छुवाछूत भोगेकी वडा सदस्य मैया भन्छिन्ः न्याय मरेको छैन भन्ने लाग्यो

समाधान संवाददाता २०८० मंसिर ९ गते १०:३८

पोखरा ।
वडाध्यक्षबाट जातीय विभेद तथा छुवाछूत भोगेकी पोखरा २४ की वडा सदस्य मैया नेपालीले विभेदविरुद्ध लडेको १ वर्षपछि न्याय पाएकी छिन् । न्याय माग्दै कास्की जिल्ला अदालत पुगेकी मैयाको पक्षमा फैसला आएको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले वडाध्यक्ष भरतबहादुर अधिकारीलाई साढे ४ महिना कैद फैसला गरेको छ ।

Advertisement


फैसलामा अधिकारीलाई ३ महिना कैद ५० हजार जरिवाना भनिए पनि जनप्रतिनिधि भएकाले ५० प्रतिशत थप सजाय तोकिएको छ । अधिकारीलाई साढे ४ महिना कैद र ७५ हजार जरिवाना र १० हजार पीडितलाई क्षतिपूर्ति दिनुपर्ने अदालतले फैसलामा छ ।


न्यायको याचना गर्दै जिल्ला अदालत पुगेको १ वर्षपछि न्याय पाएपछि मैया नेपालीले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै यो अवधिमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । जातीय छुवाछूत सहिनसक्नु भएपछि अदालत पुगेकी मैयाले पत्रकार सम्मेलनमा भनिन्, ‘यो मेरोमात्र जित होइन । एउटा सिंगो समुदायको जित हो ।’ न्याय पाउँदै गर्दा यो अवधिमा थुप्रै हन्डर ठक्कर खाएको उनको अनुभव थियो ।

यो मेरोमात्र जित होइन । एउटा सिंगो समुदायको जित हो
वडा सदस्य मैया नेपाली


‘न्याय पाउँदै गर्दा अगाडि बढ्दा एक्लै हुन्छु कि भन्ने लागेको थिए । सुरुआती चरणमा मेरा पक्षमा बोलिदिने कोही थिएन् । अदालतमा मुद्दा दर्ता गर्दै गर्दा मेरो पक्षमा बहस गरिदिने मान्छे पनि कोही थिएनन्,’ उनले भनिन्, ‘धन्न १/२ जना दाइहरुले सहयोग गरिदिनुभयो । कतिपय त यस्तो सामान्य कुरालाई अदालतसम्म ल्याउने भनेर मेरो विरुद्धमा पनि लागे तर, म निरन्तर अगाडि बढिरहेकाले नै न्याय पाएकी हुँ । यो फैसलाले अझै न्याय मरेको छैन भन्ने लाग्यो ।’

Advertisement


०७९ पुस १८ गतेको दिन थियो । वडाध्यक्ष अधिकारीले सार्वजनिक कार्यक्रममा उनलाई जातीय विभेदजन्य गालीगलौज गरेका थिए । वडाले लक्षित समूहका लागि छुट्याएको ५ लाख रुपैयाँमध्ये महिलालाई ४ लाख र दलितलाई १ लाख रुपैयाँ विनियोजन गरेको थियो । महिलालाई छुट्याइएको बजेट खर्च गर्न महिला भेला गरेर योजना निर्धारण गर्ने तय गरिएको थियो । पुस १८ मा महिला भेला बोलाइएकामा वडाध्यक्षले एकलौटी रूपमा १ हस्तकला प्रशिक्षकलाई ल्याएर तालिम उदघाटनको नाम दिए । महिला सदस्यले विरोध जनाए । दलित महिला वडा सदस्य नेपालीले विरोध जनाउने क्रममा वडाध्यक्ष अधिकारीले तथानाम गाली गरे ।


‘तँलाई यो विषयमा बोल्ने अधिकार छैन । दलितले पाउने १ लाख छुट्याएको छ । तँ वडा सदस्य भएँ भनेर के फूर्ति गर्छेस्, तेरो हैसियत के हो भन्ने मलाई थाहा छ ,’ उनले वडाध्यक्षका कटू बचन सम्झिइन्, ‘तेरो ३ पुस्तादेखि मेरो घरको जुठोपुरो खाएर काम गरेर बाँचेका हौ । तँलाई महानगरले दिने १५ हजार तलब मैले मेरो घरमा काम गर्ने नोकरलाई दिन्छु ।

तेरो हैसियत म अध्यक्षसँग टक्कर गर्ने होइन । वडामा हुने करोडौं बजेटमा आँखा नलगा । मरेको गाई, भैंसीका सिनो लुछेजस्तो वडाको बजेटलाई लुछ्न नखोज । तिमीहरू कामी, दमाइ, सार्कीको हैसियत भनेको मागेर, थापेर खाने हो । सक्छेस् भने महानगर, प्रदेश र संघबाट बजेट ल्याएर काम गर ।’


मैयाले जातीय दुव्र्यवहार भोगेपछि प्रहरीमा जाहेरी दिएकी थिइन् । पछि अदालतमा मुद्दा पुगेको थियो । वडाध्यक्ष अधिकारी पक्राउ पनि परेका थिए । उनी ०७९ माघ ९ गते १ लाख ५० हजार धरौटीमा छुटेका थिए । जिल्ला अदालत कास्कीले पहिलोपटक ५ दिन र दोस्रो पटक १० दिन गरी २ पटक म्याद थप गरी अनुसन्धान गरिएको थियो । उनलाई पीडित जनप्रतिनिधि नेपालीलाई न्याय दिलाउन उत्पीडित समुदाय संघर्ष समिति कास्की गठन गरिएको थियो । सबै राजनीतिक दलसँग निकट उत्पीडित समुदायका संघ संगठन तथा दलितसँग सम्बन्धित संस्थाले जातीय दुव्र्यवहार जन्य घटनाको विरुद्ध संघर्ष गरेको थियो ।

तपाईको प्रतिक्रिया