हिसान कास्की स्पोर्टस मिट सुरु

समाधान संवाददाता २०८० मंसिर १५ गते १२:५१

पोखरा ।
१६ औं हिसान कास्की स्पोर्टस मिट पोखरा रंगशालामा बिहीबारबाट सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

Advertisement


मसिर १७ गते सम्म्म सञ्चालन हुने स्पोर्टस मिट गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले उद्घाटन गरे । उनले स्वास्थ नागरिक उत्पादनका लागि शिक्षासँगै खेलकुदको महत्वपूर्ण भूमिका हुने बताए । पछिल्लो समय खेलकुदका गतिविधि बढेसँगै विश्वविद्यालयले खेलकुद अध्ययन अध्यापनका लागि पहल भएको जनाए ।


प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले सामाजिक विकास र रुपान्तरणका लागि खेलकुदको विकास अपरिहार्य रहने जनाए । हिसान कास्कीका अध्यक्ष यामबहादुर रोक्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा समन्वय समिति कास्की प्रमुख लोकनाथ आचार्य र १६ औं हिसान स्पोर्टस मिटका संयोजक डा रामजी शर्माले शिक्षासँगै खेलकुदको विकास र खेलाडी उत्पादनका लागि यस्ता प्रतियोगिताका ठूलो भूमिका रहने जनाए ।


बिहीबार भएको बास्केटबलको उद्घाटन खेलमा हिल पोइन्टले सोसल पब्लिक स्कुललाई २७–११ ले पराजित गरेको छ । गोर्खा बोर्डिङ स्कुलले ज्योति कुञ्जलाई ११–८ ले, बाल कल्याणले डायमन्डलाई ५३–१० ले, सिर्जनाले पोखरा युनाइटेडलाई ३७–१२ ले, माउन्ट अन्नपूर्णले स्पाइरल ग्यालेक्सीलाई ६४–०५ ले र भास्करले वेलननलाई २४–१८ ले पराजित गरेका छन् । पश्चिमाञ्चल, कास्की मोर्डनाइज्ड, सगरमाथा, टप्स, शिशु निकेतन माविले समेत आ–आफ्ना खेल जितेका छन् ।


बिहीबारै छात्रा भलिबल प्लस टुतर्फ ८ खेल भएका छन् । पहिलो चरणका खेलमा पोखरा आदर्श, केफ, कास्की मोर्डनाइज, प्रतिभा मावि, मदरल्यान्ड, ज्ञानसागर, पश्चिमाञ्चल र टप्स माविले विजयी सुरुवात गरेका छन् । छात्रतर्फ ७ खेल भए । जसमा केफ, सोसल पब्लिक स्कुल, सगरमाथा, पश्चिमाञ्चल, सिर्जना, पोखरा आदर्श र गुरुकुलल विजयी भए ।

Advertisement


प्लस टु छात्र–छात्रातर्फका ब्याडमिन्टन र टेबुल टेनिसका पहिलो चरणका खेल जारी रहेको ब्याडमिन्टन प्रतियोगिताका संयोजक पुरन कुँवरले जानकारी दिए । स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, ब्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुनेछन् । प्रतियोगितामा मावि तह छात्र भलिबलमा २९ र छात्रातर्फ २१ विद्यालयको सहभागिता हुने हिसान कास्कीका अध्यक्ष रोक्काले जानकारी दिए ।


छात्र बास्केटबलमा सर्वाधिक ३७ विद्यालयको सहभागिता छ भने छात्रातर्फ १५ टिम भिड्नेछन् । टेबुल टेनिसतर्फ २८ विद्यालयका करिब ३ सय विद्यार्थीले सिंगल्स र डबल्समा प्रतिस्पर्धा गर्ने छन भने ब्याडमिन्टन छात्र–छात्रातर्फ २४ विद्यालयका ३ सय १२ प्रतिस्पर्धीको सहभागिता छ । विश्वविद्यालयतर्फ बास्केटबलमा ९ शैक्षिक संस्थाले सहभागिता जनाएका छन् ।

तपाईको प्रतिक्रिया