अपांगता भएकाहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार

जमुना वर्षा शर्मा २०८० मंसिर २४ गते १२:२०

यौन र प्रजनन स्वास्थ्य विश्वव्यापी अधिकारको एक महत्वपूर्ण तत्व हो । मानव अधिकारको मापदण्ड अनुसार हरेक राज्यले हरेक व्यक्तिको यौन र प्रजनन् स्वास्थ्य अधिकारको ईज्जत, संरक्षण र पूर्ति गर्नुपर्छ ।

Advertisement


हरेक व्यक्तिले आफ्नो स्वास्थ्य सुधारसँग सम्बन्धित कार्यक्रमहरूमा सहभागी हुन पाउनदेखि लिएर बच्चा जन्माउने वा नजन्माउने/कहिले जन्माउने र शिशुको जन्म भइसकेपछि उचित पालनपोषण कसरी गर्ने, त्यस सम्बन्धी आवश्यक जानकारी र उचित शिक्षा पाउनुपर्छ । जसलाई मानव अधिकार विश्वव्यापी घोषणापत्र र अन्य मानव अधिकारका सम्मेलन, घोषणा तथा सहमतिहरूमा प्रतिष्थापित गरिएका छन् । त्यसैगरी नेपालको संविधानको धारा ३८ (२) ‘प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुनेछ’ भनिएको छ ।


विश्व स्वास्थ्य संगठनका अनुसार प्रजनन स्वास्थ्य भन्नाले मानिसको प्रजनन् प्रणाली प्रजनन अंगहरुको स्वास्थ्य, प्रजनन यौन सम्बन्धी सम्पूर्ण विषयहरु भन्ने बुझाउँछ । यौन तथा प्रजनन स्वास्थ्यले केवल शारीरिक सम्बन्ध वा बच्चाको जन्मसँग मात्र सम्बन्ध राख्दैन । यसले परिवार नियोजन, पाठेघर खस्ने समस्या, नवजात शिशुको हेर विचार, किशोर किशोरीहरुको स्वास्थ्य, मातृ स्वास्थ्य लगायत बृहत विषय समेटदछ । हरेक नागरिकलाई आफ्नो यौन स्वास्थ्यको रक्षा गर्ने, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी विषयमा सूचना तथा जानकारी पाउने अधिकार छ ।


हाम्रो समाजमा यौन तथा प्रजनन स्वास्थ्यका विषयमा अझै पनि खुला बहस र छलफल हुन सकेको छैन । यो एउटा गोप्य राख्नुपर्ने विषयको रुपमा हेरिन्छ । यो सवाल आम महिलामा त सहज बन्न सकेको छैन भने अपांगता भएकाहरुमा स्थान पाउन पक्कै सहज छैन । अपांगता भएकाहरुप्रति हेर्ने दृष्टिकोण केही बदलिए पनि उनीहरूलाई यौन प्राणीको रूपमा उदार तरिकाले हेर्न सकेको पाइँदैन ।


केही समयअघि प्रजनन स्वास्थ्य सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा अपांगता भएकाहरु पूर्णतया मानव वा समान यौन चाहना र क्षमता भएका व्यक्तिहरू हुन् र उनीहरुमा पनि यौन तथा प्रजनन क्षमता हुन्छ भन्ने कुरालाई सामाजिक दृष्टिकोणबाट नहेरिएको एक सहभागीले राख्नुभएको थियो ।

Advertisement


अपांगता भएकाहरुको यौनिकतासँग सम्बन्धित विषयले खासै स्थान नपाउने र कहीँ कतै विषय उठान भए पनि व्यत्तिगत कुरा जोडेर व्यङ्ग्य गर्ने यौन चाहना बढेछ भन्ने र अविवाहित महिलाले कुरा उठाए विवाहको चाहना देखियो भनेर होच्याउने गरेको ती सहभागीको भनाइ थियो । अन्य कसैको जस्तै यौन र प्रजनन स्वास्थ्य को आवश्यकता भए तापनि अपांगता भएका व्यक्तिहरूले अक्सर कलंक, भेदभाव र अवरोधहरूको सामना गर्ने गरेको र जसका कारण एसआरएच जानकारी र सेवाको पहुँचबाट रोक्ने गरेको अनुभव उहाँले सुनाउनुभएको थियो ।

अपांगता भएका र नभएका मानिसहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सेवाको आवश्यकता उस्तै भए पनि अपांगता भएकाहरुमा सेवाको पहुँच तथा उपयोग कम हुने देखिन्छ


अपांगता भएका व्यक्तिहरु विभिन्न अवस्था शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रिय सम्बन्धी अशक्तता र त्यसबाट सिर्जित अवस्थाका कारणले सामाजिक जीवनमा विभिन्न कठिनाइहरुको सामाना गरिरहनुपरेको हुन्छ । नेपाल केन्द्रीय तथ्यांक विभाग, २०२१ का अनुसार जनगणना अनुसार नेपालमा कुल जनसंख्याको २ प्रतिशत मानिसहरुमा कुनै न कुनै किसिमको अपांगता रहेको देखिन्छ । कुल अपांगता भएका मानिसहरुमध्ये ३७ प्रतिशत मानिसहरुमा शारीरिक अपांगता, २२ प्रतिशतमा दृष्टि सम्बन्धी, १६ प्रतिशतमा कान नसुन्ने समस्या, २ प्रतिशत मा आँखा र कान दुवैसम्बन्धी, ६ प्रतिशतमा बोली सम्बन्धी, ९ प्रतिशतमा बहुअपांगता, ४ प्रतिशतमा मनोसामाजिक, २ प्रतिशतमा बौद्धिक अपांगता र बाँकी ३ प्रतिशत मानिसहरुमा अन्य किसिमको अपांगता रहेको पाइएको छ ।


अपांगता भएका व्यक्तिहरुका लागि गर्भवती हुनु तथा मातृत्वको अवस्था वा आमा हुनु आफैमा कठिन कार्य हो । तर उपयुक्त तयारी तथा सबैको सहयोग प्राप्त भएमा यो अवस्था सहज पार गर्न सकिने बताउनुहुन्छ नेपाल अपांग महिला संघ कास्कीका अध्यक्ष मञ्जु न्यौपाने, ‘म पनि अपांगता महिला हो, मेरो एक बच्चा छ, परिवारको साथ र यौन तथा प्रजनन स्वास्थ्य प्रति सचेत र सजक हुने हो भने यो एउटा स्वस्थ जीवनको सुन्दर पक्ष हो’ उहाँले अपांगता भएकाहरुको यौन तथा प्रजनन अवस्थाको बारेमा समाज अनुदार भएको र यौन चाहानाको कुरा गर्दा थप नकारात्मक कुराहरुको सामना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अपांगता र अक्षमतालाई जोडेर हेर्ने प्रवृत्ति छ, अपांगता भएकाहरुको यौनिकतालाई असम्बन्धित विषय ठानिन्छ ।’


‘अपांगता भएका किशोरी महिला निरन्तर यौन हिंसाको सिकार भएका छन् यस डरलाग्दो अवस्था बलात्कार र अनइच्छित गर्भाधान रोक्न घरपरिवारले परामर्शविना नै गर्भनिरोधक साधनहरू लगाइदिने, पाठेघर फालिदिने वा जबरजस्ती बन्ध्याकरण गरिदिने जस्ता कार्य गर्न बाध्य भएका छन्, यसले समाधान भन्दा पनि गलत नियतले कुकर्म गरिरहनेलाई अपांगता भएका माथि निरन्तर यौनहिंसा गर्न बल पुग्न जान्छ । यो तर्फ पनि गम्भिर भएर सोच्नुपर्छ,’ न्यौपाने भन्नुहुन्छ ।


