दौडमा प्रकाश र सजिना प्रथम

समाधान संवाददाता २०८० मंसिर १० गते १०:२८

पोखरा ।
पोखरा महानगरपालिका वडा नंं. १५ ले शनिबार आयोजना गरेको अन्तर विद्यालय सडक दौड प्रतियोगितामा छात्रतर्फ शुभतारा थ्री एन्जल्सका प्रकाश डाँगी र छात्रातर्फ भ्यु पोइन्ट स्कुलकी सजिना सुनार प्रथम भएका छन् ।

Advertisement

वडाका १५ विद्यालयका करिब २ सय ५० विद्यार्थीले भाग लिएको प्रतियोगितामा छात्रतर्फ केल्स एकेडेमीका देव कुँवर द्वितीय, एसओएस हर्मन माइनरका टिजन बुढामगर तृतीय भए भने गौरव बुढामगर र गणेश भट्टचनले सान्त्वना स्थान प्राप्त गरे । छात्रतर्फ मात्रै करिब १ सय ५० विद्यार्थी सहभागी थिए ।

यस्तै, करिब १ सय छात्रा सहभागी प्रतियोगितामा शुभतारा थ्री एन्जल्सकी अप्सरा विक द्वितीय, सिद्ध माविकी रचना चौधरी तृतीय र सिद्धकै श्रेया थापा र कृतिका भण्डारी सान्त्वना बने । छात्र तथा छात्रा दुवैतर्फ प्रथम हुनेलाई नगद १० हजार, द्वितीयलाई नगद ७ हजार, तृतीयलाई ५ हजार र सान्त्वनालाई २ हजार साथमा मेडल र प्रमाणपत्रले पुरस्कृत गरियो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लाग खेलकुद’ भन्ने नाराका साथ वडा नं. १५ को वडा कार्यालय परिसरबाट प्रतियोगिता सुरु भएको थियो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले वडा नं. १५ खेलकुद गतिवधिमा अग्रपंक्तिमा रहेको बताए । उनले धेरै बजेट खेलकुदमा छुट्याएर विभिन्न प्रतियोगिता गर्दै वडालाई स्वस्थ र युवा, विद्यार्थीमैत्री बनाएकोमा खुसी व्यक्त गरे ।


सांसद बरालले स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा भएकाले यसले स्वस्थ समाजसँगै राष्ट्र निर्माणमा टेवा पुग्ने बताए । वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँले पूर्वाधार विकासमा मात्र सीमित रहेर मानवीय विकास नहुने भन्दै अबको विकास स्वास्थ्य, शिक्षा, खेलकुद, महिला उद्यमशीलता र युवा स्वरोजगारलाई जोडेर लगेमात्र सम्भव हुने सुनाए ।

Advertisement

कार्यक्रमका संयोजक तथा पोखरा १५ का सदस्य आशीष भण्डारीले गत वर्ष पनि संविधान दिवसको अवसर पारेर विद्यार्थीबीच प्रतियोगिता गरेको र अहिले पनि निरन्तरता दिइएको बताए ।

तपाईको प्रतिक्रिया