उपल्लो मुस्ताङ घुम्ने विदेशी पर्यटक बढे

समाधान संवाददाता २०८० मंसिर ४ गते १०:५१

जोमसोम ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत रहेको नियन्त्रित क्षेत्र उपल्लो मुस्ताङ घुम्ने पर्यटकको संख्या छ । विगतका वर्षहरुमा औसत १ हजार पनि पर्यटक नपुग्ने उपल्लो मुस्ताङमा चालु वर्षको जनवरी देखि नोभेम्बर १८ तारिखसम्मको तथ्यांक हेर्दा विदेशी पर्यटकको सख्या अकल्पनीय रुपमा बढेको हो ।

Advertisement


अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीका अनुसार २०२३ को जनवरीदेखि डिसेम्बर आधासम्ममा कुल ३ हजार ३८८ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको जानकारी दिए । जसमध्ये केही सार्क राष्ट्रका पर्यटक छन् । बाँकी सबै तेस्रो मुलुकका पर्यटक छन् । यसवर्ष करिब ३८ राष्ट्रका विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख रेग्मीको भनाइ छ ।


एक्याप जोमसोमका अनुसार सन् २०२३ को अक्टोबरमा सबैभन्दा बढी ८१० जना विदेशी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरे । सबैभन्दा कम जनवरीमा जम्मा ७ जना मात्रै विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेका हुन् । यसैगरी फेबु्रअरीमा २३, मार्च १६२, अप्रिलमा ४२५, मे ७१२, जुन १४९, जुलाई १०८, अगस्ट २७८, सेप्टेम्बरमा ४०७ र नोभेम्बर १८ तारिखमा २०७ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका हुन् ।

Advertisement


उपल्लो मुस्ताङमा विशेष गरी तिजी पर्व र यार्तुङ पर्वको छेको पारेर अक्सर विदेशी पर्यटक उपल्लो मुस्ताङ जाने गरेको पाइएको छ । यसरी उपल्लो मुस्ताङ गएका विदेशी पर्यटक लोमान्थाङ गाउँपालिका—२ को छोसेर स्थित नेचुङबाट माथि जान पाउँदैनन् । तर, आन्तरिक पर्यटकलाई भने कोरलानाकासम्म जान कुनै रोकतोक हुँदैन ।


सन् २०२३ को जनवरीदेखि नोभेम्बर १८ सम्मको उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको तथ्यांक अनुसार २२ करोड ३६ लाख ८ हजार राजस्व संकलन भएको देखिन्छ । उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई नेपाल सरकार अध्यागमन विभागले प्रवेश शुल्क वापत ५ सय अमेरिकी डलर रोयल्टी तिर्नुपर्ने हुन्छ । यो शुल्क तिरेरपछि उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकले १० दिनको प्रवेश अनुमति पाउँछन् । उपल्लो मुस्ताङ घुमेको १० दिन कटेपछि प्रतिदिन थप ५० डलरका दरले सरकारलाई रोयल्टी बुझाउनुपर्ने हुन्छ । मुस्ताङको कागबेनीदेखि मुस्ताङको उपल्लो क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्र घोषणा गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया