौपाया लगिन्थ्यो । कोरला वारिपारि आलोपालो व्यापार मेला लाग्थ्यो । त्यही नाकाबाट सन् २००० मा तिब्बतीयन भिक्षु कर्मापा लामा भागेर भारत छिरेपछि चीनले कोरलामा तारबार लगाउन सुरु गरेको थियो ।

अब मुस्ताङका ५ वटै पालिकाका बासिन्दाले सीमा प्रस्थान पास लिएर त्यहाँ जान सक्ने भएका छन्

Advertisement


त्यसअघि कोरलामा कुनै बारबन्धन थिएन । बर्सेनि आलोपालो हुने व्यापार मेला पनि चीनले त्यसपछि आफ्नो भूमीमा मात्र सञ्चालन गर्न थाल्यो । अल्पकालीन मेला लाग्ने समयमा नागरिकताको आधारमा उपल्लो मुस्ताङीलाई चिनिया सुरक्षाकर्मीले तिब्बत छिर्न दिए भने नाकामा चीनले सिसी क्यामेरा राखेर निगरानी गर्न थाल्यो ।


त्यसअघि कोरला सुख्खा पठारसहितको घाँसे मैदान थियो । तर,अहिले चीनले कोरलाको लिग्चीमा ठूला सरकारी भवन बनाएको छ । यहाँ प्रशासनिक भवन, सुरक्षा भवन, सुख्खा बन्दरगाह र क्वारेन्टाइनसहितका व्यापारिक संरचना छन ।


लोभलाग्दो ४ लेनको सडक र आधुकिन भौतिक संरचना निर्माण भइसकेका छन् । मुस्ताङको कोरला हुँदै तिब्बतको मानसरोवर धार्मिक स्थल जानसमेत सबैभन्दा छोटो बाटो यही हो । तर, त्यहाँको ५ मिटरयता नेपाली भूमी भने सुनसान छ ।
नेपाली क्षेत्रमादलदले घाँसे मैदानबाहेक केही छैन । चीनले दशकअघि नै कोरलामा संरचना निर्माण गर्न थालेको हो । चिनिया सुरक्षाकर्मी बाह्रै महिना त्यहाँ तैनाथ छन् । चिनिया भूमिमा सडक, बिजुली, खानेपानी, इन्टरनेट र भौतिक संरचना निकै आकर्षक छन । चीनले सीमाआसपास ठूलै सहर र व्यापारिक केन्द्र बनाउन चाहेको देखिन्छ ।


‘कोरलामा चीनले जस्तै पूर्वाधार बनाउन नसके पनि हामी केही पूर्वाधार बनाउन सक्छौं नि । खै त सरकारले पहल गरेको ?,’ लोमान्थाङ—३ ठिंगरका स्थानीय कर्मा सम्टुक गुरुङ प्रश्न गर्छन् । उनी जस्तै नेपाल सीमा क्षेत्रमा बस्ने बासिन्दाको प्रश्न छ ।
‘नाका खुल्यो भन्ने मात्रै हो, हामीले कुनै संरचना बनाउन सकेका छैनौं, अहिले खुलेको नाका केवल सीमा क्षेत्रका बासिन्दाको आधारभूत आवश्यकता महसुस गरेर चीनले खोलिदिएको जस्तो मात्र लाग्छ,’ गुरुङ भन्छन् । नेपालतर्फ कोरलाको १५ किमी यता सुरक्षाकर्मी र भन्सार कार्यालय छन् ।


नाकामा भन्सार, सुरक्षा पोस्ट, बन्दरगाह र क्वारेन्टाइन पूर्वाधार बनाउन ५ वर्षअघि दशगजा क्षेत्रमा १ हजार रोपनी जग्गा भन्सारको नाममा आइसकेको छ । सरकारले पूर्वाधार निर्माणका लागि डिपिआरको काम अघि बढाए पनि त्यो ज्यादै सुस्त छ । तत्कालीन सरकारले उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार गर्न २०७४/०७५ देखि राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक आयोजनाअघि बढाएको छ । सरकारले कोरला नाका जोड्ने सडकमा झन्डै ७ अर्ब खर्च गरिसकेको छ ।


कोभिड तथा सुरक्षा संवेदनशीलताको कारण देखाउँदै चीनले एक पक्षीय रुपमा यो नाका बन्द गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा भएको सहमति र स्थानीय प्रशासन र जनप्रतिनिधिको निरन्तरको पहलमा नाका खुलेको हो । नाका खुला गर्न आयोजित समारोहमा नेपाल र चिनिया दुवै पक्षाका अधिकारीहरु सहभागी थिए ।


नाकामा गएर मालसामान किन्न, त्यहाँको माहोल हेर्न पाउँदा स्थानीय निकै उत्साहित देखिन्थे । यसअघि बसेको नेपाल चीनको बैठकले पूर्व घोषित उपल्लो मुस्ताङका दुई पालिकालाई मात्र सीमानाका प्रस्थान अनुमतिका आधारमा प्रवेश अनुमती दिने निर्णय भएकोमा नेपाली पक्षले मुस्ताङका बाँकी ३ पालिकाका नागरिकलाई पास दिन सक्ने सहमति बनेको छ ।


अब मुस्ताङका ५ वटै पालिकाका बासिन्दाले सीमा प्रस्थान पास लिएर त्यहाँ जान सक्ने भएका छन् । नाका दैनिक बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म खुला हुनेछ । प्रतिकूल मौसम र हिमपात हुँदा आवतजावतमा समस्या देखिएमा दुबै पक्षको सहमतिमा आवश्यक निर्णय लिइने बताइएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया