क्रस कन्ट्रीमा नेपाली धावकको वर्चश्व

समाधान संवाददाता २०८० मंसिर १० गते १८:२२

पोखरा
शनिबार भएको नेपाल–पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगितामा नेपाली धावकको दबदबा देखिएको छ । चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको प्रतियोगितामा टिम इभेन्टको ४० किलोमिटरमा नेपाली टोली च्याम्पियन बनेको छ ।

Advertisement


नेपाली टोलीका सुमन कुलुङ, इन्द्रकला नेम्वाङ र रमेश लिम्बू थिए । टोलीले नगद ३ लाख ६० हजार पाएको छ । नेपालकै श्रेवी महर्जन, मुहेश थारू र वसन्त थारूको टोली द्वितीय बनी २ लाख ८८ हजार पुरस्कार पायो । नेपाली सेनाको श्रीकास राई, तिलक सुनुवार र केशरी थापामगर टोली तृतीय हुँदै २ लाख १६ हजार पुरस्कार पाएको छ ।


लिन सिआक्जी, याङ चुन्हेङ र होउ क्विङ रहेको चिनियाँ टोलीले चौथो बन्दै १ लाख ४४ हजार पाएको छ । ३८ किलोमिटरतर्फको एकल प्रतिस्पर्धामा नेपाली धावक होमलाल श्रीस च्याम्पियन बन्दै १ लाख ४४ हजार पुरस्कार पाए ।
बहादुर सुनुवार द्वितीय, तीर्थ तामाङ तृतीय र करन रावल चौथो बने । उनीहरूले क्रमशः १ लाख ८ हजार, ५४ हजार १८ हजार पाए । छात्र–छात्रा दौड विधामा कुमुदिनी होम्सका छात्र कृष्णबहादुर परियार प्रथम र छोरेपाटन माविकी छात्रा नारायणी भण्डारी प्रथम हुँदै जनही नगद २५ हजार जिते ।


छात्रतर्फ कास्की मोडनाइज्डका तेन्जोन रोकामगर द्वितीय र बादल कार्की तृतीय बने । छात्रातर्फको प्रतिस्पर्धामा मेघराज आधारभूत विद्यालयकी एन्जिला जिटी द्वितीय र तालबाराही माविकी गीता श्रेष्ठ तृतीय भए । दौडको टिम इभेन्टमा नेपालका १० टोली र चीनका तीन टोलीले प्रतिस्पर्धा गरेका थिए । एकल प्रतिस्पर्धामा ७६ जनाले सहभागिता जनाएका थिए । विद्यार्थी दौडमा ४ सय ३० भन्दा बढीको सहभागिता थियो ।


प्रतियोगितामा सहभागी हुन चीनको कुनमिङबाट खेलाडी र अफिसियल गरी ९५ जना चार्टर विमानमार्फत पोखरा आएका छन् । चिनियाँ राजदूत छन सङले प्रतियोगिताले चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उल्लेख गरे । दुई देशको आत्मीयता बढाउँदै पर्यटन प्रवद्र्धन र समृद्धिको यात्रामा सघाउन दौड कोसेढुंगा साबित हुने प्रतियोगिता संयोजक विश्वशङ्कर पालिखे बताउँछन् ।

Advertisement

तपाईको प्रतिक्रिया