
जोमसोम ।
मुस्ताङ र म्याग्दीको प्रवेश मार्ग थासाङ गाउँपालिका ४ घाँसामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)ले पर्यटक प्रवेश काउन्टर स्थापना गरेको छ । मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकलाई इपी काउन्टरले सहज हुनेछ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकले यसअघि काठमाडौंको भृकुटी मण्डप, लमजुङको बेसी सहर र एक्यापको प्रधान कार्यायल पोखरा ड्यामसाइडको इपी काउन्टरबाट प्रवेश अनुमति लिनु पथ्र्यो ।
यहाँ काउन्टर नहुँदा मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकले घाँसा चेक पोस्टमा दोब्बर प्रवेश शुल्क तिर्नुपर्ने बाध्यता थियो । एक्यापले मुस्ताङ आउने पर्यटकको सुविधाका लागि इपी काउन्टर राख्नुपर्ने आवाज पहिल्यैदेखि मुस्ताङका पर्यटन व्यवसायले उठाउँदै आएका थिए ।
एक्यापले घाँसा एक्याप चेक पोस्टमा इपी काउन्टर खोलेपछि मुस्ताङ प्रवेशका लागि अनुमति लिन छुटेका पर्यटकलाई दोब्बर जरिवाना तिर्नुपर्ने समस्या अन्त्य भएको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मी बताउँछन् । अब मुस्ताङ प्रवेश गर्ने विदेशीले काठमाडौं, लमजुङ र पोखराका इपी काउन्टरबाट प्रवेश अनुमती पत्र लिन छुटे पनि बिना जरिवाना मुस्ताङबाटै प्रवेश अनुमति पत्र पाउने छन् ।
यसअघि मुस्ताङ आउने पर्यटकले अनुमतिपत्र लिन छुट्दा सार्क राष्ट्रका पर्यटकले १ हजारको बदलामा २ हजार र तेस्रो देशका पर्यटकले ३ हजारको बदलामा ६ हजार शुल्क तिर्नुपर्ने बाध्यता थियो । अब मुस्ताङ आउने विदेशीले चाहेमा सिधै एक्यापको घाँसा इपी काउन्टरबाट प्रवेश अनुमती पत्र पाउने छन् । एक्यापले उठाउने गरेको पर्यटन शुल्क वापतको रकम सिधै एनटिएनसीको कोषमा दाखिला हुन्छ । मुस्ताङ प्रवेश गर्ने पर्यटक रोयल्टीबाट १३ करोड हाराहारी रकम संकलन हुन्छ ।
पर्यटक अभिलेख डिजिटल प्रणालीमा
मुस्ताङ आउने विदेशी पर्यटकको अभिलेख डिजिटल प्रणालीमा राखिएको छ । पर्यटकका लागि छिटो, छरितो र भरपर्दो सेवा दिन यसै सातादेखि घाँसा स्थित एक्याप चेक पोस्टमा डिजिटल प्रणालीबाट इन्ट्री गर्ने व्यवस्था मिलाइएको हो ।
एक्याप जोमसोमका कार्यालय प्रमुख रेग्मीले परम्परागत पद्धतिबाट पर्यटकको अभिलेख राख्ने गरिएकोमा हुने सास्ती अब हट्ने जनाए । यो प्रणाली अन्तर्गत मुस्ताङ प्रवेश गर्ने पर्यटकको राहदानी मोवाइलमार्फत रिड गरी आवश्यक जानकारी एक्यापको सफ्टवेयरबाट कम्प्युटरमा दर्ता हुन्छ ।
यसअघि मुस्ताङ प्रवेश गर्ने विदेशीको दर्ता गर्दा कर्मचारी तथा ट्राभल्स इजेन्सीको बदमासीले अनियमिता हुने गरेको गुनासो थियो । एक्यापले हरेक पर्यटकको इन्ट्री गर्ने व्यवस्था मिलाएको छ ।
पर्यटक सूचना बोर्ड स्थापना
घाँसामा पर्यटक लक्षित सूचना बोर्ड राखिएको छ । एक्याप जोमसोम र जिल्ला प्रहरी कार्यालयले संयुक्त रुपमा पर्यटकलाई जानकारी दिन सूचना बोर्ड राखेका हुन् । सो सूचनामा संरक्षण क्षेत्र तथा निषेधित क्षेत्रमा प्रवेश गर्नु पूर्व अनिवार्य प्रवेश अनुमती लिनुपर्ने उल्लेख छ ।
संरक्षिण तथा निषेधित क्षेत्रमा हेलिकोप्टर उडान/अवतरण, फिल्म तथा डकुमेन्ट्री खिच्न र ड्रोन उडाउन गर्न पूर्व अनुमति लिनुपर्ने सूचनामा उल्लेख छ । मुस्ताङमा प्रहरीले आन्तरिक तथा बाह्य पर्यटकले बिना अनुमती प्रयोग गरेका दर्जनौं ड्रोन जफत गरी नागरिक उडयन कार्यालय जोमसोममा बुझाउँदै आएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया