स्वतन्त्र पत्रकार संघको सभा

समाधान संवाददाता २०८० मंसिर १ गते १३:१५

पोखरा ।
स्वतन्त्र पत्रकार संघ कास्कीको ११ औं वार्षिक साधारण सभाका भएको छ । सभामा संघका ज्येष्ठ पत्रकार उदयबहादुर अमात्यले स्वतन्त्र पत्रकारिता समुन्द्र भएकाले समुन्द्रसम्मको यात्रामा आउने उल्झनमा डगमगाउन नहुने उल्लेख गरे ।


संघका संस्थापक केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले आफ्नो कलम पार्टीकारितामा सुताएर पत्रकार बन्न खोज्नेहरू स्वतन्त्र पत्रकारिताको तपस्यामा नअटाउने धारणा राखे । संघकी केन्द्रीय पार्षद शान्ति राणाले व्यापकता सत्य भए तापनि त्यसैमा शक्ति हुन्छ भन्नु भ्रममात्र भएको जनाइन् ।


संघका केन्द्रीय पार्षद् विश्वलाल श्रेष्ठले समग्र विकास र समृद्धिका लागि निष्पक्ष पत्रकारिता भनेकै स्वतन्त्र पत्रकारिता रहेको औंल्याए । साहित्यकार मदन भण्डारीले एउटा परिवारका सदस्य पारिवारिक स्वार्थका लागि फरक–फरक पार्टी सदस्यता लिएर हिँड्दै गरेको समाजमा स्वतन्त्र पत्रकारिता उकालोको यात्रा जस्तो देखिए पनि त्यसको फल सुन्दर हुने धारणा राखे ।

Advertisement


संघको आर्थिक तथा साङ्गठानिक प्रगति विवरण प्रस्तुत गर्दै कास्की अध्यक्ष असफल गौतमले जस्तो विषम परिस्थिति आइलागे पनि स्वतन्त्र पत्रकारिताको मर्म मर्न दिनुु नहुने जनाए । सोही समारोहबीच केन्द्रीय समितिका तर्फद्वारा कास्की अध्यक्ष असफल गौतम देशभरका सयौं पत्रकार संलग्न राष्ट्रिय लेख प्रतियोगितामा प्रथम भई १ लाख राशिसहित र साधारण सदस्य रुपनारायण ढकाल उत्कृष्ट १५ मा पर्न सफल भई १० हजार राशिसहित पुरस्कृत भएकोमा सम्मानसमेत गरिएको थियो ।


सभामा संघका केन्द्रीय महिला उपाध्यक्ष तिर्सना लक्ष्मी गुरुङ, उपमहासचिव कल्याण पन्त, केन्द्रीय पार्षद लेखबहादुर थापा, तिलक थापा, संघका कास्की सहसचिव डिल्लीराम काफ्ले, सदस्य रामबहादुर बानियाँ, सागर कार्की, गणेश बज्र लामा, रजनी तामाङ स्याङ्बो लगायतले स्वतन्त्र पत्रकारितालाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे धारणा राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया