मनाङेलाई मन्त्री नबनाएकोमा माधव नेपालको आक्रोश

पोखरा ।
संघदेखि प्रदेशसम्म गठबन्धन सरकार चलाइरहेका अहिलेका दलमध्ये गण्डकीमा नेकपा (एकीकृत समाजवादी) सरकारमा छैन । गण्डकीमा अहिले नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् । सरकारमा कांग्रेस र माओवादीका मात्र मन्त्री छन् ।
सत्ता साझेदार दलमध्ये गण्डकीमा एकीकृत समाजवादीका पनि १ सांसद छन्ः राजीव गुरुङ(दीपक मनांगे) । अहिलेको सरकार बन्ने ताका उनीसमेत मन्त्री बन्ने चर्चा थियो । स्वतन्त्र उम्मेदवारका रुपमा मनाङबाट चुनाव जितेका मनांगे मन्त्री बन्नै समाजवादी प्रवेश गरेका थिए । तर अहिलेसम्म उनी मन्त्री नियुक्त भएका छैनन् ।
शनिबार पोखरामा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मनांगेलाई मन्त्री नबनाएकोमा आक्रोश व्यक्त गरे । उनले केन्द्रीय सहमति अनुसार मन्त्री बनाउन मुख्यमन्त्रीले आलटाल गरिरहेको आरोप लगाए ।
‘मन्त्री बनाउने सहमति भएकै हो । मुख्यमन्त्रीले अनेक बाहानामा आलटाल गरिरहनुभएको छ । म आज पनि उहाँलाई फोन गर्छु,’ अध्यक्ष नेपालले भने । सांसद मनांगेबाहिर हल्ला आए जस्तो पार्टीमा निस्क्रिय नरहेको उनको भनाइ छ ।
कार्यmक्रममा नेता नेपालले शिशु अवस्थाकै संघीय लोकतान्त्रिक गणतन्त्रमा औंला उठाउनेहरुलाई चुनाव जितेर सत्ता चलाउन चुनौती दिए । धेरै ठूलो त्याग र लगानीले यहाँसम्मको राजनीतिक परिवर्तन भएको उल्लेख गर्दै उनले जनताका छोराछोरी राष्ट्रपति हुने व्यवस्था बदलेर राजतन्त्रको वकालत गर्र्नेहरु अग्रगामी हुनै नसक्ने तर्क गरे ।
समाजवादी प्रेस सङ्गठन कास्कीले शनिबार बिहान पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘हराएका तत्वहरुले अहिले टाउको उठाउन खोजेका छन् । कार्यकारी बन्न खोजेको हो भने चुनाव लड्नुस्, जित्नुस्, प्रधानमन्त्री बन्नुस् । लहडमा राजतन्त्र फर्काउने भन्ने कुराको औचित्य छैन ।’
उनले देशको अर्थतन्त्रमा देखिएको सङ्टका कारण प्रभावित बनेका व्यवसायी र ऋणीलाई सरकारले सहुलियत दिने कार्यक्रम ल्याउनुपर्ने विचार राखे । ऋण लिएपछि तिर्दिनँ भन्नु अराजकता भएको टिप्पणी गर्दै अध्यक्ष नेपालले कठिन अवस्थामा कर्जाको ब्याज कम, पुनस्र्थाचना जस्ता सुविधा भने दिनुपर्ने विचार राखे ।
उत्पादन वृद्धि गर्र्दै युवालाई स्वदेशमै बस्ने वातावरण निर्माण गरिनुपर्नेमा उनको जोड छ । अझै ठोस रुपमा उत्पादन वृद्धिका लागि तीन तहका सरकारले काम गर्न नसकेको र सोही कारण जनतामा वितृष्णा आएको उनको भनाइ छ । ‘उत्पादन वृद्धि र बजारीकरण स्थानीय, प्रदेश र संघ सरकारको ध्यान गएन,’ उहाँले भन्नुभयो ।
एकीकृत समाजवादी पार्टी स्थापनको २ वर्षमै फरक पहिचानको पार्टीका रुपमा स्थापित भइसकेको उनको दाबी छ । समाजवादीले सातै प्रदेशलाई जोड्न, जनता समस्या सुन्न र आफ्ना एजेन्डा बुझाउन मेची महाकाली अभियान चलाएको उनले सुनाए ।
रोजगारी, सुशासन र समृद्धिलाई मुख्य लक्ष्य ठानेरअघि बढेको जनाउँदै उनले कृषिलाई अर्थतन्त्रको आधारशीला बनाउन अनुसन्धान, लगानी र बजारिकणको ठोस योजना चाहिने उल्लेख गरे ।
संघमा रहेको अहिलेको गठबन्धन पाँचै वर्ष टिक्ने उनको भनाइ छ । ‘हामी अग्रगामी शक्तिहरुको गठबन्धन पाँचै वर्ष टिक्छ, त्यसलाई कसैले हल्लाउन सक्दैन,’ अध्यक्ष नेपालले भने । आफू पद र अवसरका लागि नलागेको तर्क गर्दै त्यसरी बिना आधार हुने टिप्पणीले लोकतन्त्रलाई नै कमजोर बनाउने सुनाए ।
ललिता निवासको जग्गामा आफ्नो नेतृत्वको सरकारले कुनै कमजोरी नगरेको दाबी गर्दै उनले वालुवाटारको जग्गा आफ्नै पालामा सरकारको नाममा स्रेस्ता कायम भएको उल्लेख गरे । एनसेलमा अहिले स्वामित्व हस्तान्तरणका नाममा अनियमितता भएको उनको आरोप छ । नेपालले भने, ‘एनसेलमा नाङ्गो डकैती भएको छ । यसको निष्पक्ष छानबिन हुनुपर्छ ।’
वैदेशिक लगानीलाई प्रोत्साहित गर्नुपर्ने तर अराजकता र अनियमितता सैह्य नहुने उनको भनाइ छ । मेची महाकाली यात्रा चलाएर पार्टी जनतासँग जोडिएको उनले जनाए । एमालेको संकल्प यात्राबारे सोधिएको प्रश्नमा उनले अरुलाई गाली गर्नुभन्दा अहिलेको एनसेल कान्डबारे धारणा सार्वजनिक गर्न एमालेलाई आग्रह गरे ।
तपाईको प्रतिक्रिया