अप्ठेरो बेला लुक्ने ठाउँमा आगो नझोस्नुस् माओवादी मित्रहरु !

राजु क्षत्री २०८० मंसिर ३ गते १६:३०

घाउबाट पिप चुहाउँदै म्याग्दीबाट पहाडै–पहाड कास्की आएका रमेशसँग ६०६२ सालमा पहिलोचोटि भेट भएको मेरो । खिरिलो जिउ, पौस्टिक खाना नपाएर छालामा देखिएका कत्ला, पुराना कपडामा फुंग उडेको अनुहार लिएर ऊ याचना गरिरहेको थियो – म त हात कुहिएर मर्छु कि क्या हो ! लौ न सर, उपचार हुने ठाउँमा लगिदिनुस् ।

Advertisement


‘‘२०५८ सालको कुरा । ८ कक्षा पढिरहेका बेला एकदिन कहिल्यै नदेखेका मान्छे बन्दुक बोकेर स्कुलमा पसे । तल्लो जात– उपल्लो जात भनेर मान्छे मान्छेमा भेद ल्याउने संस्कृत किताब जलाउन पर्छ भनेर खुन तताउने भाषण गरे । त्यो बेला लाग्यो यही किताब पढेर हाम्रो पानी नचलेको रैछ भनेर चौरमा ल्याएर किताब जलाइयो । भोलिपल्टदेखि त वरपर मलाई देखेर मान्छेहरु डराउन थाले । सरहरु पनि थुरुरुरु । एउटा किताब जलाएका भरमा म एकाएक शक्तिशाली भइसकेको थिएँ । अनि लाग्यो अब जाबो स्कुल के पढ्नु ।’’


यसरी ऊनी माओवादी भएका थिए । म्याग्दीको दुर्गम रघुगंगाको गरिब दलित परिवारमा जन्मिएका रमेश परियारले समाजको सबैभन्दा कमजोर र हेपिएको मान्छेबाट एकाएक शक्तिशाली मान्छेका रूपमा आफूलाई पाए । त्यसपछि घर छोडे । बा–आमा छाँद हालेर रोए । मर्ने बाटोमा नहिँड छोरा भनेर हजार बिन्ती गरे । उसले भन्यो– म देश बनाउन हिँडे अब । हामी गरिबका लागि राम्रो दिन ल्याउन हिँडे अब । उसले कसैलाई सुनेन । हिक्क– हिक्क रुँदै बिन्ती गरिरहेकी आमालाई पनि सुनेन । यसरी ऊ मुक्ति समरमा हिँड्यो ।


ऊ त्यसपछि दलित मुक्ति आन्दोलनको नेता बन्यो । नेता बनेरमात्र क्रान्ति हुन्न भन्ने बुझेर जनमुक्ति सेनामा भर्ना भयो । लडाइँमा गयो । जनमुक्ति सेनाको पाँचौं डिभिजनको एलएमजी ग्रुपको सहकमान्डर भयो । दाङको भालुबाङको लडाइँमा घाइते भयो । दुश्मनको गोलीले जिउमा भ्वाङ पार्दियो । ऊ अब लड्न नसक्ने भयो । सपोर्ट लिँदै पछि हट्यो । अनि यहीँबाट सुरु हुन्छन् उसका दुर्भाग्यका दिनहरु ।

भालुबाङको लडाइँबाट फर्केपछि भ्वाङ परेको छातीबाट कसरी मुटु कलेजो देखिन्छ, कसरी फोक्सोले स्वास फाल्छ– उसले आफ्नै आँखाले देख्यो ।

Advertisement


भालुबाङको लडाइँबाट फर्केपछि भ्वाङ परेको छातीबाट कसरी मुटु कलेजो देखिन्छ, कसरी फोक्सोले स्वास फाल्छ– उसले आफ्नै आँखाले देख्यो । हातको कुइनोमा मात्र होइन, जिउभरि गोली लागेको छ । शरीर भत्भती पोल्छ । उपचार हुन सकेको छैन । जंगलमा यसै सुताएको छ । प्राइमरी उपचारसमेत हुन सकिरहेको छैन । गोली लागेको ३–४ दिनपछि बल्ल दाङको मुर्कुटे जंगलमा ७–८ जना घाइतेलाई उपचार गर्न पार्टीका डाक्टर आइपुगे ।

जिउ त पोलिरहेकै छ, डाक्टर देखेपछि बल्ल मन अलि शीतल भयो । उपचार चल्दै थियो, २ दिनपछि आकाशबाट सेनाको हेलिकप्टरले गोली बर्साउन थाल्यो एक्कासि । हामी बसेको जंगलका बीचमा रहेको सेल्टरमा आगो लाग्न थाल्यो । घर छेउमा ठूलो भिर थियो, ऊ त्यहींबाट तल खस्यो । पछि थाहा पाए, एकजना सरिता नामकी चौधरी बैनीबाहेक सबै घाइते साथीहरु मारिनु भएछ ।


यसरी दाङको घना जंगलमा उनी घाइते जिउ बोकेर लडिरहे । खानेकुरा केही छैन । प्यास लाग्दा पिउन पानी छैन । घाउ गन्हाएको छ । दुखाइ एकातिर छ, आफ्नो जिउ गन्हाएर आफैलाई वाकवाकी लागिरहेको छ । रिंगटा लाग्छ, चल्मल गर्न सकिएको छैन । भाग्यले भन्नुप¥यो बाँचिएको छ, मरिएको छैन अहिलेसम्म ।


यसरी ४ दिन जंगलमा बसे दुश्मनको चाल बुझ्दै । अर्को घाइते बैनीले बोकेर उनलाई गाउँमा लगिन् । स्थानीय मेडिकलले घाउ सफा गरिदियो । पछि साथीहरू आएर लगे । त्यसपछि कोइलाबास हुँदै भारतको पन्जाब लगियो । अहिलेका प्रधानमन्त्री प्रचण्डका सम्धी .. पाठक सरले हस्पिटल लग्नु भो । अप्रेसन भयो । धेरै ठाउँमा गोली लागेको थियो । भारतका प्रहरीले समाउन खोजेपछि त्यहाँबाट भागेर जालान्धर पुगे । घाइते शरीर बोकेर कहिले यता कहिले उता भौतारिइरहे ।


भारतमा कति बस्नु भनेर हातमा लागेको प्लास्टर बोकेर नेपाल फर्के । कपिलवस्तु– कोइलाबास वरपर पार्टीका सेल्टरमा महिनौं बसे । अपरेसन गरेको घाउमा संक्रमण भएछ । फेरि पिप बग्न थाल्यो । उपचार देशभित्र गर्न सक्ने अवस्था नै थिएन । फेरि भारत जान हिँडेको, अरू साथीसहित भारतीय प्रहरीले फन्दामा पारे ।


नेपाल ल्याएपछि पुलिसलाई चक्मा दिएर भाग्न सके । त्यसपछि मरे मर्छु भनेर उनी गाउँको बाटो प्लास्टर गरेको हात झुन्ड्याउँदै घाइते शरीर बोकेर म्याग्दी आइपुगे । त्यतै बसेर पार्टीको काम गर्न थाले ।


संसार जित्न सपांग शरीरमा हिँडेको मान्छे अहिले अपांग भएर घर फर्केको छ । तैपनि दुनियाँ बदल्ने अभियानमै लागिरहेछ ।
त्यहीँ बीच फेरि उसको घाउमा संक्रमण भयो र पिप बग्न थाल्यो । म्याग्दीमा उपचार हुन नसक्ने भए पछि पहाडै पहाड कास्की आइपुगे । म ब्यारेकबाट भागेर कास्की आएको बेला ऊनीसँग पहिलो भेट भएको ।


क्लान्त शरीर बोकेर उनी पोखरा वरपरका गाउँहरुमा घुमिरहे । जन आन्दोलन भयो र सहज भएपछि पोखरा आए । उपचारमा लागे । हातमा लगाएको रड डाक्टरको लापरबाहीले भित्रै भाचियो र पछि मनिपाल गए । त्यसपछि पनि उपचार राम्रो हुन सकेन । जनयुद्धको बिसर्जन पछि पोखराको पृथ्वीचोकमा रहेको वाइसिएल क्याम्पमा बसेर पार्टी काम गर्न थाले । त्यही बेला माओवादी नेता देव गुरुङकी मेडम प्रभाको निजी सहयोगी ऋचासँग माया बस्यो । यस्तो अपांगसँग बिहे नगर भनेर पार्टीकै मान्छे लागि परे । त्यो सम्बन्ध छुटाउन उनलाई फेरि म्याग्दी पठाइदिए ।


उनीहरुको प्रेम आत्मीय थियो र जसै विवाह गरे । बिहेपछि पार्टी काम गर्दै जीवन धान्न परिवार नै मजदुरी गर्न थाले । बच्चा भए । झन् खर्च बढ्न थाल्यो । राम्रोसँग चलाउन नमिल्ने हात लिएर मजदुरी गर्दै रहे, परिवार पाल्दै रहे । अहिले उनका ३ बच्चा छन् । छोरी होटेलमा मजदुरी गर्छिन् । एउटा छोरा यातायात मजदुर भएका छन् र अर्को छोरासहित एउटा सामान्य घरको छिडीमा बसेर जिबन गुजारिरहेका छन् ।


यो उनको एकसरो कथा हो । महान सपना बोकेर हिँडेको योद्धाको वर्तमानको दैनिकी हो र हाम्रो राजनीतिक आन्दोलनले अधिकार प्राप्तिका नाममा युद्ध लडाएर सडकको जिन्दगी बाँच्न बाध्य योद्धाको कथा हो । हजारौं यस्ता कथाको जगमा उभिएको माओवादी आन्दोलन यसै विसर्जन भएको होइन ।


मेरो अनुरोध सबै माओवादी मित्रहरूलाईः
परिवर्तनहरु लडेर, मरेर, घाइते भएर, बेपत्ता भएर –तिनका सपनाको हत्या गरेर तपाईंहरुले भोगिरहेको सत्ताको स्वर्ग ख्याल गर्नोस्–धेरै दिन टिक्दैन । परिवर्तनहरु सडकमा निस्केर तपाईंहरुका आलिसान महलमा आगो झोस्न आए भने तपाईंका छोराछोरीको विदेशी पिआर च्यात्न अघि सरे भने, तपाईंहरु भागेर जाने ठाउँ कहाँ छ ? कृपया, अप्ठेरो परेको बेला आफ्नो लुक्ने ठाउँमा आगो नझोस्नुस् ।

तपाईको प्रतिक्रिया