लामिछाने निर्देशित चित्रा पुस २७ मा प्रदर्शन हुने

समाधान संवाददाता २०८० मंसिर ७ गते ११:१२

पोखरा ।
घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ आउँदा पुस २७ गते प्रदर्शन हुने भएको छ । निर्देशक लामिछानेले बुधबार उक्त जानकारी दिए । फिल्म छायांकन सकेर सम्पादन भइरहेको छ । उनका अनुसार चित्रा बाबुछोरीको कथा हो ।
पछिल्लो समय राजनीतिक विषयवस्तु नेपाली सिनेमामा हाबी भइरहँदा पारिवारिक विषयवस्तु समेटिएको चित्रा दर्शकले रुचाउने विश्वास लामिछानेले व्यक्त गरे ।

Advertisement


एक्सन, ड्रामा र सामाजिक कथामा आधारित सिनेमा हर घरको कथा भएको उनको भनाइ थियो । सन्तोष अधिकारी फिल्मबाट निर्मित चित्रामा अधिकारी स्वयंले मुख्य भूमिकामा अभिनय गरेका छन् । अभिनयमा रुचि भएकाले पनि आपूm सिनेमाको पर्दा मार्फत आउन लागेको उनले बताए । पाँच वर्षदेखि नेपाली फिल्म क्षेत्रमा लगानी गर्दै आएका अधिकारीले आमा, घर लगायत फिल्म निर्माण गरिसकेका छन् ।


‘सिनेमामा अभिनय गर्ने रुचि मेरो पहिलेदेखिको नै हो । व्यावसायिक व्यस्तताका कारण विगतमा मिलेन । निर्माता भएर विस्तारै यो क्षेत्रमा हात हाले । अब अभिनय मार्फत आउँदैछु । सबैको माया पाउनेमा विश्वस्त छु,’ उनले भने ।


निर्देशक लामिछानेले चित्रा चल्ने प्रमुख आधार भनेकै फिल्मको विषयवस्तु भएको बताए । आफूले निर्देशन गरेका यसअघिका फिल्ममा भन्दा मेकिङका हिसाबले पनि चित्रा फरक बनेको उनले उल्लेख गरे । सन्तोष अधिकारीको अभिनयलाई लामिछानेले तारिफ गरे । पोखराबाट पनि काठमाडौंलाई टक्कर दिन सक्ने सिनेमा बनाउन सकिन्छ भन्ने विषयको गतिलो उदाहरण चित्रा बन्ने दाबी लामिछानेको छ ।


कास्कीको घाचोक र पोखरामा छायांकन गरिएको चित्रामा अधिकारी सँगै मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, प्रकाश घिमिरे, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दीपेश गजुरेल लगायत कलाकारको अभिनय छ ।

Advertisement


आशीष थापा मगर चित्राका निर्माता हुन् । सन्तोष अधिकारी कार्यकारी निर्माता छन् । अजय अधिकारीको कथा र मनीष गौतमको पटकथा रहेको फिल्ममा राजनराज शिवाकोटीको संगीत छ । गायिका मिलन अमात्यले गीतमा स्वर भरेकी छन् । चित्राको एक गीत ‘नगर है तानातान, नजरैको हानाहान…’ सार्वजनिक भइसकेको छ । महेश पौडेलले छायांकन गरेको फिल्मको सम्पादन सन्देश शाहले गरिरहेका छन् ।


सन्तोष अधिकारी फिल्म्सको ब्यानर एवं अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको सिनेमाको नेपालभरको वितरणको जिम्मा केदार पराजुली (श्री कृष्ण फिल्म्स) ले लिएका छन् । सिनेमाको अस्ट्रेलियाको अधिकार अविनास रोका मगरले पाएका छन् ।

तपाईको प्रतिक्रिया