
जोमसोम ।
स्याउले उत्पादन प्रसिद्ध मानिएको मुस्ताङमा यस वर्ष स्याउ उत्पादन घटेको छ । गत वर्षको तुलनामा २४ दशमलव ५८ प्रतिशतले स्याउ उत्पादन घटेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।
जलवायु परिवर्तनका कारण स्याउको फूल फुल्ने समय चैत/वैशाख महिनामा स्याउ बोटमा परागसेचन हुन नपाएपछि स्याउ उत्पादन घटेको कृषि ज्ञान केन्द्र कार्यालय मुस्ताङको भनाइ छ । जसका कारण मुस्ताङका किसानले स्याउ खेतीबाट यस वर्ष करोडौं घाटा व्यहोर्न बाध्य भएको केन्द्रले उल्लेख गरेको छ ।
गत वर्ष मुस्ताङमा ५८० हेक्टर स्याउ उत्पादनशील क्षेत्रबाट ६५९६ दशमलव ९२ टन स्याउ उत्पादन भएकोमा यो वर्ष ५८५ हेक्टर स्याउ उत्पादनशील क्षेत्रमा ४९७५ दशमलव ३५ मात्र स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए । उनका अनुसार गत वर्षको तुलनामा १६२१ दशमलव ५७ टन स्याउ कम फलेको हो ।
आर्थिक वर्ष २०७८/०७९ मा मुस्ताङमा ५५६४ टन स्याउ उत्पादन भएकोमा गत वर्ष १ हजार टन स्याउ बढी फलेर औसत १८ दशमलव ५६ प्रतिशत उत्पादन वृद्धि भएको थियो । तर, यो वर्ष स्याउको फूल फुल्ने समयमा वर्षासँगै तुषारो परेपछि स्याउ उत्पादनमा ठूलो क्षति पुगेको हो ।
कृषि ज्ञान केन्द्र कार्यालय मुस्ताङले जिल्लाका ५ वटै स्थानीय तहका स्याउ किसानहरुको बगैचामा पुगेर गरिएको सर्वेक्षणका आधारमा यो वर्ष मुस्ताङमा स्याउ उत्पादन घटेको तथ्यांक निकालेको हो । कार्यालयले क्रप कटिङ विधि र जिल्लाका स्याउ किसानहरुसँग सोधपुछ गरी स्याउ उत्पादनको तथ्यांक निकालेको हो । त्यसो त यो वर्ष स्याउ बगैंचा व्यवस्थापन तथा स्याउको अनाआवश्यक हाँगाबिगा कटिङ गर्ने र विषादीहरुको समुचित प्रयोग गर्ने समयमा हिमपात नहुँदा पनि मुस्ताङको स्याउ खेतीमा प्रत्यक्ष÷परोक्ष रुपमा असर परेको बताइएको छ ।
गत वर्षको तुलनामा १६२१ दशमलव ५७ टन स्याउ कम फलेको हो, बर्सेनि स्याउ बगैंचाको क्षेत्रफल भने वृद्धि भइरहेको छ
कृषि ज्ञान केन्द्र मुस्ताङले चालु आर्थिक वर्ष कुनै निश्चित क्षेत्रफलमा फरक/फरक विधिबाट स्याउ औसत उत्पादनको मापन गरेको हो । जसअनुसार कार्यालयले गरेको सर्वेक्षण अनुसार यस वर्ष मुस्ताङको थासाङ गाउँपालिकाको १०८ हेक्टर स्याउ उत्पादनशील क्षेत्रबाट ५५१ दशमलव ८८ टन, घरपझोङ गाउँपालिकाको २८२ हेक्टर क्षेत्रफलबाट २४०२ दशमलव ६४ टन, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको १८३ हेक्टर क्षेत्रफलबाट १९२३ दशमलव ३३ टन, लोघेकर दामोदरकुण्ड गाउँपालिकाको १२ हेक्टर क्षेत्रफलमा ९५ टन र लोमान्थाङ गाउँपालिकाको ०.२५ हेक्टर क्षेत्रफलबाट १ दशमलव ९९ हेक्टरमा स्याउ उत्पादन भएको हो ।
मुस्ताङका ५ स्थानीय तहमध्ये सबैभन्दा बढी स्याउ घरपझोङ गाउँपालिकामा उत्पादन भएको छ । सबैभन्दा कम स्याउ उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा छ । यसैगरी घरपझोङपछि बारागुङ मुक्तिक्षेत्र, थासाङ र लोघेकर दामोदरककुण्ड स्याउ उत्पादन गर्नेमा क्रमश ः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।
मुस्ताङमा पछिल्लो समय स्याउ खेतीतर्फ किसानको आकर्षण बढेको छ । यहाँ उत्पादन गरिएको स्याउ ढुवानीको सहजता र व्यापारीले बोटमै किसानको स्याउ ठेक्कामार्फत खरिद गरी लैजाने भएकाले स्याउ खेतीतर्फ किसानको आर्कषण बढेको जोमसोमका किसान अजित थकालीले उल्लेख गरे ।
मुस्ताङमा पुस र माघ महिनामा स्याउ खेती व्यवस्थापन सुरु हुन्छ । यसरी व्यवस्थापन गरिएको स्याउ भदौको अन्तिममा पोस्ट हार्भेस्ट गर्न योग्य हुन्छन् । यहाँ उत्पादन गरिएको स्याउ स्थानीय र जिल्लाबाहिरका व्यापारीले ठेक्का मार्फत बजार पु¥याउँछन् । उत्पादनको करिब २० प्रतिशत स्याउ मुस्ताङमै खपत हुने गरेको छ । मुस्ताङमा प्रति केजी १५० रुपैयाँसम्ममा स्याउ बिक्री भएको थियो ।
विश्वकै चिन्ताको विषय बनेको जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रलाई समेत नकारात्मक प्रभाव पार्दै गईरहेको जानकारहरु बताउँछन् । जलवायुका कारण हिमाली क्षेत्रको तापमान वृद्धि हुनु, हिमालहरु कालापत्थरमा परिणत हुनु, पानी नै नपर्ने मुस्ताङमा पछिल्लो ३० वर्षमा ६ गुणा बढी वर्षा हुनु र असमान प्रकारको हिमपात हुनु लगायत कारणले यहाँको स्याउ खेतीको भविष्यप्रति चिन्ता सुरु भएको छ । तापक्रम वृद्धिसँगै स्याउ खेतीले उकालो बसाई सर्दै जान थालेको, स्याउ बोट स्क्याप लगायत विभिन्न रोग संक्रमण देखा पर्न थालेकाले त्यसको असर स्याउ खेतीमा देखिन थालेको हो ।
मुस्ताङमा बर्सेनि स्याउ बगैंचाको क्षेत्रफल भने वृद्धि भइरहेको छ । कृषि ज्ञान केन्द्र कार्यालय मुस्ताङका अनुसार १४९५ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको हो । गत वर्षसम्ममा १४७५ हेक्टर जमिनमा स्याउ खेती बिस्तार गरिएकोमा यस वर्ष थप २० हेक्टर क्षेत्रफलमा स्याउ खेती बिस्तार भएको हो । मुस्ताङमा खेर गइरहेका बाँझो जग्गा र नदी र शाखा नदीको तटीय खाली जमिनमा स्याउ सामूहिक र व्यक्तिगत रुपमा स्याउ खेती बिस्तार भइरहेको छ ।
कृषि ज्ञान केन्द्र कार्यालयमा झन्डै १५० भन्दा बढी कृषि सहकारी, फार्म, समूह आवद्ध छन् । यसरी दर्ता भई केन्द्रसँग जोडिएका संस्थाहरुलाई विभिन्न तालिम, विषादी, कम्पोस्ट मल र स्याउ विरुवा खरिदमा अनुदान उपलब्ध गराइने गरिएको छ । गण्डकी प्रदेश सरकारले मुस्ताङमा व्यावसायिक स्याउ खेती बिस्तार अन्तर्गत स्याउ विशेष कार्यक्रममा बर्सेनि उच्चघनत्व प्रविधिमा आधारित स्याउ (हाइब्रिड) बिरुवा खरिदमा ७५ प्रतिशत अनुदान दिने गरेको छ । केन्द्रले यहाँ स्याउ ब्लक कार्यक्रम समेत सञ्चालन गर्ने गरेको छ ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को स्वीकृत स्याउ विशेष कार्यक्रम अन्तर्गत मुस्ताङको मार्फा र टुकुचेमा स्याउ संकलन, प्रशोधन, ग्रेडिङ र स्याउले साविक जस्तै ताजा राख्न २ वटा कोल्ड स्टोर (चिस्यान केन्द्र) निर्माण गरिसकेको छ । प्रदेशले त्यहाँ सय/सय टन स्याउ अट्ने कोल्ट स्टोर ८५ प्रतिशत अनुदान दिएर निर्माण गरेको हो । जसका लागत १ कोल्ड स्टोरको १ करोड २५ लाख छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ मुस्ताङले पनि १० टनदेखि २० टनसम्मका स्याउ भण्डार कोल्ड स्टोर निर्माण गरिसकेको छ ।
मुस्ताङमा पर्यटकले सिजनमा मात्र होइन बेमौसममा समेत मुस्ताङको स्याउ चाख्न पाउने वातावरण सिर्जना गर्न र कृषकहरुले बढीभन्दा बढी स्याउबाट आर्थिक लाभ लिन सक्ने हेतुले प्रदेश सरकार तथा संघीय सरकार र स्थानीय तहहरुले कोल्ड स्टोर निर्माणमा जोड दिएका हुन् ।
मुस्ताङमा उन्नत जातका रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस र रिचारेड डेलिसियस स्याउको व्यावसायिक खेती गरिएको पाइन्छ । यसैगरी ५ वर्षअघि भित्रिएको उच्चघनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउ अन्तर्गत गाला, फुजी, गोल्डेन डेलिसियस, किङरोट, रेड डेलिसियस र जोना प्रिन्स जातका स्याउ खेती गरिएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
हिसान स्पोट्र्स मिट : भलिबल र बास्केटबलका खेल सुरु
ओलीको टोलीमा गण्डकीका ४ दर्जन
हाटबजार र कृषि प्रणाली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया