‘बजेटमा दोहोरोपन राेक’

पोखरा ।
गण्डकी प्रदेश समन्वय परिषद्ले दोहोरोपन नहुने गरेर योजना तथा बजेट तर्जुमा गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । संघ, प्रदेश र स्थानीय तहबीच योजनामा बजेट विनियोजन गर्दा सिलिङ तोक्ने व्यवस्था नगर्न पनि परिषदले अनुरोध गरेको छ ।
प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध र सहकार्यका क्षेत्र, नमुना र उपलब्धिको हालसम्मको अध्ययन, अनुसन्धान र समीक्षा गरी सुधारका क्षेत्रहरू पहिचान गर्ने निर्णय परिषदले गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधबार परिषदको बैठक आयोजना गरेको थियो ।
प्रदेशले अहिलेसम्म जग्गाको अधिकार पाएको छैन । त्यसबारे पनि बैठकले संघ सरकारको ध्यानाकर्षण गरेको छ । राष्ट्रिय समन्वय परिषद्को बैठकले भने यसअघि नै प्रदेशलाई जग्गा प्राप्तिको अधिकार दिने निर्णय गरिसकेको छ । त्यसको कार्यान्वनका लागि कानुन संशोधनको माग गर्ने निर्णय बुधबारको प्रदेश समन्वय परिषद बैठकले गरेको छ ।
संघबाट प्रदेश सरकारमा, संघ र प्रदेश सरकारबाट स्थानीय तहमा हस्तान्तरण हुने अनुदानमध्ये ससर्त, समपूरक र विशेष अनुदानको अंश घटाई समानीकरण अनुदानको हिस्सा वृद्धिका लागि प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय योजना आयोगलाई अनुरोध गर्ने, प्रदेश सरकारबाट सञ्चालित योजना तथा कार्यक्रम कार्यान्वयन र अनुगमनका लागि स्थानीय तहसँग समन्वय र सहभागिता हुनेगरी यथोचित संयन्त्रको व्यवस्था गर्ने पनि बैठकले निर्णय गरेको छ ।
प्रदेशले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार र स्रोत दिन गण्डकी सरकार तयार रहेको मुख्यमन्त्रीको भनाइ
बैठकले गण्डकी प्रदेश सरकारबाट सञ्चालन भइरहेको परियोजना बैंकमा प्रदेश र स्थानीय तहका आयोजना तथा कार्यक्रमको प्रविष्टीमा सहजीकरण गरी योजना पद्धतिलाई नतिजामूलक व्यवस्थापन गर्ने, प्रदेश र स्थानीय तहको प्रशासनिक अन्तरसम्बन्धका लागि प्रमुख सचिवको संयोजकत्वमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सम्मिलित प्रदेश प्रशासनिक समन्वय परिषद् गठन गर्ने, प्रदेश र स्थानीय तहको राजस्व तथा प्राकृतिक स्रोतको पहिचान, संकलन, वितरण र उपयोगमा मार्गदर्शनका लागि स्थानीय तहको प्रतिनिधिसहित एकीकृत सहजीकरण संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ ।
नेपालको संविधानको अनुसूचीमा तहगत सरकारका एकल र साझा अधिकार स्पष्ट उल्लेख गरेकामा उल्लिखित एकल अधिकारको कार्यान्वयनमा अर्को तहले हस्तक्षेप होइन, सहजीकरण गर्न बैठकमा सामूहिक प्रतिबद्धता व्यक्त गरिएको छ । राष्ट्रिय समन्वय परिषद्को पोखरामा बसेको प्रथम बैठकबाट पारित निर्णयहरु यथाशीघ्र कार्यान्वयन गर्न बैठकले संघीय सरकारसँग माग गरेको छ ।
कानुनी परामर्शका लागि कानुन अधिकृत/विज्ञको व्यवस्थापनका लागि नेपाल नगरपालिका संघ (गण्डकी प्रदेश) र गाउँपालिका राष्ट्रिय महासंघ (गण्डकी प्रदेशका) सँग परामर्श गरी यसै आर्थिक वर्षमा उपयुक्त व्यवस्था गर्ने भनिएको छ ।
बैठकमा सदस्यहरुले स्थानीय तह, प्रदेश र संघको सहकार्य बिना संघीयता मजबुत नहुने भन्दै संविधानको मर्मअनुसार सहकार्य, सहअस्तित्व र समन्वय हुनुपर्नेमा जोड दिएका थिए । प्रदेश, स्थानीय तह र संघले सञ्चालन गर्ने योजना, बजेट, योजना बैंक, कानुनहरु निर्माण, स्थानीय तहमा देखापरेका समस्याका बारेमा बैठकको छलफल केन्द्रित भएको थियो ।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशबाट स्थानीय सरकारलाई दिनुपर्ने अधिकार र स्रोत दिन प्रदेश सरकार तयार रहेको बताए । उनले स्थानीय सरकारलाई शासन गर्ने इच्छा आफूलाई नभएको बताए । ‘मैले संघ सरकारसँग अधिकार मागिरहेको छु, फेरि म तपाईंहरुलाई दिनुपर्ने अधिकारमा शासन गर्ने मनस्थितिमा छैन, म त्यस्तो चाहन्न,’ उनले भने ।
बैठकमा पाँचौँ बैठकको निर्णय कार्यन्वयनको अवस्था, संघ, प्रदेश र स्थानीय तहका सरकारबिच समन्वय र सहकार्य गर्न गण्डकी प्रदेश सरकारले गरेको प्रयासका बारेमा छलफल भएको छ ।









कांग्रेसमा विशेष महाधिवेशनको दबाब: महामन्त्री थापालाई बुझाइयो स्मरण पत्र, पुस २८ सम्मको समयसीमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया