सम्पादकीयः अन्तर्राष्ट्रिय सहकार्य, लागुऔषध नियन्त्रणको उपाय

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले चलाएको अपरेसनले नेपालमा ५ अन्तर्राष्ट्रिय लागूऔषध तस्कर समूहले हेरोइन भिœयाइरहेको पत्ता लगायो । जुन घटना नेपाल अन्तर्राष्ट्रिय लागूऔषध तस्करको सहज बाटो बन्दै गएको संकेत हो । वनस्पतिमा आधारित लागूऔषधको तुलनामा औषधिजन्य लागूऔषध विश्वको प्रमुख चुनौती बनेको अवस्था छ । पछिल्लो समय एकदमै हानिकारक औषधिजन्य लागूऔषध बनिरहेको छ । यस्तो अवस्थामा नेपालले औषधिजन्य लागूऔषधको खतरासँग जुध्नका लागि रणनीति तयार पार्न आवश्यक छ । अहिलेसम्म नेपालले विश्वव्यापी सहकार्य गर्ने फोरमहरुमा सहभागिता मात्र जनाएको अवस्था छ ।
वनस्पतिमा आधारित लागूऔषध निश्चित ठाउँमा तयार हुन्छन्, तर औषधिजन्य लागूऔषध जहाँसुकै, जहिलेसुकै तयार हुन्छन् । औषधिजन्य लागूऔषधहरु तयार गर्न सजिलो छ, कुनै पनि ठाउँमा उत्पादन गर्न सकिन्छ । सीमा वारपार ओसारपसार पनि सहजै हुन्छन् । औषधिजन्य लागूऔषध पहिलेभन्दा अधिक हानिकारक देखिएका छन् । त्यसैले अहिलेको प्रमुख चुनौती औषधिजन्य लागूऔषध हो, नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सहकार्यको विकल्प छैन । त्यसलाई निस्तेज पार्न कानुन कार्यान्वयन गर्ने निकायबीच अन्तर्राष्ट्रिय स्तरमै सहकार्य हुनुपर्ने आवश्यक छ ।
संसारका थुप्रै देशहरुले अहिले लागूऔषधको क्षेत्रमा नयाँ चुनौतीहरु सामना गर्नुपरिरहेको छ । एउटा देशमा उत्पादन भएको लागूऔषध विभिन्न मुलुक हुँदै अर्को देशसम्म पुग्ने भएकाले पनि सूचना आदानप्रदान र अन्तर्राष्ट्रिय सहकार्यविना यसको सफल अनुसन्धान सम्भव हुँदैन । सबै मुलुकले एकसाथ काम गर्नुपर्छ । उत्पादन र ओसारपसार/तस्करी, सूचना आदानप्रदान र सार्वजनिक स्वास्थ्यको मुद्दामा सबै मिलेर काम नगरी यो चुनौती सामना गर्न सकिन्न । विश्वभरिका असल अभ्यासहरुको आदानप्रदानबाट सबैलाई एउटा सिकाइ पनि हुन्छ र संयुक्त सहकार्यको ढोका पनि खोल्न सकिन्छ ।
अहिले लागूऔषधको ग्राहक अनलाइनबाट खोजी हुन्छ, अनलाइनबाट खरिदबिक्री हुन्छ । संसारभरि नै ‘क्लियर वेब’ पनि लागूऔषध किनबेचका लागि एकदम धेरै प्रयोग भइरहेका छन् । विज्ञापन, खरिदबिक्री र भुक्तानीका लागि त्यसको प्रयोग भइरहेको छ । त्यसैले औषधिजन्य लागूऔषधको नियन्त्रणका लागि निजी क्षेत्रसँग काम गर्न आवश्यक छ ।
संयुक्त राष्ट्रसंघमा पछिल्लो १० वर्षमा सयौं प्रकारका औषधिजन्य लागूऔषधबारे रिपोर्ट भएका छन् । लागूऔषध उत्पादकहरुले प्रयोग गर्ने रसायनविज्ञहरु एकदमै तगडा देखिन्छन् । त्यसैले यो समस्याको समाधान गर्नु जरुरी देखिएको छ ।
लागुऔषध शक्तिशाली समूहले गर्ने संगठित अपराध हो । त्यसैले कानुन कार्यान्वयन गर्ने निकायलाई त्यस्ता गतिविधिलाई निस्तेज पार्न तथा संगठित जालो तोड्न सहज छैन । कुनै देशको एकल प्रयास भन्दा पनि सबै देशको समन्वय र सहकार्यको अलवा संगठित शक्तिले मात्र त्यस्तो सञ्जाललाई तोड्न सक्छ । त्यसैले सार्क तथा विश्वव्यापी सहकार्य गर्ने फोरमहरुलाई सशक्त र प्रभावकारी बनाउन सकेमा लागु औषधको रोकथाम तथा ओसारपसारलाई नियन्त्रण गर्न सकिन्छ ।
तपाईको प्रतिक्रिया