उपल्लो मुस्ताङका स्कुल बेंसीमा

सुन्दरकुमार थकाली २०८० मंसिर ३ गते ११:२०

जोमसोम ।
उपल्लो मुस्ताङमा चिसो निकै बढेको छ । समुद्री सतहदेखि करिब ४ हजार मिटरमाथि पर्ने यो क्षेत्रमा हिउँद याममा चिसो र हिमपात हुने भएकाले उपल्लो मुस्ताङको जनजीवन निकै कष्टकर हुने गर्छ ।

Advertisement


यो याममा उपल्लो मुस्ताङका अधिकांश मानिस चिसो छल्न घरमा ताल्चा मारेर बेंसी झर्ने गर्छन् । उपल्लो मुस्ताङमा चिसो बढेपछि बालवालिकालाई सुरक्षित स्थानमा राखेर पठनपाठन गराइन्छ । चिसोका कारण बालवालिकाहरुलाई रुखाघोकी लाग्ने र निमोनिया हुने संम्भावना उक्तिकै हुन्छ । हिमपात हुँदा बालबालिकाका विद्यालयसम्म पुग्नसमेत कठिन पर्छ ।


जाडो मौसमका जटिलता हटाउन उपल्लो मुस्ताङमा सञ्चालित शैक्षिक संस्थाहरु घुम्ती कक्षा सञ्चालन गर्न बेसी झरेका छन् । उपल्लो मुस्ताङका सामुदायिक तथा गुम्बा स्कुलहरुलाई बेसीमा स्थान्तरण गरिएको हो ।


लोमान्थाङ गाउँपालिकाका ३ सामुदायिक स्कुल र ४ गुम्बा स्कुललाई पोखराका विभिन्न स्थानमा सञ्चालन गरिएको लोमान्थाङ गाउँपालिकाका अधिकृत विकास केसीले जानकारी दिए । विद्यार्थीलाई दसैं, तिहारको बीचमा बेसी झारिएको हो ।


लोमान्थाङ गाउँपालिका अन्तर्गतको दिव्यदीप माध्यमिक विद्यालय, झिन्झु आधारभूत विद्यालय र राष्ट्रिय आधारभूत विद्यालयका बालबालिकालाई पोखरामा स्थान्तरण गरिएको हो । यस्तै, लोमान्थाङ पालिकामा रहेका मञ्जुश्री गुम्बा, निफुक नाम्डोल गुम्बा, पाल नाम्ग्याल गुम्बा र महाकरुणा शाक्यापा गुम्बा गरी ४ गुम्बा स्कुल पनि घुम्ती कक्षाका लागि तिहारअघि नै बेंसी झरेका छन् ।

Advertisement


उपल्लो मुस्ताङकै अर्को पालिका लोघेकर दामोदरकुण्डका ८ सामुदायिकमध्ये ७ स्कुललाई पोखरामा स्थान्तरण गरिएको छ । पालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले अत्यधिक चिसो बढेपछि चराङ आवि चराङ, मराङ आवि मराङ, ढाक्मर आवि ढाक्मर, शालिग्राम आवि ताङ्ग्या, यारा आवि यारा, घारा आवि घारा र जनज्योति आधारभूत विद्यालय घिलिङ घुम्ती कक्षा सञ्चालन गर्न पोखरा झरेको जनाए ।


घुम्ती कक्षा सञ्चालन गर्ने स्कुललाई स्थानीय तहले समेत सघाउने गरेका छन् । सरकारबाट स्वीकृति प्राप्त गरेका गुम्बा स्कुललाई पनि सरकारले यसबापत बर्सेनि बजेट दिने गरेको छ । हिमाली छात्रवास सुविधा प्राप्त गरेका विद्यालयलाई आवासीय सुविधाका लागि बजेट दिइन्छ ।


कक्षा १ देखि ३ सम्मका बालबालिकालाई आवासीय सुविधाका लागि स्थानीय तहले नै बजेट दिने गरेका छन । घुम्ती कक्षाका लागि बेसी झरेका विद्यालयले बालबालिकालाई पठनपाठन र आवासीय सुविधा प्रदान गर्ने गरेको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए ।


गुम्बा स्कुललाई किताब किन्न र शिक्षक व्यवस्थापन गर्न सरकारले रकम उपलब्ध गराउने गरेको छ । मुस्ताङमा ८ गुम्बा स्कुलले सरकारी मान्यता पाएका छन् । यी स्कुलले सरकारले निर्धारण गरेको पाठ्यक्रम अनुसार पठनपाठन चलाउँछन् ।
मुस्ताङमा ३ दर्जनभन्दा बढी सामुदायिक स्कुल छन् । तल्लो क्षेत्रका विद्यालय भने पुसदेखि माघ मसान्तसम्म बन्द हुन्छन् ।

थासाङ र घरपझोङ गाउँपालिकाका सबै सामुदायिक विद्यालयलाई हिउदे बिदा दिने गरिएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतको जननर्मल माध्यमिक विद्यालय छुसाङ र मुक्तिनाथ आधारभुत विद्यालय झारकोट बेसी स्थान्तरण गरिए पनि अन्य विद्यालयमा पुस र माघ गरी २ महिना हिउँदे बिदा दिने गरिएको छ ।


सरकारले देशैभरि नयाँ शैक्षिक सत्र कायम गर्न परिपत्र गरेसँगै मुस्ताङमा वार्षिक परीक्षा रोकिने निश्चित भएको छ । विगतमा यहाँ फागुनमा नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गरिन्थ्यो । अब हिमाली जिल्लामा पनि बेसीमा जस्तै चैतमा शैक्षिक सत्र सकेर वैशाखमा नयाँ शैक्षिक सत्र सुरु हुने शिक्षा विकास तथा समन्वय इकाइ मुस्ताङले जनाएको छ ।


यसले बेसी स्थान्तरण गरिएका बालबालिकाबाहेक तल्लो क्षेत्रका विद्यालयका बालबालिकाका अप्ठ्यारो हुने सरोकारवालाको भनाइ छ । चिसोका कारण बेसी झरेका उपल्लो मुस्ताङका शैक्षिक संस्थाहरु चिसो घटेपछि वैशाखबाट साविककै स्थानमा सञ्चालन हुन्छन् । घुम्ती कक्षाका लागि उपल्लो मुस्ताङका कतिपय विद्यालयले पोखरामा आफ्नै भवनसमेत बनाएका छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया