चिनतिरको ३३ नम्बर सीमा स्तम्भ अनुगमन

समाधान संवाददाता २०८० मंसिर १७ गते १०:५९

जोमसोम ।
मुस्ताङको सशस्त्र प्रहरी बल ३३ नं.गुल्म र गुल्म अन्तर्गत नेचुङमा अवस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)ले नेपाल—चीन ३३ नं. सीमा स्तम्भको अनुगमन गरेको छ । ५ हजार १ सय ७० मिटरमा अवस्थित नेपाल—चीन ३३ नं. सीमा स्तम्भको गत हप्ता चिनियाँ पक्षसँग मिलेर संयुक्त अनुगमन गरिएको हो ।


नेपाल—चीन मुस्ताङ जिल्लासँग जोडिएका १६ सीमा स्तम्भ छन् । जसमध्ये १५ वटा सीमा स्तम्भको पहिचान भए पनि ३३ नं. सीमा स्तम्भ पत्ता लाग्न सकेको थिएन । जोमसोम स्थित नारायण दल गणबाट नेपाली सेनाको पहलमा गत वर्ष चीनसँग जोडिएको ३३ नं. सीमा स्तम्भ खोज्ने कार्य गरिएको थियो । भौगोलिक रुपले अन्त्यन्तै विकट र उचाईमा रहेको ३३नं. सीमा स्तम्भ पत्ता लगाउन सेनाले स्थानीयको सहयोग लिएको थियो ।


त्यसका लागि सेनाले स्थानीय सूचकको आधारमा लोघेकर दामोदरकुण्ड ४ घाराका छिदेधार्जे गुरुङ र पासाङ गुरुङलाई खटाएको थियो । स्थानीय युवा बन्दोबस्तीका सामानसहित घोडा चढेर कठिन उकालो उक्लिदै १२ घण्टा लगाएर ०७९ जेठ ९ गते नेपाल—चीन ३३ नं. सीमा स्तम्भमा पुग्न सफल भएका थिए । यसरी सीमा स्तम्भको पहिचान गरेर फर्किएका उनीहरुले जोमसोम स्थित नेपाली सेनालाई ३३ नंं सीमा स्तम्भको लोकेसनका बारेमा जानकारी गराएका थिए ।

Advertisement


३३ नं. सीमा स्तम्भ २०५४ सालमा निर्माण गरिएको हो । नेपाल—चीन १८ देखि ३२ नं. सीमा स्तम्भ बनेको २३ वर्षपछि ३३ नं. सीमा स्तम्भ बनेको देखिन्छ । उत्तरी चीनसँग मुस्ताङको सीमाना जोडिएका अरु १५ वटा सीमा स्तम्भ २०१९ मा बनेका थिए ।
तर, पछिल्लो समय ३३ नं. सीमा स्तम्भ देखिएको थिएन । गत वर्ष स्थानीय युवाले पत्ता लगाएको ३३ नंं सीमा स्तम्भमा पहिलो पटक नेपाली सेनाको टोलीले ०७९ साउन २३ गते पहिलो पटक अनुगमन गर्‍यो । त्यसपछि सेनाले अनुगमन गरी फर्किएको १५ महिनापछि सशस्त्र प्रहरीको टोली ३३ नं. सीमास्तम्भमा पुगेको हो ।


जोमसोम स्थित सशस्त्र प्रहरी बल ३३ नं. गुल्मका प्रहरी नायब उपरीक्षक विजय हमालले चिनियाँ सुरक्षा अधिकारी र नेपाली सुरक्षा अधिकारीको संयुक्त टोलीले ३३ नं. सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गरेको जानकारी दिए । उनले चिनियाँ भूमीबाट सीमा अनुमन सहज भएकाले उनीहरुसँग मिलेर सीमा स्तम्भ अनुगमन गरिएको बताए ।

Advertisement


नेपाल पक्षबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विजय हमालको नेतृत्वमा ५ जना र चीन पक्षबाट ५ जना गरी १० जनाको टोलीले ३३ नंं सीमा स्तम्भको अनुगमन गरेको हो । ३३ नं. सीमा स्तम्भ अनुगमन सशस्त्र प्रहरीको पहिलो हो । २ अग्ला पठार पहाडको बीचमा ३३ नं. सीमा स्तम्भ छ । चीनले त्यहाँ हावाबाट बिजुली निकालेको भने सीमा निगरानीका लागि टावर निर्माण गरेको छ ।


चीनसँग मुस्ताङको भूगोल जोडिएका सीमा स्तम्भमध्ये १८ देखि २३ सम्म कर्णाली अञ्चलको डोल्पातर्फ पर्छन् भने २५ देखि ३३ नं. सीमा स्तम्भ गण्डकी प्रदेशको मनाङतर्फ पर्ने सशस्त्र प्रहरी नायब उपरीक्षक हमालले उल्लेख गरे । ३३ नंं सीमा स्तम्भको पहिचान हुनुपूर्व तत्कालीन प्रजिअ वेदप्रकाश अर्यालय, हिरादेवी पौडेल र नेत्र शर्माले १८ देखि ३२ नंं सीमा स्तम्भको अनुमगन गरिसकेका थिए ।


कोरला नाका स्थित लोमान्थाङ गाउँपालिका २ छोसरको नेचुङमा सरकारले २०७७मा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको थियो । त्यहाँ सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३५ सुरक्षाकर्मी बस्छन् । त्यहाँ बिओपी भवन निर्माण गर्न २७ रोपनी जग्गा प्राप्ति भएसँगै भवन निर्माण अन्तिम चरणमा छ ।


मुस्ताङसँग सीमाना जोडिएका नेपाल—चीन उत्तरी १६ वटा सीमा स्तम्भको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट नेचुङको जिम्मेवारीमा रहेको बिओपी इन्चार्ज भीमबहादुर क्षेत्रीले जानकारी दिए । यसअघि नेपाल—चीन १६ मध्ये १५ वटा सीमा स्तम्भको अनुगमन भएकोमा यसपटक पहिलो पटक कठिन भूगोलमा अवस्थित ३३ नं. सीमा स्तम्भ पहिलो पटक पुग्न सफल भएको उनले बताए ।


नेचुङमा रहेको बिओपी दस्ताले सीमा स्तम्भको अनुगमन तथा सम्भावित चोरी शिकारी तथा अवैध गतिविधि नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्न योगदान गर्दै आएको छ । हिउँद यामको प्रतिकूल मौसममा समेत सशस्त्र प्रहरीको बिओपी सुरक्षाका लागि निरन्तर खटिने गरेको छ ।

तपाईको प्रतिक्रिया