स्वर्णिम रास्वपा उपसभापति

समाधान संवाददाता २०८० मंसिर १४ गते ११:०८

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा स्वर्णिम वाग्ले मनोनयन भएका छन् । महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रतिनिधिसभा सदस्य वाग्लेलाई उपसभापति चुनेको हो ।

Advertisement


पार्टी सभापति रवि लामिछानेले वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव गरेका थिए । जसलाई संयुक्त बैठकले पारित गरेको हो । रास्वपाको कोषाध्यक्षमा लीमा अधिकारी मनोनयन भएकी छन् ।


रास्वपा सहमहामन्त्रीमा सांसद सुमना श्रेष्ठ र विपिन आचार्य छन् । सहप्रवक्तामा सांसद मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईं र सहकोषाध्यक्षमा दीपक बोहोरा र बसुमाया तामाङलाई जिम्मेवारी दिइएको छ ।

Advertisement


रास्वपाले २१ सदस्यीय सचिवालय पनि गठन गरेको छ । सचिवालयमा तत्कालका लागि पदाधिकारीसहित संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारलाई थपिएको छ । बाँकी सदस्यपछि थप गर्ने रास्वपाले जनाएको छ ।
बैठकबाट पार्टीको मुख्य राजनीतिक मार्ग टुंगो लगाएको छ । अब रास्वपाको औपचारिक राजनीतिक मार्ग ‘बहुलवादी लोकतान्त्रिक’ हुनेछ । बैठकले पार्टीको मूल दस्तावेजको प्रस्तावना पारित गरेको छ । प्रस्तावनामा रास्वपाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमार्फत नै समावेशी समाज निर्माण गर्ने लक्ष्य लिएको छ ।


‘रास्वपा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो,’ रास्वपाको दस्तावेजमा भनिएको छ, ‘यसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासन मार्फत समन्यायिक समावेशी समाज निर्माण गर्नु हो ।’


लोककल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत–साधनको दीगो परिचालनको नीति लिने रास्वपाको दस्तावेजमा उल्लेख छ । उद्यममैत्री, लगानी अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि स्वच्छ र सुदृढ नियमनकारी संरचना बनाई राष्ट्रिय आय र रोजगारीको विस्तार, श्रमप्रति समर्पित, सामाजिक पुँजीको अभिवृद्धि र जलवायु पर्यावरणीय सन्तुलन कायम राख्न पार्टी प्रतिबद्ध रहेको रास्वपाको दस्तावेजमा छ । रास्वपाले नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मानमा विश्वास गर्ने प्रस्तावनामा लेखेको छ ।

तपाईको प्रतिक्रिया