नयाँ संघीय पर्यटन ऐन र पर्यटकीय राजधानी

सागर श्रेष्ठ २०८० मंसिर १९ गते १२:०६

पोखरालाई पर्यटकीय राजधानी बनाउनका निम्ति तेश्रो पटक अध्ययन समिति गठन भएको छ । प्रदेशका प्रथम मुख्यमन्त्री, नेपाल सरकारकै भूतपूर्व पर्यटनमन्त्री, हालका मुख्यमन्त्री र पोखरा महानगरपालिकाका प्रमुख (मेयर)द्वारा पटक पटक पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिनुपर्ने भनी विभिन्न तहमा विगतमा निर्णय भएकै हुन् । तथापि विगत ८ वर्षदेखि ‘पर्यटकीय राजधानी’को मुद्दा भने ओझेलमा पर्दै आएको छ ।


पुनश्चः यही विषयलाई प्रदेश सरकारको नीति तथा योजना आयोगले अपनत्व लिएको छ । मुख्यमन्त्री अध्यक्ष रहने प्रादेशिक नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा ३० दिने कार्यावधि रहेको अध्ययन समिति बनाइएको छ । प्रदेश र स्थानीय तहमा पोखरालाई पर्यटकीय राजधानी बनाउनका निम्ति भएका कसरत र पहललाई अत्यन्तै स्वागतयोग्य मानिनु पर्दछ ।


यस मुद्दाबारे राष्ट्रिय स्तरमा समेत बहस चलाउनुपर्ने र पोखराको पर्यटकीय साखलाई अझै घनिभूत पार्दै लैजानुपर्ने अपरिहार्यता भईसकेको छ । हाल नेपालमा विद्यमान संघीय पर्यटन ऐनलाई नै आधार मानेर प्रादेशिक पर्यटन ऐन बनेको पाइन्छ । क्यासिनो÷मनोरञ्जन र पर्वतारोहण बाहेकका प्रायःजसो अधिकारलाई प्रदेश ऐनले व्याख्या गरेको पाइन्छ ।

Advertisement


ऐनमा रहेका व्यवस्थाहरु कार्यान्वयन भई जीवन्त हुने आश राख्न सकिन्छ । हाल नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संघीय पर्यटन ऐन २०३५ लाई समयनुकूल बनाउनका निम्ति नयाँ ऐन बनाउँदै गरेको अवस्था छ । गत असार २६ गते मन्त्रिपरिषद्ले ऐन परिमार्जन गरी संघीय पर्यटन विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको थियो ।


यही परिप्रेक्ष्यमा संघीय मन्त्रालयमा नयाँ ऐनको मस्यौदासमेत तयार भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही क्रममा विभिन्न सरोकारवालासँग अन्तरक्रिया तथा छलफलका चलाईरहेको छ । संघीय राजधानी काठमाडौं केन्द्रित यस बहसले भने पोखरालाई भने नसम्झेको देखियो । संघीय ऐनमा काठमाडौँ केन्द्रित पर्यटन व्यवसायीलाई निकै नै महत्वपूर्ण स्थान दिइएको छ ।

Advertisement

संघीय पर्यटन ऐन परिमार्जन हुँदै गर्दा पोखरालाई ‘पर्यटकीय राजधानी’ बनाउन गण्डकी सरकार र पोखरा महानगरले नेतृत्वकारी भूमिका लिने बेला आइसकेको छ


काठमाडौंको पर्यटकीय स्थल ठमेललाई ऐनमा पर्यटकीय नगरी घोषणा गर्नुपर्नेसमेत माग ठमेल पर्यटन विकास परिषद्ले गरेको छ । ठमेलका व्यावसायीको यस मागलाई राष्ट्रिय स्तरका मिडियाले समेत महत्वपूर्ण स्थान दिएको पाइयो । जहाँ काठमाडौँमा नियन्त्रणमुखी पर्यटन ऐनलाई खुकुलो पार्दै लैजाने नीति अख्तियार गर्दै लगिरहेको छ भने गण्डकी प्रदेशमा भने ‘पर्यटन राजधानी’ अझै पनि अध्ययनमा सीमित भएको देखिन्छ ।


