युनिप्स खेल महोत्सव सुरु
पोखरा ।
पाँचौ युनिप्स खेल महोत्सवको बिहीबा औपचारिक उद्घाटन भएको छ । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा २ दिनअघि सुरु भएको महोत्सवको पोखरा रंगशालामा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले उद्घाटन गरे ।
सांसद बरालले शिक्षाको गुणस्तर वृद्धिसँगै विदेशमा हुने पलायन रोक्न सबै सरोकारवालाको भूमिका महत्वपूर्ण हुने बताए । उनले भने, ‘हामीले शिक्षाको विकासको सवालमा आवाज उठाइरहेका छौं ।’ उनले विद्यालय स्तरका प्रतियोगिताले खेलाडी उत्पादनसँगै खेलकुदको विकासमा समेत सकारात्मक प्रभाव पर्ने जनाए ।
युनिप्स कास्की अध्यक्ष शान्तबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, एनप्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारी, युनिप्स कास्की संस्थापक अध्यक्ष ध्रुव गिरी, युनिप्सका द्वितीय उपाध्यक्ष विनोदकुमार नेपाली लगायतले बोलेका थिए ।
उद्घाटन कार्यक्रममा युनिप्स कास्कीका आवद्ध विभिन्न विद्यालयका छात्रछात्राले मार्चपास गरेका थिए । मार्चपासमा स्माइल स्मल हेभेन प्रथम भएको छ भने वेलनन एकेडेमी दोस्रो, जन कल्याणकारी बोर्डिङ स्कुल तेस्रो र कालिका इङलिश बोर्डिङ स्कुल चौथो बने ।
यता, एथलेटिक्सतर्फको ट्रयाक एन्ड फिल्ड छात्र ४ सय मिटर दौडमा कालिकाका आकाश त्रिपाठी, गेफका दिपेश सिंह ठकुरी, होली एन्जलका रोशन वर्देवा र शिलसिलाका सुजन दाहाल क्रमश, पहिलो, दोस्रो, तेस्रो र चौथो भए । छात्रातर्फ ४ सय मिटर दौडमा एकता आवासीयकी बबिता पौडेल प्रथम, कालिकाकी प्रतीक्षा त्रिपाठी द्वितीय, वेलननकी मिनाक्षी कुँवर तृतीय र शिलसिलाकी स्मृति ढकाल चौथो बने ।
महोत्सव अन्तर्गत आधारभूत तह (कक्षा १–५) छात्र/छात्रा कबड्डी अन्तर्गत बिहीबार सबै खेल सकिएका छन् । कबड्डीमा २४ टिमको सहभागिता रहेकोमा छात्रतर्फ पञ्चासे बोर्डिङ स्कुलले पिनाकल एकेडेमीलाई ४६–३५ अंकले पराजित गर्दै प्रथम भएको छ भने एकता आवासीय तेस्रो र स्माइल स्मल हेभेन चौथो बने । छात्रातर्फ वेलननलाई पिनाकलले ४६–३५ को अंकमा पराजित गरी प्रथम हुँदा राइजिङ सन तेस्रो र स्माइल स्मल हेभेनले चौथो स्थानमा चित्त बुझाएका छन् ।
फुटबल मावि तहतर्फ वेलनन र एकता आवासीय मावि फाइनल प्रवेश गरेका छन् । फाइनल खेल १६ गते हुने युनिप्स सचिवालयका संयोजक शिव सुवेदीले जानकारी दिए । प्रतियोगितामा युनिप्समा आवद्ध१८ विद्यालयका ४ हजारभन्दा बढी खेलाडी सहभागी छन् ।
तपाईको प्रतिक्रिया