गण्डकी प्रदेशलाई उपाधि

समाधान संवाददाता २०८० मंसिर १७ गते ११:१५

पोखरा ।
काठमाडौंको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सञ्चालित ४१औँ आइजिपी रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले प्राप्त गरेको छ ।


शुक्रबार भएको फाइनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको टिमलाई १–० गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार र द्वितीय हुने टिमले ५१ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।


प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय टिमका शंकर घर्तीमगर सर्वोत्कृष्ट खेलाडी, गण्डकी प्रदेश प्रहरी कार्यालय टिमका आशिष थारू सर्वाधिक गोलकर्ता र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय टिमले फेयर प्ले अवार्ड प्राप्त गरी जनही १० हजार पुरस्कार प्राप्त गरेका छन् ।

Advertisement


निमित्त प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले विजयी हुने गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा टिमका खेलाडी तथा अफिसियललाई पदक, प्रमाणपत्र, रनिङ कप र नगद पुरस्कार प्रदान गरे । निमित्त प्रहरी महानिरीक्षक राईले प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवम् म्याच रेफ्री, तथा अन्यलाई मायाको चिनो प्रदान गरे ।


सो अवसरमा निमित्त प्रहरी महानिरीक्षक राईले खेलाडीबाट प्रदर्शन भएको अनुशासन, खेल कौशल र सामूहिक भावना नेपाल प्रहरीभित्रको भातृत्वभाव र स्व–अनुशासनको प्रतिविम्ब भएको उल्लेख गर्दै खेलकुदले सिकाउने यस्ता व्यावसायिक गुण र आचारण आत्मसाथ गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए । उनले नेपाल प्रहरीमा खेलकुदलाई अझै सशक्त बनाउन नेपाल प्रहरी खेलकुद समितिबाट सम्भाव्यता खोजी हुने विश्वास व्यक्त गरे ।

Advertisement


नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले फाइनल खेलका म्यान अफ दि म्याचलाई पुरस्कार तथा द्वितीय हुने टिमका खेलाडी तथा अफिसियललाई पदक, प्रमाणपत्र, तथा नगद पुरस्कार प्रदान गरे ।

यही मंसिर ६ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका साथै सातवटै प्रदेश प्रहरी कार्यालयका १० वटा टिमको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया