घार्मीको ओमकारेश्वरमा बाला चतुर्दशी मनाइने

समाधान संवाददाता २०८० मंसिर २४ गते १४:१२

पोखरा ।
पोखराको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल घार्मीमा बाला चतुर्दशी पर्व मनाइने भएको छ । घार्मी स्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा यस वर्ष पनि मंसिर २५ गते सोमबारका दिन बाला चतुर्दशी पर्व मनाउने र सतबिज छर्ने तयारी अन्तिम चरणमा पुगेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज पौडेलले जानकारी दिए ।

Advertisement


पर्वलाई लक्ष्य गरी मन्दिरमा रङरोगन गर्ने तथा परिसर सरसफाइ गरिएको समितिका कोषाध्यक्ष तेजेन्द्र पौडेलले बताए । स्थानीय राम्चे निवासी हिमलाल पौडेलको घरबाट विधिपूर्वक पूजाआजा गरी फुलको डोली निकालिने र उक्त डोली विभिन्न भागमा परिक्रमा गरेर मन्दिर परिसरमा पुर्‍याउने र दिनभर बाजा गाजासहित भजनकीर्तन गर्ने तयारी भइरहेको बताइएको छ ।


घार्मीमा सतबिज छर्न त्यस क्षेत्रसहित आसपासका अर्मला, कुरेचौर, हरिपाउ, पुरून्चौर, हेम्जा, लामाचौर, बाटुलेचौर लगायत क्षेत्रबाट श्रद्धालुहरू त्यहाँ पुग्ने गरेको स्थानीय नमराज पौडेलले जानकारी दिए । पछिल्लो समय विभिन्न व्यक्ति र संघ संस्थाहरुको सहयोगले मन्दिरलाई व्यवस्थित बनाइएको र बिहान बेलुका नियमित रुपमा पूजाआजा गरिन्छ ।


पोखराको दृशयसहित मनोरम अन्नपूर्ण हिमशृंखलाको दृश्य हेर्न सकिने उक्त क्षेत्रमा दिनहुँ सयौं पर्यटक पुग्ने गरेका छन् । मन्दिर स्थापनादेखि नै बाला चतुर्दशी पर्व तथा शिवरात्री पर्व विशेष रूपमा मनाउने गरिएको छ । शुद्ध भई चोखोनितो गरी त्यस दिन सतबिज छर्नाले पितृहरूको उद्धार हुने भनाइ रहेको पाइन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया