मानव अधिकार दिवसमा रक्तदान
पोखरा ।
७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा ‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ भन्ने नाराका साथ मानव अधिकार महाभेला उद्घाटनका अवसरमा शुक्रबार पोखरामा रक्तदान कार्यक्रम भएको छ । गण्डकी प्रदेश सरकार, मानव अधिकार आयोग र महाभेलाले उक्त कार्यक्रम आयोजना गरेका हुन् ।
गण्डकी प्रदेश सरकारका सचिव तीर्थराज भट्टराईले रक्तदान कार्यक्रम ५० औंपटक रक्तदान गरिसकेका राजन तिमिल्सिनालाई ब्लड ब्याग दिएर कार्यक्रम सुरुआत गरे ।
सचिव भट्टराईले एकजना व्यक्तिले रक्तदान गर्दा अर्को व्यक्तिको प्राण बाँच्ने हुँदा यस्ता कार्यक्रम सबैले गर्न आवश्यक भएको सुनाए । उनले आउँदा दिनमा मानव अधिकार महाभेला वा मानव अधिकार संरक्षणका लागि गण्डकी प्रदेश सरकारले यस्ता क्षेत्रमा बजेट तथा नीति निर्माणमा प्रथामिकता दिने प्रतिवद्धता जाहेर गरे ।
महाभेलाकी संयोजक तथा कोपिला नेपालकी विना शिल्वालले १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान अन्तर्गतकै रक्तदान कार्यक्रम गरिएको जानकारी दिइन् । उनले अप्ठेरो परिस्थितिमा रक्तदान गर्नेलाई धन्यवाद दिइन् । कार्यक्रममा बोल्दै इन्सेक गण्डकी प्रदेश कार्यालय प्रमुख शिव खकुरेलले १५ युनिट रगत संकलन भएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया