यौनिक तथा लैंगिक अल्पसंख्यकहरु सम्मानित

पोखरा ।
लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान चलिरहेकै बेला नारी जागरण अभियानले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (क्वेर समुदाय) सँग अन्तरक्रिया गरेको छ । यो समुदायको अवस्था, भोग्नु परेका समस्या, हिंसाको अवस्थाबारे अन्तक्र्रिया भएको हो ।
कार्यक्रममा उक्त समुदायका सदस्यहरुलाई सम्मानसमेत गरिएको छ । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले महानगर अल्पसंख्यक समुदायको पक्षमासदैव रहेको बताइन् । यौंनिक तथा लैंगिक अल्पसंख्यकका हक, अधिकारलाई सरकारले संवेदनशील भएर अधिकार सुनिश्चित गर्ने उनको भनाइ छ ।
वातावरण संरक्षणका लागि महाअभियान कास्की संयोजक रामबहादुर पौडेलले कुनै पनि समुदाय वा नागरिकको अधिकार प्राप्तिका लागि सबैको साथ चाहिनेमा जोड दिए । नागरिक समाज कास्कीका पूर्व अध्यक्ष विष्णुहरि अधिकारीले यौनिक तथा लैंगिक अल्पसंख्यक हुनुमा व्यक्तिको दोष नभए पनि समाजमा अपहेलनाको शिकार हुनुपरेको बताए ।
नौलो बिहानीकी कार्यालय प्रमुख रजनी थकाली ‘फुपू’ले आफ्नो समुदायले भोगिरहेका पीडाका बारेमा प्रस्टाएकी थिइन् । सर्वप्रथम परिवारबाटै विभेद हुने र पछि समाजबाटै अपहेलित हुनुपर्ने अवस्था अझै नहटेको उनले सुनाइन् ।
नारी जागरण अभियानकी संयोजक अञ्जु केसीले नेपालमा अझै पनि सबै समुदायमा हिंसाका घटना भइरहेको बताइन् । अन्तरक्रियाले हिंसाको अवस्था थाहा पाउन र त्यसको न्यूनीकरण भूमिका खेल्ने उनको भनाइ छ ।
कार्यक्रममा अभियानकी सचिव लक्ष्मी अधिकारी र अभियानकी सहसंयोजक राममाया मानन्धर र पत्रकार राजु गिरीले पनि बोलेका थिए ।
तपाईको प्रतिक्रिया