होम स्टेः पर्यटनको नयाँ शिरा

झलक शर्मा २०८० मंसिर ३ गते १२:११

नेपालको परिवेश बदलिदो छ । रहनसहन, खानपान, चालचलनमा धेरै परिवर्तन आएको छ । मानिसहरु आधारभूत आवश्यकता परिपूर्ति गर्नमा मात्र सीमित छैनन् । असीमित चाहाना र मागहरु बढ्ने क्रममा छन् । त्यसमा पनि घुमफिरले नेपालीको मन लोभ्याइरहेको छ । विगतमा ग्रामीण भेगबाट सहर बजार घुम्ने, रमाउने गरिन्थ्यो तर आजभोलि ग्रामीण भेगमा घुम्ने लहर चलिरहेको छ । कहिले सहर त कहिले गाउँ, घुमफिरको चक्र भने घुमिरहेको छ । पर्यटकको मन जता केन्द्रित भए पनि पर्यटनले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान गरिरहेकै छ ।

Advertisement


सहर झरेकालाई गाउँको माटोमा रमाउन मन जागेको छ । धुवाँ, धुलो, कोलाहलपूर्ण वातावरण एवं अव्यवस्थित सहरीकरणबाट मुक्त हुन मानिसहरु गाउँ रोज्न थालेका छन् । वनजंगल पाखा पखेरा, तालतलैयामा गाउँको साँस्कृतिक चालचलनलाई चिनाउन तथा पर्यटन प्रवद्र्धन गर्न आन्तरिक तथा बाह्य पर्यटकका लागि गन्तव्य स्थल बनेका छन् । गाउँको वस्तुस्थिति, भाषा, रहनसहन बुझ्नमा होम स्टे एक आधारको रुपमा खडा भएको छ । नेपालमा अनौपचारिक रुपमा २०५४ देखि नै होम स्टे अवधारणा आएको हो भने औपचारिक रुपमा होम स्टेको सुरुवात २०६७ साल भाद्र १ गतेदेखि भएको हो । नेपालको पहिलो पर्यटकीय गाउँको रुपमा स्याङ्जाको सिरुवारीलाई चिनिन्छ ।


होम स्टे गाउँमा घुम्न आउने पर्यटकलाई गाउँकै परिवेशमा बास बस्न दिने एक व्यापारिक क्रियाकलापको रुपमा होम स्टेलाई बुझ्नु पर्छ । प्रकृति र सामाजिक संस्कृतिमा रमाउन चाहने पर्यटकलाई ग्रामीण भेगमा अन्तरघुलन गराउने, चिनाउने र मनोरञ्जन दिलाउने सेवा हो होम स्टे । होम स्टेले ग्रामीण भेगका बासिन्दाको आयआर्जनमा सहयोग पुर्‍याएको छ । पैसा कमाउनकै लागि विदेश पलायन हुनबाट गाउँका युवालाई रोकेको छ । युवालाई उद्यमशील बनाएको छ ।

Advertisement


कृषि उत्पादन, औजारको बजार विस्तार गरेको छ । मौलिक परम्परा, भेषभूषाकोे प्रवद्र्धन भएको छ भने ओझेलमा परेका पर्यटकीय क्षेत्र, गाउँहरुको प्रचारप्रसारसमेत भएको छ । औषत पर्यटकको संख्या बढेपछि ग्रामीण भेगको विकास निर्माणमा पनि गति पाएको देखिन्छ । आजभोलि चाडपर्वको समयमा नयाँ नयाँ गाउँ ठाउँ घुम्ने परिपाटी नै बनेको छ । युवायुवतीले होम स्टेमा बसेर फरक खानाको नयाँ स्वाद लिने र मौलिक भेषभूषा पहिरिएका तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने रहर प्रष्ट देखिन्छ ।


होम स्टेले आन्तरिक पर्यटकमात्रै होइन, बाह्य पर्यटकलाई समेत आकर्षण गरेको छ । विगतमा पर्यटकलाई बास बस्ने, खानपान र भाषागत समस्या देखिन्थ्यो । बाटोको दिशाा पत्ता लगाउन नसकि अल्मलिदा पर्यटकले धेरै आर्थिकभार व्यहोर्नु पर्ने अवस्था थियो । बाह्य पर्यटकलाई पथप्रदर्शकको अनिवार्य आवश्यकता हुन्थ्यो भने आजभोलि गाउँघरमा पर्यटनसम्बन्धी ज्ञान, भाषा तथा तालिमले गर्दा पर्यटकको यात्रा मीठासपूर्ण बन्दै गएको देखिन्छ । पारिवारिक जमघट र न्यानो स्वागतले आन्तरिक तथा बाह्य पर्यटकको मन होम स्टेले तानेको पाइन्छ । होम स्टे पर्यटनको नयाँ शिराको रुपमा उदाएको छ । यसलाई नेपाली समाजले अवसरको रुपमा लिनु पर्दछ । यसैको आधारमा गाउँको मुहार फेर्नु आवश्यक छ ।

विगतमा ग्रामीण भेगबाट सहर बजार घुम्ने, रमाउने गरिन्थ्यो, आजभोलि सहरबाट गाउँ जाने लहर चलेको छ


गाउँको परिवेश, सामाजिक, साँस्कृतिक तथा धार्मिक पक्षको प्रवद्र्धनमा उद्धत रहेको होम स्टेहरु आजभोलि पूर्णरुपमा व्यापारिक बन्ने गरेका छन् । गाउँमा पर्यटकको रुपमा भित्रिएका पाहुनालाई सेवाभन्दा बढी रकम असुल्ने गरेको पाइन्छ । पाहुनालाई मौलिक परम्परा र संस्कृति अनुरुप स्वागत सत्कार गर्न भुलेको आवास गराउँछ । होम स्टेहरुमा अत्यधिक मदिरापान गर्ने र होहल्ला गर्ने थलोको रुपमा परिणत हुने सम्भावना बढेको छ । ग्रामीण भेगमा पनि बाह्य खाद्यवस्तु परिकारले निरन्तरता पाउदा स्थानीय उत्पादन वस्तुहरुको बजार साँघुरो बन्दै गएको छ । राज्यले पनि होम स्टे सञ्चालनका लागी विभिन्न मापदण्ड लागू गर्नु पर्दछ ।


घुमफिरका क्रममा पर्यटक लुटिने, ठगिने जस्ता समस्या आउन दिनबाट रोक्नु पर्दछ । पर्यटकले गाउँ घुमेर फर्केपछि सकारात्मक सन्देश बोकेर फर्किउन भन्ने चाहना होम स्टे सञ्चालकले बुझ्नु पर्दछ । पर्यटकलाई हावापानी नमिल्दा उत्पन्न हुने समस्या जस्तै लेक तथा लु लाग्ने समस्या समाधान गर्न होम स्टे सञ्चालकले स्थानीय स्वास्थ्यकर्मी तथा स्वास्थ्यचौर्कीसँग समन्वय गर्नु आवश्यक हुन्छ । प्राथमिक उपचार तथा फस्ट एड किट लगायतका सामग्री होम स्टेमा सुरक्षित साथ राख्नु पर्दछ । होम स्टेमा बलात्कार तथा यौन दुव्र्यवहार जस्ता क्रियाकलापहरु हुन सक्ने हुँदा त्यसप्रति सञ्चालकले विशेष ध्यान दिनु पर्दछ ।

पर्यटकलाई आफ्नो गाउँ ठाउको बारेमा, पुरातात्विक वस्तुरुको बारेमा स्पष्टरुपमा जानकारी प्रवाह गर्नु पर्दछ । जातीय, भाषिक, लैङ्गिक, धार्मिक सहिष्णुता कायम गरी पर्यटकप्रति विभेदमुक्त समाजको रुपमा चिनाउनु पर्दछ । पशुपंक्षी, वनस्पति चोरीशिकारी हुनबाट जोगाउन पर्यटकलाई सचेत गराउनु आवश्यक छ । होम स्टेसम्म पुग्न पथचिन्ह तथा लोकेसन म्याप तयार गरी आवश्यक स्थानमा राखी पर्यटकलाई अलमल हुनबाट जोगाउनु पर्छ । छिटपुट नकारात्मक गतिविधिले स्थान ओगटेता पनि होम स्टेको अवधारणाले पर्यटकको लागी निकै सहज बनाएको छ । होम स्टेमा देखिएका कमी, कमजोरीलाई सुधार गर्दै जाने हो भने ग्रामीण भेगको प्रवद्र्धन र आयआर्जनमा वृद्धि हुने देखिन्छ ।


होम स्टेको माध्यमबाट पर्यटनको विकास, प्रवद्र्धन एवं नियमन तथा व्यवस्थापन गर्न नेपाल सरकार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होम स्टे सञ्चालन कार्यविधि, २०६७ कार्यान्वयनमा ल्याएको छ । जसमा सामुदायिक होम स्टेका लागि कम्तीमा ५ वटा घरधनीहरुको लिखित प्रतिवद्धता आवश्यक पर्दछ भने निजी होम स्टे सञ्चालन गर्न सञ्चालकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि आवश्यक हुन्छ । होम स्टे दर्ता गर्नका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन उद्योग महाशाखा तथा पर्यटन कार्यालयहरुमा निवेदन दिनुपर्ने छ । होम स्टे सञ्चालनका लागि संघले तयार गरेको कार्यविधिलाई आधार मानेर प्रत्येक प्रदेशका आ–आफ्नै कार्यविधि तय भएका छन् ।


गण्डकी प्रदेशमा होम स्टे सञ्चालन कार्यविधि २०७५ कार्यान्वयनमा छ । संघको कार्यविधि वा मापदण्ड प्रदेश र स्थानीय तहले बाझिने गरी कार्यविधि बनाउनु हुँदैन । पछिल्लो उदाहरण माछापुच्छ्रे गाउँपालिका भित्रका पदमार्गमा जाने बाह्य तथा आन्तरिक पर्यटकले शुल्क तिर्नु पर्ने निर्णयले पर्यटक तथा पर्यटन व्यवसायीहरुले असन्तुष्टि पोखेका छन् । पर्यटकहरु पर्यटन शुल्कबाट दोहोरो मारमा पर्ने सम्भावनालाई रोक्दै तीनै तहका सरकारले समन्वय गरी पर्यटन क्षेत्रलाई व्यवस्थापन गर्नु आवश्यक छ ।


होम स्टे पछिल्लो समय मौलाउदो पर्यटन व्यवसाय हो । ग्रामीण भेगलाई समुन्नत बनाउन यसको ठूलो भूमिका रहन्छ । पर्यटनमार्फत नेपालको सामाजिक साँस्कृतिक, धार्मिक तथा प्राकृतिक सम्पदाको प्रवद्र्धन र संरक्षणमा अतुलनिय योगदान रहन्छ । तसर्थ होम स्टेलाई व्यवस्थित, मर्यादित र मितव्ययी बनाउनु आवश्यक छ ।

तपाईको प्रतिक्रिया