माइतीघर निषेधित क्षेत्र

समाधान संवाददाता २०८० मंसिर ५ गते ११:०३

काठमाडौं ।
मंसिर ७ गते दुर्गा प्रसाईँले नेतृत्व गरेको समूह र युवा संघको नेतृत्वमा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा गर्न नदिने निर्णय भएको छ । दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग अनुमति मागेका थिए ।

Advertisement


प्रदर्शनकारी हिँड्ने रुट र कार्यक्रम स्थल फरक पर्ने गरी कार्यक्रम स्थल तोक्नेबारे छलफल भइरहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । उनले भने, ‘माइतीघर मण्डला लाइफलाइन भएको हुनाले त्यहाँ दमकल र एम्बुलेन्स हिँड्नुपर्छ, दुवै पक्षसँग समन्वय गरेर हामी नयाँ कार्यक्रम स्थल तोक्छौँ ।’


मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले देशभरबाट सर्वसाधारण उतार्ने तयारी गरेको छ । युवा संघले पनि ठूलो संख्यामा कार्यकर्ता उतार्ने गरी तयारी गरेको छ ।


दुवै समूह माइतीघरमा आमने–सामने हुने भएपछि गृह प्रशासनले सो क्षेत्रमा ‘झडप’ हुने आकलन गर्दै त्यहाँ कार्यक्रम गर्न रोक लगाएर ‘निषेधाज्ञा’ लगाउने तयारी गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट समन्वय गर्दा दुवै पक्षले कानुन कार्यान्वयनमा सघाउने बताएको सहायक प्रजिअ आचार्यले बताए ।


जिल्ला प्रशासन कार्यालय काठमाडौँले युवा संघलाई काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिन सकिने जानकारी गराएको छ । युवा संघका उपाध्यक्ष पुष्पराज श्रेष्ठ भन्छन्, ‘तीनकुनेमा कार्यक्रम गर्ने कुरामा हाम्रो सहमति रहन्छ, प्रमुख जिल्ला अधिकारीसँग त्यसबारे छलफल भएको छ ।’

Advertisement


आइतबार गृह मन्त्रालयमा दुईवटा समूहलाई एकै ठाउँमा कार्यक्रम गर्न दिन नहुनेबारे छलफल भएको थियो । छलफलमा सहभागी गृह मन्त्रालयका एक जना उच्च अधिकृतका अनुसार ७ मंसिरबाट ३० दिनसम्म माइतीघर हुँदै नयाँ बानेश्वरसम्म निषेधाज्ञा लगाउने गृह प्रशासनको तयारी छ । स्थानीय प्रशासन ऐन–२०२८ अनुसार निषेधाज्ञा लगाउने र निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुन्छ ।

‘निषेधाज्ञा’ उल्लङ्घन गरेमा १ महिना कैद र १ हजार जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । स्थानीय प्रशासन ऐनमा भनिएको छ, ‘कुनै ठाउँमा आन्दोलन वा हुलदुंगा भई शान्ति भंग हुने जाने देखिएमा परिस्थितिको बिचार गरी आवश्यक भएमा प्रमुख जिल्ला अधिकारीले त्यस्तो स्थानको सिमाना तोकी सो ठाउँमा कसैले आवत जावत गर्न, भेला हुन र तोकेको अरू कुनै काम गर्न नपाउने गरी कर्फ्यु लगाउन आदेश जारी गर्न सक्नेछन् ।’


दुर्गा प्रसाईँले नेतृत्व गरेको समूहले कम्तीमा ५ हजार मानिस उपत्यका बाहिरबाट ल्याउन सक्ने आकलन सुरक्षा निकायले गरेको छ । युवा संघले १५ हजार मानिस उतार्ने सुरक्षा निकायको आकलन छ ।

तपाईको प्रतिक्रिया