२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साता

समाधान संवाददाता २०८० मंसिर २४ गते ११:३०

पोखरा ।
सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा बर्सेनि आयोजित फुटबल प्रतियोगिता आगामी माघ दोस्रो साता हुने भएको छ । यसपालि हुने २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको तयारीमा यतिखेर आयोजक लागिपरेको छ ।


‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यद्वारा अभिप्रेरित हुँदै सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, विभागीय टिमहरु, सुपर लिगका टिम, विदेशी टिम, मोफसलको टिमसहित आयोजकका टिमले भाग लिने छन् ।


प्रतियोगितालाई सधैं झैं हिमश्री फुड्स प्रालिले मुख्य प्रायोजन गरेको छ । साथै पोखरा महानगरपालिकाको प्रवद्र्धन, राष्ट्रिय खेलकुन परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, कास्की जिल्ला फुटबल संघ, सहारा युके, सहारा हङकङ, सहारा अस्ट्रेलिया समेतको विशेष सहयोग रहने छ । लुम्बिनी विकास बैंक अफिसियल बैंक छ भने बुद्ध एयर अफिसियल एयरलायन्स हो ।

Advertisement


प्रतियोगिताबाट बचत रकम क्लबद्वारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु आश्रित सूर्यबहादुर केसी मेमोरियल फुटबल एकेडेमीका बालकहरुको निःशुल्क शिक्षादीक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने छ । यसको अतिरिक्त पर्यटकीय सहर पोखरालाई स्पोर्टस् हब सिटीको रुपमा विकास गर्दै पर्यटन प्रबद्र्धनमा टेवा पुर्‍याउनुको साथै पोखरालाई अन्तर्राष्ट्रियरुपमा परिचित गराउनु यस प्रतियोगिताको उद्देश्य हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित यो फुटबल प्रतियोगिताले नवप्रतिभावान फुटबल खेलाडीहरुको अन्तरनिहित फुटबल खेलकौशल प्रदर्शन गर्ने उचित अवसर प्रदान गर्नेछ । गत संस्करणको विजेता संकटा क्लब काठमाडौं तथा उपविजेता भुटनिज युथ स्पोर्टस् क्लब, मिनिसोटा, अमेरिका हो ।

Advertisement

तपाईको प्रतिक्रिया