शतबिज छर्न हरिहर मन्दिर

दिनेश बस्नेत २०८० मंसिर २४ गते १२:३४

अन्नपूर्ण हिमश्रृङ्खलाको सामिप्यमा, वनजंगल, फाँट, नदीनाला जस्ता प्राकृतिक सम्पदाको धनी पोखरा २० भलामलाई चिनाउने अनेक सम्पदा छन् । यद्यपि भलामको मुख्य आकर्षण भने यहाँको हरिहर गुफा हो । यो मन्दिर अर्थात् यस हरिहर गुफा सन्यास आश्रम समुन्द्र सतहदेखि १३०० मिटरमा छ । यो वरिपरीका सुन्दर दृश्य हेर्दा आँखा अघाउँदैनन् । फेरि अर्काेपल्ट आउने प्रण मनले गर्छ ।


चाहे दर्शनका लागि आएका भक्तजन हुन् वा अवलोकनका लागि आएका पर्यटक, तिनीहरुलाई यो ठाउँ स्वर्ग जस्तै लाग्छ । प्रकृति र अध्यात्मको उचित समायोजन भएझै लाग्छ । आश्रमका पीठाधीश अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले यो आश्रमलाई भू–स्वर्गको उपमा दिनु भएको छ । जुन तर्कससम्मत लाग्छ । प्रसिद्ध पञ्चजुना अखडा (भारत) का विख्यात स्वामी श्री १००८ दिगम्बर बाबाका वरद शिष्य श्री १०८ स्वामी अम्बर गिरीजी महाराज यस आश्रमका संस्थापक हुनुहुन्छ ।

उहाँले यस स्थानलाई आश्रमका लागि उपयुक्त ठान्नुभयो । अनि वैदिक विधिपूर्वक धार्मिक एकताको प्रतीक श्री हरिहर भगवानलाई इष्टदेवका रुपमा स्थापना गर्नु भयो । यहाँ हरिहर भगवानसहित पञ्चमुखी हनुमान, श्री गणेश, अम्बरेश्वर शिवालय र यज्ञशाला पनि छन् । नित्य पूजा, हवन हुन्छ । उत्तराधिकारी शिष्य परम्परा बमोजिम सञ्चालन हुने यस आश्रम १८ औं शताब्दीको अन्ततिर स्थापना भएको अनुमान गरिन्छ ।

Advertisement


आश्रमले वैधानिक मान्यता भने अलि पछि पाएको देखिन्छ । वि.सं. १९०६ वैशाख शुक्ल सप्तमीमा श्री ३ जंगबहादुर राणाबाट पाएको सनद पत्रबाट जाहेर हुन्छ । इष्टदेव श्री हरिहर भगवानको पूजा, आराधना गर्नु, मन्दिर वरिपरीको वन गुल्जार गर्नु, श्री ५ को सरकारको जय मनाउनु आदि अदल सनदपत्रमा तोकिएको छ ।


संस्थापक अम्बर गिरीपश्चात उहाँका शिष्य केशव गिरी र सहदेव गिरीले उत्तराधिकारी परम्परा चलाउनु भयो । सहदेव गिरी ब्रह्मलीन भएपछि हरदेव गिरी र देव गिरीले मन्दिर सञ्चालन गर्नु भयो । देव गिरीपश्चात उत्तराधिकारी परम्परामा अड्चन आयो । अर्थात् वैदिक सनातनिक संस्कारलाई अनुशरण र अनुपालन नगरी गृहस्थ जीवन व्यतीत गर्न थालेपछि शिष्य परम्परा बिथोलियो । वि.सं. २०२९ सालदेखि २०३५ सालसम्म आश्रम श्री विहीन रह्यो ।

Advertisement

इतिहास बोकेको यो मन्दिर कता कता नजिकको तीर्थ हेला जस्तो भएको छ । यो भूस्वर्गको यथोचित मात्रामा प्रचार भएको छैन ।


२०३६ को शिवरात्रीमा श्री धर्मदत्त वानप्रस्थी यहाँ आउनु भयो । उहाँ यहाँ आउनुभन्दा पहिला दमौली पराशर आश्रममा हुनुहुन्थ्यो । उहाँलाई यस आश्रमसम्म ल्याउन पे्ररित गर्ने प्रेमजंग खत्री, नेत्रबहादुर बस्नेत र तेजबहादुर गौतम भएको धर्मानन्द स्वामीद्वारा लिखित कविता संग्रह गरु– ज्ञानमृत मा उल्लेख छ । उहाँको आगमनले निम्न लागेको दीयोमा तेल तेल थपियो । आश्रममा नित्य नैमित्तिक पूजा चल्यो ।


यस आश्रमको जगेर्ना र विकासमा तथा हरिहर मन्दिर नै सनातन हिन्दू धर्मको धरोहर हो भनेर जनमानसमा सुझाउन माधवप्रसाद पौडेल, त्रिलोचन पौडेल (हाल १०८ स्वामी तुरियान्द गिरीज्यू) र विष्णुबहादुर खत्रीको विशेष योगदान छ ।
यस मन्दिर तथा आश्रमलाई चिरस्थायी बनाउन स्थानीय सामाजिक व्यक्तित्वबाट अक्षुण्ण चिन्ता र चासो रहेको पाइन्छ । २०४६ मा लोकबहादुर खत्रीको अध्यक्षतामा हरिहर गुफा सेवा समिति बन्यो । यस समितिले आश्रमको विकास हेतु केही काम गर्‍यो ।

