पोखरामा हुने केपी ओली राष्ट्रिय कप टि–२० को तालिका सार्वजनिक

समाधान संवाददाता २०८० मंसिर ४ गते १२:१२

पोखरा ।
पोखरामा हुने ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । मंसिर ७ गते सुरु हुने प्रतियोगिताको उक्त प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले खेल तालिका सार्वजनिक गरेको हो ।
एकेडेमी अन्तर्गत गठित क्रिकेट विभागका संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले प्रतियोगितामा १२ टिमको सहभागिता हुने जानकारी दिएका छन् ।

Advertisement


प्रतियोगितामा ३ विभागिय टोली नेपाल आर्मीको त्रिभुवन क्लब, शसस्त्र प्रहरीको एपिएफ क्लव र नेपाल प्रहरी क्लवको सहभागिता हुनेछ । कोशी, बागमती, मधेस, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशको सहभागिता रहनेछ । युवा खेलाडी उत्पादनका लागि एकेडेमीले आफ्ना २ टिम पहिलोपटक उक्त प्रतियोगितामा सहभागिता गराउन लागेको संयोजक गौचनले जानकारी दिएका छन् । एकेडेमीले हालै देशभरिका २ सयभन्दा बढी युवा खेलाडीहरुबाट छनोट गरी दुई टिम बनाएको हो ।


खेल तालिका अनुसार ग्रुप ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, ग्रुप ‘बि’ मा एपिएफ, लुम्बिनी र गण्डकी, ग्रुप ‘सि’ मा नेपाल पुलिस, मधेस प्रदेश र सुदूरपश्चिम तथा ग्रुप ‘डि’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो आपसमा प्रतिस्पर्धा गर्ने छन् ।


मंसिर १५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा हरेक दिन दुई खेलहरु सञ्चालन हुने संयोजक गौचनले बताए । उद्घाटन खेलमा बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोका विच हुनेछ । प्रतियोगितामा सबै प्रदेशबाट राष्ट्रिय खेलाडीहरुको सहभागिता हुने संयोजक गौचनले बताए ।


प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले प्रतियोगिता सम्पन्न गर्न करिब ७० लाख खर्च हुने जनाएको छ । प्रतियोगितामा उपाधि विजेता टिमले नगद ५ लाख रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५० हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिएका छन् । हरेक खेलमा म्यान अफ दि म्याच र प्रतियोगिताको बेस्ट ब्याटर तथा बलरलाई समेत नगदसहित सम्मान गरिने छ । मदन भण्डारी स्पोर्टस एकेडेकी कास्कीको व्यवस्थापनमा आयोजनामा हुन लागेको उक्त प्रतियोगिता सम्पन्न गर्न विभिन्न १३ वटा उपसमितिहरु गठन गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया