वन्यजन्तु पीडितलाई ४ महिनापछि राहत

समाधान संवाददाता २०८० मंसिर ३ गते १३:०१

जोमसोम ।
उपल्लो मुस्ताङका वन्यजन्तु पीडित पशुपालक किसानले आर्थिक वर्ष सकिएको ४ महिनापछि वन्यजन्तु क्षतिको राहत पाएका छन् । उनीहरुलाई वन्यजन्तुबाट भएको क्षतिको राहत निर्देशिका २०८० अनुसार राहत उपलब्ध भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङले जनाएको छ ।

Advertisement


एक्याप लोमान्थाङका कार्यालय प्रमुख राम गुरुङका अनुसार गत वर्ष क्षति भएका पशुधन ५ घरधुरी पशुपालक किसानलाई २ लाख २७ हजार ५ सय रुपैयाँ वितरण भएको हो । उक्त रकम गत हप्ता सम्बन्धित वन्यजन्तु पीडितहरुको नाममा क्षति अनुसारको प्रभु बैंकको खातामा जम्मा भइसकेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख गुरुङले जानकारी दिए ।


कार्यालय प्रमुख गुरुङले उपलब्ध गराएको विवरण अनुसार गतवर्ष पशुधनमा क्षति भएका मध्ये लोमान्थाङ—२ का ल्यहाक्युङ गुरुङले २२ हजार ५ सय, वारागुङ—३ का करण गुरुङले दुई पटकको क्षति ४० हजार, लोमान्थाङ—४ का कर्म पेन्टुक गुरुङले १० हजार, वारागुङ—३ चैलेका लाक्पा गुरुङले ९६ हजार र लोमान्थाङ—१ का ङिमा धिन्दु गुरुङले ४९ हजार पाएका हुन् ।
गत वर्ष पशुधन क्षति व्यहोर्न बाध्य घरपझोङ गाउँपालिकाका ४ पशुपालकलाई एक्याप जोमसोम कार्यालयले १ लाख ४९ हजार ५ सय रुपैयाँ उपलब्ध गराएको थियो ।

Advertisement

उपल्लो मुस्ताङका खर्क र लेकमा पशुमाथि हिमचितुवा, चितुवा आदिको निरन्तरको आक्रमणले पशुपालन व्यवसाय संकट पर्न थालेको छ


योसँगै मुस्ताङका वन्यजन्तु पीडित १९ घरधुरीमध्ये ९ घरधुरीलाई ३ लाख ७७ हजार रुपैया पशुधन क्षति राहत उपलब्ध भएको हो । अझै बाँकी १० घरधुरी वन्यजन्तु पीडित घरधुरीले पशुधन क्षतिको राहत पाउने प्रक्रियामा छ ।


सरकारले वन्यजन्तुबाट हुने जनधनको क्षति भएमा राहत वितरण गर्ने प्रक्रियालाई सरल, सहज र व्यवस्थित गर्न वान्छनीय रहेको भन्दै चालु वर्षको साउनदेखि नयाँ वन्यजन्तु क्षति राहत निर्देशिका २०८० कार्यान्वयनमा ल्याएको हो ।


विगतका वर्षहरुमा वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति व्यवहोर्दै आएका पशुधनीहरुलाई सम्बन्धित एक्याप कार्यालयले नै क्षति राहत वितरण गर्ने गथ्र्यो । चालु वर्षदेखि क्षति भएका पशुधनीहरुको कागजात भेरिफाइ गरी सरकारले सम्बन्धित पशुधनीकै खातामा सिधै जम्मा गरिदिने प्रावधान रहेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख राम गुरुङको भनाइ छ । उनका अनुसार सिधै उपलब्ध गराएको क्षति विवरणको रेकर्ड कार्यालयलाई समेत जानकारी आउने छ ।


वन्यजन्तुको आक्रमणबाट पशुधनमा क्षति भएमा सम्बन्धित पशुपालकको क्षतिको विवरण यकिन तथ्य पेश गर्नुपर्ने हुन्छ । यसका लागि प्रहरी मुचुल्का, सम्बन्धित संरक्षण व्यवस्थापन समितिको सिफारिस, वडा कार्यालयको सिफारिस, घटनास्थलको फोटोहरु र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको भेरिफिकेसन रिपोर्ट एक्यापमा पेश गर्नुपर्ने हुन्छ । यसरी पेश गरिएको रिपोर्टका आधारमा एक्याप कार्यालय प्रमुखको संयोजक बनेको पशु क्षति मूल्यांकन समितिले उपल्लो निकायमा पठाएपछि राहतको प्रक्रिया अघि बढ्छ ।


पछिल्लो समय मुस्ताङमा वन्यजन्तु आक्रमणले पशुपालक किसान निकै चिन्तित छन् । खर्क र लेकमा पालन गरिएको पशुचौपाया हिमचितुवा, चितुवा आदिले आक्रमण गरी मारिदिने हुँदा मुस्ताङका पशुपालकको पुख्र्याैली व्यवसाय संकटमा पर्न थालेको हो ।

तपाईको प्रतिक्रिया