सम्पादकीयः फूल खेती प्रवद्र्धन गर

नेपालीले विभिन्न अवसरमा फूलको प्रयोग गर्छन् । जातजाति, समुदाय, समारोह अनुसार फूल शुभ कार्यदेखि अन्तिम संस्कारसम्म प्रयोग हुन्छ । यस्तो फूलको नेपालमा व्यावसायिक खेती सुरु भएको धेरै वर्ष भएको छैन । आफ्नै घर, आँगन, खेत, बारीमा लगाइएका फूलबाट दैनिक पूजाआजा, केही शुभकार्य र तिहारको खाँचो टार्ने गरिएको थियो । तर पछिल्ला दिनमा फूलको प्रयोग माला एवं अतिथि सत्कार र श्रृंगार तथा सौन्दर्यकरणका रुपमा बढ्दै जाँदा यसले व्यावसायिक रुप लिन थालेको छ ।
घर आसपास र सानो जग्गामा मात्र नभई ठूलो क्षेत्रफलमा फूल खेती व्यावसायिकरुपमा गर्न थालिएको छ । पोखरा महानगरले फूल खेतीलाई प्रवद्र्धन गर्दै बिउँ वितरण गरेको थियो । यसपालिको तिहारमा विदेशी फूलमा प्रतिवन्ध लगाई स्वदेशी फूलको बिक्रीका लागि बजारको व्यवस्थासमेत गरियो । तर अपेक्षाकृत त्यो प्रयास सफल हुन सकेन । अघिल्लो वर्ष तिहारमा फूलको भाउ निकै उच्च भएकाले धेरैले कतै न कतै आफैले फूल लगाएका थिए भने चोर बाटो हुँदै विदेशी फूल भित्रिदा फूल र माला नबिकेर फाल्नुपर्ने अवस्था सिर्जना भयो ।
यसबाट हतोत्साहित भएर फूल खेतीलाई नै छाड्ने हो भने नकारात्मक परिणाम निस्कन्छ । यसलाई शिक्षाका रुपमा ग्रहण गरी पुष्प खेतीलाई व्यावसायिक बनाउनुपर्ने पाठ यसले सिकाएको छ । भलै, सानै परिमाणमा भए पनि माला र फूल बाँकी रहेका किसानलाई रकम दिने महानगरको घोषणाले आशाको सञ्चार भने गरेको छ । फूल खेती विशेषगरी तिहार जस्ता चाडपर्वलाई आधार बनाएरमात्र गरिदा यसबाट लिनुपर्ने जति व्यावसायिक रुप लिन सकिएको छैन । एउटै चाडपर्वमा आवश्यक मात्रामा फूल खपत हुन सकेन भने व्यवसाय घाटामा जाने जोखिम बढी हुन्छ । व्यसायीले आवश्यकता र खपतलाई ठीक ढंगले बुझ्नुपर्दछ । नेपालमा पुष्प व्यवसायलाई व्यासायिक रुपमा अगाडि बढाउने हो भने भारतीय फूल र प्लास्टिकका मालामा पूर्णरुपमा प्रतिबन्ध लगाउन जरुरी छ ।
अहिले पनि प्लास्टिकका माला निर्वाधरुपमा आयात भइरहेको छ । केही पालिकाले आफ्नो कार्यक्षेत्रभित्र भारतीय प्लाष्टिकका मालाको बिक्री वितरणमा रोक लगाएर सकारात्मक पहल गरेका छन् । देशभित्रको उत्पादन खेर जाने र विदेशी उत्पादन आयात गर्ने बिडम्बनापूर्ण स्थिति अन्त्य गर्न जरुरी छ । नेपालमा भन्दा छिमेकी भारतमा फूलदेखि लिएर हरेक वस्तुको उत्पादन लागत कम पर्न आउँछ । जसका कारण नेपाली किसानले बजारमा प्रतिस्पर्धा गर्न सक्दैनन् र पेशाबाटै विस्थापित हुने परिस्थिति सिर्जना हुन्छ । यो वर्ष तिहारमा फूल उत्पादन अत्यधिक भएको र र विदेशमा समेत निर्यात गर्न सक्ने प्रचुर सम्भावना देखिएको छ । विदेशमा नेपाली उत्पादन गुणस्तरीय छ भन्ने सन्देश दिँदै निर्यात गर्न सके फूल पनि हाम्रो आयआर्जनको बाटो बन्न सक्छ ।
तपाईको प्रतिक्रिया