हरिहर गुफा सेवा समितिलाई केही परिमार्जित गर्न सके संस्थाको हित हुने ठहर भयो । तद्नुरुप हरिहर गुफा सेवा समितिले २०५८ असोज १३ गतेका साधारणसभा बोलाई ऐतिहासिक निर्णय गरियो । श्री गलेश्वर आश्रम देवघाट धामका पीठाधीश अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजलाई यस आश्रमको पीठाधीशमा विराजमान गराइयो ।


अहिले देश, विदेशमा यो मन्दिरको चर्चा भएको छ । भक्तजन एवं पर्यटक आउन थालेका छन् । पीठाधीशको कुशल सञ्चालन र सत्प्रेरणाले आश्रममा खासै अभाव देखिँदैन । खानेपानी, पाहुनाघर, पाकशाला, वृद्धाश्रमको उचित व्यवस्था छ । भौतिक रुपमा पनि आश्रमको विकास भएको देखिन्छ । केही विकासका पूर्वाधार बनेमा धार्मिक पर्यटन भित्र्याउने उद्देश्य सहज बन्नेछ ।
आश्रम ७७ रोपनीमा फैलिएको छ । देश, विदेशमा सुपरिचित साधु, सन्त एवं राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यक्तित्व यहाँ आएका छन् ।

आश्रमको मुख्य सम्पत्ति नै यसले आगटेको जमिन हो । त्यसका अलवा बल्लभा उपाध्याय पौडेलले दान गर्नु भएको १–१४–२ रोपनी र लेप्टन टेकबहादुर खत्रीले दान गर्नु भएको १–४–० रोपनी जग्गा भलाम फाँटमा छ । यहाँ तीजको श्री पञ्चमी, हनुमान जयन्ती, शिवरात्री र बालाचर्तुदशीमा विशेष मेला लाग्ने गर्दछ । अझ बालाचर्तुदशीमा त शतबिज छर्ने भक्तजनको घुइँचो हुने गर्दछ । २०३९ देखि सतबिजारोपण सुरु भएको भए पनि बालाचर्तुदशीका दिन सतबिज छर्ने भक्तजनको उपस्थितिले पशुपतिनाथ मन्दिरको झल्को दिलाउँछ । सगसँगै हात हिँडेका साथी अर्थात हात समातेर हिँडेका बालबच्चा छुटेपछि केही क्षण मेलामा हराउँछन् । अनि फेरि भेटिन्छन् । यस्ता घटना बालाचर्तुदशीमा बर्सेनि हुन्छन् ।


बालाचर्तुदशीको अर्काे रोचक र आकर्षक पक्ष गाउँबाट ल्याइने फूलको तोरण–डोली हो । बाबियाको लठ्ठा बाटी, लठ्ठामा फूल उनेको हत्तेउरी मिलाएर, बेरेर डोलीमा सजाइन्छ र डोली बोकेर हरिहर मन्दिरमा पुर्‍याइन्छ । डोली गह्राैँ भए पनि, बाटो उकालो भए पनि बडो निष्ठा र आस्थापूर्वक युवाहरु डोली बोक्न अग्रसर हुन्छन् । आलोपालो बोकेर नबिसाइकन मन्दिरसम्म पुर्‍याउँछन् । डोलीसँगसँगै भजन टोली भजन गाउँदै हिड्छन् ।


आजकल पञ्जेबाजा पनि सँगसँगै बजाउने गरिन्छ । यस दिन यहाँ बडो रोचक र रमाइलो हुने गर्छ । मन्दिरमा डोली पुगेपछि फूलको डोलीमा फुल, पैसा, चढाउने र ढोग्ने मान्छेको भिड लाग्ने गर्दछ । भिड छिचोलेर तोरण मन्दिर परिसर घुमाएर टाङ्न युवालाई हम्मेहम्मे पर्छ ।


मन्दिरमा फूलको डोली लान समितिसँग पहिने नै अनुमति लिने प्रचलन छ । पोखरासँग जोडिए पनि भलाम अलि पिछडिएको छ । तर हरिहर सन्यास आश्रममा आउने बाटाहरु सजिला छन् । पैदल हिँड्नका लागि सिँढी छ । सवारी साधन लिएर आउने भक्तजन एवं पर्यटकका लागि केआइसिङ पुल हुँदै बाटुलेचौरबाट आउन सकिन्छ । मनिपाल हस्पिटलबाट आउँदा पनि कुनै कठिनाई छैन । हरिहर सन्यास आश्रमसम्म सवारी पुग्छन् ।


तथापि इतिहास बोकेको यो मन्दिर कता कता नजिकको तीर्थ हेला जस्तो भएको छ । यो भूस्वर्गको यथोचित मात्रामा प्रचार भएको छैन । सम्बन्धित निकायबाट यथेष्ट मात्रामा चासो दिइएमा यसलार्य गण्डकी प्रदेशको पशुपतिनाथ जस्तै रुपमा विकास गर्न सकिने सम्भावना देखिन्छन् ।

तपाईको प्रतिक्रिया