अपांगता भएका व्यक्तिहरूलाई पनि अरु मानिसहरु जस्तै आफ्नो शरीर, यौन सम्बन्ध, यौनिकता र यौन स्वास्थ्यका बारेमा जानकारी प्राप्त गर्ने र आवश्यकता अनुसार गुणस्तरीय सेवा लिन पाउने अधिकार नीतिगत तथा कानुनी रुपमा सुरक्षित हुनुपर्ने बताउनुहुन्छ अधिकारकर्मी उषा बरुवाल, ‘अपांगता भएका र नभएका मानिसहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सेवाको आवश्यकता उस्तै भए पनि अपांगता भएकाहरुमा सेवाको पहुँच तथा उपयोग कम हुने देखिन्छ, अर्कोतर्फ अपांगता भएका व्यक्तिहरु तुलनात्मक रुपमा अन्य सेवाग्राहीहरु भन्दा यौन हिंसाको समेत जोखिममा पर्ने गरेकाले पनि यौन तथा प्रजनन स्वास्थ्य शिक्षा अति नै आवश्यक पर्दछ ।’ उहाँले अपांगता भएका व्यक्तिहरुलाई पनि अरु मानिस जस्तै यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यकता, चाहना तथा सिमाहरुको बारेमा खुलेर सञ्चार गर्न सशक्त बनाउन सक्यो भने उनीहरुलाई सम्मानजनक ढंगले जीवनयापन गर्न सहयोग पुग्ने उहाँको विश्वास छ ।


अपांगता भएका व्यक्तिहरुलाई सम्मान तथा आदरभावले हेरेर सबैलाई आवश्यक सेवा तथा सूचना प्रदान गर्नु जरुरी रहेको बताउनुहुुुन्छ पत्रकार एवं अधिवक्ता दुर्गा भण्डारी । ‘आवश्यकता अनुसार आफ्नो यौन स्वास्थ्य सम्बन्धी निर्णय गर्न, यौन शोषण वा दुरुपयोग विरुद्ध कदम चाल्न, जबरजस्ती करणी, यौन तथा प्रजनन स्वास्थ्य अधिकारको प्रयोग गर्ने जस्ता कानुनी र नैतिक पाटोहरुको बारेमा खुलेर कुरा गर्न यस वर्गका महिलालाई जागरुक बनाउनुपर्छ ।’


अन्य महिला भन्दा अपांगता भएका महिलाहरुलाई यौन तथा प्रजनन स्वास्थ्यको अवस्था र अधिकारको सवालमा सरोकारवाला निकाय पनि खुलेर बहस र छलफल मैत्रीपूर्ण व्यवहारमा केन्द्रित हुन नसकेको उहाँको बुझाइ छ । ‘एक त समग्र महिलाले यौन तथा प्रजनन स्वास्थ्यलाई आफ्नो अधिकार ठान्न सकेका छैनन, त्यसमाथि अपांगता भएका महिलाका सवालले सहज प्रवेश पाउँदैन, अधिकारमुखी दृष्टिकोणबाट यी विषय हेरिनुपर्छ र सरोकारवाल निकायले विशेष ध्यान दिनुपर्छ,’ भण्डारी भन्नुहुन्छ ।


अपांगता भएकाहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार स्थापित गर्न हरेक प्रजनन उमेरका व्यक्तिलाई गर्भनिरोधक साधन वा विधिबारेमा आवश्यक जानकारी हुनुपर्दछ । दक्ष सेवा प्रदायकको उपलब्धता तथा अन्य सुविधाहरुलाई ध्यान दिँदै अपांगता भएका व्यक्तिसम्म गर्भवती, प्रसूति र सुत्केरी स्याहारसम्बन्धी शिक्षा तथा सूचनाको पहुँच सुनिश्चित गर्न आवश्यक श्रब्य दृश्य सामग्रीहरुको व्यवस्था गर्न सकियो भने अपांगता भएकाहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न सघाउ पुग्नेछ ।

जमुना वर्षा शर्मा

डेढ दसकदेखि पोखरामा क्रियाशील पत्रकार शर्मा राष्ट्रिय समाचार समितिमा आवद्ध छिन् 

तपाईको प्रतिक्रिया