त्यसैले, पर्यटन राजधानीको घोषणा यसर्थ संघीय ऐनले नै मार्गनिर्देशन गर्नुपर्ने देखिन्छ । जस्तैः राजनीतिक र प्रशासनिक केन्द्र बस्ने सहरलाई राजधानी भनिन्छ । पर्यटकीय राजधानी हुनमा समेत यस्तै सूचक र मापदण्डहरु तय गरी हालको अध्ययन समितिले संघीय मन्त्रालयको पर्यटन महाशाखा प्रमुखलाई घच्घच्याउन ढिलो भईसकेको छ । पोखरा पर्यटकमात्रको आकर्षण केन्द्र नभई पर्यटकीय लगानी तथा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा पर्यटनसँग सम्बन्धित क्रियाकलापहरु (खेल, संगीत, सहासिक खेल, अन्तर्राष्ट्रिय विमानस्थल)को केन्द्रका रुपमा विकसित भएको प्रमाणित गर्दै पर्यटन राजधानीको मानक पोखरा नै रहेको र भएको भनेर साबित गर्दै संघीय पर्यटन ऐनमा पर्यटकीय राजधानीका बारेमा बोल्न ढिला गर्न नहुने अवस्थामा पोखरा साथै गण्डकी प्रदेशकै सरकारी तथा निजी क्षेत्रहरुको अग्रसरता अहिलेको अपरिहार्यता देखिन्छ ।


नेपालका स्वदेशी तथा विदेशी पर्यटकका लागि पोखरा जानैपर्ने पर्यटनमैत्री नगरका रुपमा विकास भइसकेको छ । पर्यटन पूर्वाधारमा सरकारी लगानीमा अन्तर्राष्ट्रिय विमानस्थल, स्तरीय सडक र निजी क्षेत्रबाट होटल, रेस्टुराँ, मनोरञ्जन तथा पर्यटनसँग सम्बन्धित अन्य क्षेत्रहरुमा समेत लगानी बढ्दै गएको छ । प्रदेशकै समृद्धिका निम्ति आज पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्न जस्तोसुकै मापदण्डमा पनि प्रथम या अगाडि नै रहने पक्का नै छ । त्यसैले, संघीय पर्यटन ऐनलाई समयानुकूल बनाउँदै लैजाने हो भने ‘पर्यटकीय राजधानी’को विषयलाई पेचिलो बनाउँदै गण्डकी प्रदेश सरकार र स्थानीय पालिकाले यस विषयमा नेतृत्वकारी भूमिका निर्वाह गर्ने बेला आईसकेको छ ।


गण्डकी प्रदेश आफैमा ग्रामीण पर्यटन, होमस्टे जस्तो पर्यटकीय अवधारणालाई नेतृत्वकारी भूमिका खेलेको प्रदेश हो । नेपाल कै प्रथम घरवास अथवा होमस्टे यही प्रदेशबाट सुरुवात भएको हुनाले, यस प्रदेशमा पर्यटनका नयाँ आयामहरुलाई शिरोपर गरी मूलधारमा ल्याउन सक्ने ठाउँको रुपमा बुझ्न सक्दछौँ । यही प्रदेशमा पायोनिरिंग भएको घरवास आज नेपालकै ग्रामीण पर्यटनको मेरुदण्डका रुपमा विकास भएर गएको छ । पोखरामा हुने पर्यटकीय क्रियाकलाप– प्याराग्लाईडिंग, बोटींग, हट अएर बलुन आदि– हरु देशैभरी फैलदैँ गएको छ । यसरी, पर्यटकीय राजधानीका रुपमा पोखरा घोषणा गरे पश्चात यहाँ हुने पर्यटकीय लगानी र क्रियाकलापहरु देशव्यापीरुपमै सकारात्मक असर भई फैलदैँजाने र पर्यटनलाई राष्ट्रकै आर्थिक समृद्धि र सम्मुनतिका तर्फ डोर्याउन सफल रहने विश्वास संघ, प्रदेश र स्थानिय सरकार एवम् देशकै सम्पूर्ण निजी क्षेत्र लिन सक्छ ।

तपाईको प्रतिक्रिया