केपी ओली कपको तयारी पूरा

पोखरा ।
बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टि २० क्रिकेट प्रतियोगिताको तयारी करिब पूरा भएको छ । पोखरामा मंसिर ७ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १२ टिम सहभागी हुँदै छन् ।
आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले मंगलबार पत्रकार सम्मेलन गरी ७ प्रदेशका ७ टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब तथा मदन भण्डारी स्पोसर्ट एकेडेमीका २ टिम प्रतियोगितामा सहभागी हुने जानकारी दिएको हो ।
पोखरा रंगशालामा हुने प्रतियोगिताका विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पाउनेछन् । एमेडेमीका अध्यक्ष ध्रुव आचार्यले म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्याटार र बलरले जनही २० हजार तथा म्यान अफ द म्याचले नगद पाँच हजार रुपैयाँ पाउने जानकारी दिए ।
एकेडेमीले अब यो प्रतियोगितालाई निरन्तरता दिने अध्यक्ष आचार्यको भनाइ छ । ‘प्रत्येक वर्ष वा हरेक २ वर्षमा फरक फरक ठाउँमा प्रतियोगिता गर्ने योजना बनाएका छौँ । पुरस्कार राशि पनि बढाउँदै जानेछौँ,” उनले भने । प्रतियोगिता गर्न ७७ लाख खर्च हुने अनुमान छ ।
प्रतियोगिताका लागि पोखराको क्रिकेट रंगशालामा अस्थायी प्यारापिट बनाइएको छ । साढे ५ सय दर्शक अट्ने प्यारापिटमा दर्शकले निःशुल्क प्रवेश पाउने छन् । पत्रकार सम्मेलनमा प्रतियोगिताका विजेता र उपविजेतलाई दिइने ट्रफीसमेत सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय छ । प्रतियोगिता संयोजक शक्ति गौचनले पोखरा रंगशालामा क्रिकेटको स्थायी पूर्वाधार बनाउन एकेडेमीले पहलकदमी लिने प्रतिवद्धता गरे ।
प्रतियोगिताको उद्घाटन खेल बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’बीच हुने भएको छ ।
शुक्रबारदेखि हरेक दिन दुई खेल हुने तालिका छ । प्रतियोगिताको समूह ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’, समूह ‘बी’ मा एपिएफ, लुम्बिनी र गण्डकी, समूह ‘सी’ मा नेपाल पुलिस, मधेस प्रदेश र सुदूरपश्चिम छन् । समूह ‘डी’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी ‘नीलो’ छन् । प्रतियोगिताको फाइनल मंसिर १५ गते हुनेछ ।
तपाईको प्रतिक्रिया