गाँजाको पृष्ठभूमि र वैधताको बहस

गाँजा नेपालमा पाइने जंगली वनस्पतिको एक प्रजाति हो । विशेषत नेपालको पहाडी भूभागदेखि अन्य क्षेत्रमा समेत पाइने गाँजालाई पौराणिककालमा शिवजीले सेवन गर्ने ‘शिव बुटी’ का रुपमा आज पनि हिन्दु संस्कृतिभित्र प्रख्यात छ । केही वर्षअघिसम्म पशुपतिनाथमा शिवरात्रिको अवसरमा मेला भर्न आउने साधुसन्तहरुलाई प्रसादको रुपमा गाँजा बाँडिने प्रचलन पनि थियो । हाम्रै समाजमा पनि यसको प्रयोग औषधीको रुपमा गरिँदै आएको पाइन्छ । गाँजालाई ग्यास्ट्रिक, अरुचि जस्ता समस्यामा मानिसले सेवन गर्दथे भने गाईवस्तु, बाख्रा आदिलाई पखाला लाग्दा खुवाउने गरिन्थ्यो । यसका अलावा अन्नबाली भण्डारण गरेका स्थानहरुमा यसलाई राखि दिँदा घुन पुत्ला लगायत अन्य किराहरु नलाग्ने हुँदा गाँजाका गुणहरु अवश्य पनि मानवहितमा छन् भन्ने प्रमाणित हुन्छ ।
हुन पनि गाँजाको लोक्ताबाट कपडा, डोरी, कागज बनाउन प्रयोग गर्न सकिने र डाँठको कागजदेखि यसका फल (गेडा) अचारको रुपमा प्रयोग गर्न सकिन्छ । २५ रोपनीमा रहेको जंगलबाट पाइने अक्सिजन केवल एक रोपनी जग्गामा लगाएको गाँजाबाट प्राप्त गर्न सकिन्छ । जहाँ कि कुनै बिरुवा रोपी हुर्काउँदा ३० देखि ५० वर्षमा वातावरण योग्य हुन्छ । गाँजा ४ देखि ५ महिनामा प्राकृतिक गुणयुक्त हुन्छ । वैज्ञानिकहरुका अनुसार गाँजाले क्यान्सर, एड्स, वाथ, मुटु रोग, मिर्गी, दम, पेट, अनिन्द्रादेखि मेरुदण्डको कडापन जस्ता समस्याहरुको उपचारमा महत्वपूर्ण काम गर्दछ । त्यस्तै यसले पशुको हार्मोन बढाउने काम पनि गर्छ । पछिल्लो समय गाँजाबाट कारको बडि बनाउने, साबुन, सौन्दर्य सामग्री लगायत भवनहरुको इन्सुलेट गर्ने जस्ता कार्यमा प्रयोग गर्ने गरिएको पाइन्छ ।
नेपाली गाँजाको विषयमा तीस (३०) को दशकमा प्रचार एवं स्तरियताका बारेमा चर्चा परिचर्चा निकै भएको पाइन्छ । अमेरिका लगायत युरोपेली देशहरुबाट हिप्पीहरु गाँजाको खोजीमा नेपाल आउने र नेपालका पहाडी जिल्लाहरु रुकुम, रोल्पा, जाजरकोट, सल्यान, बागलुङ, गोरखा, मकवानपुर आदि जिल्लाका जंगलमा गई त्यहाँ उम्रेका गाँजाको संकलन प्रसोधन समेत गरेका दृष्टान्तहरु पाइन्छन् । यस कार्यलाई उक्त समयमा गाँजा पर्यटनको रुपमा व्याख्या गर्ने गरिएको र नेपाली गाँजा काठमाडौँको ठमेलदेखि युरोपियन बजारमा बिक्री हुने गरेका कुरा तथ्य र विभिन्न प्रमाणहरुबाट पुष्टि हुन्छ । यस अवधिमा युरोप, एसिया लगायत अन्तर्गतका मुलुकहरुमा गाँजाको ओसारपसार र बिक्री व्यापक भएको पाइन्छ ।
व्यापक रुपमा फैलिएको लागु औषध कारोबारलाई नियन्त्रण गर्न संयुक्त राष्ट्र संघले विभिन्न सन्धिहरु प्रस्ताव गरेको पाइन्छ । सोही अनुसार नै नेपालले लागु औषध नियन्त्रण सम्बन्धी तीनवटा सन्धिहरुमा हस्ताक्षर गरी नेपालमा पनि लागु औषध नियन्त्रण ऐन २०३३ जारी गरेको थियो । पछिल्लोपटक सन् १९८७ मा लागू औषध र रासायनिक लागु औषध कारोबार, ओसारपसार सम्बन्धी सन्धिमा हस्ताक्षर गर्ने नेपाल अन्तिम राष्ट्र हो ।
गाँजालाई वैधता दिँदा लोककल्याणकारी राज्यको अवधारणालाई आत्मसात गरी फाइदा बेफाइदाको यकीन गरिनुपर्दछ
त्यति बेला नेपालले रिजर्भेसन सहित उक्त सन्धीमा हस्ताक्षर गरेको र गाँजाको हकमा मान्य नहुने तथ्य राखिएको थियो । नेपालले राखेको उक्त रिजर्भेसन डेढ वर्षभित्र अन्य राष्ट्रहरुले विरोध गरेको भए नेपालले उक्त सन्धि अक्षरसः लागु गर्नुपर्ने थियो तर त्यो अवधिमा कसैले पनि बिरोध गरेनन् । त्यसैले नेपालमा विद्यमान रहेको कानुनले गाँजालाई प्रतिबन्ध गरेको विषय बेला बेलामा चर्चा र वहसको विषय बन्ने गरेको पाइन्छ । यावत वहसहरुका बिचमा पनि दीर्घकालीन कार्ययोजना बिना गाँजालाई कानुनसम्मत गर्ने कार्यले भविष्यमा भयवाह समस्या निम्त्याउने त होइन भन्ने महत्वपूर्ण प्रश्न खडा गरेको छ ।
गाँजा साँच्चीकै गलत वस्तु हो त ? यसले हाम्रो समाजमा ठुलै हानी नोक्सानी गरेको छ त ? यो प्रश्न बहसको विषय बनेको छ । हुन पनि नेपालमा लागु औषध दुव्र्यसनीका रुपमा अधिकांश युवाहरु पीडित हुनु र अन्य लागु औषध भन्दा गाँजाको सहज प्राप्तीका कारण पनि दुव्र्यसनको पहिले खुट्किलोको रुपमा यसलाई लिइने हुँदा पनि छलफलको विषय बनेको हो । यसले युवाशक्तिमा प्रत्यक्ष असर पारेको कुरामा द्विविधा छैन ।
नेपालको लागु औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार नेपालमा १,३०,४२५ जना लागु औषध प्रयोगकर्ता रहेको र यसअघि २०६९ को सर्वेक्षणमा ९१,५३४ जना प्रयोगकर्ता रहेको देखिँदा प्रयोगकर्ताहरुमा लागु औषधप्रतिको मोह दिन प्रतिदिन गुणात्मक रुपमा बढिरहेको देखिन्छ । यस्तो स्थितिमा गाँजालाई वैधता दिँदा समाजमा अहिले विद्यमान रहेको दुव्र्यसन झन् बढ्न जानेतर्फ राज्य सचेत र स्पष्ट भई कार्ययोजना बनाई अघि बढ्नुपर्ने देखिन्छ ।
सरसर्ती हेर्दा गाँजालाई वैधता दिँदा लोककल्याणकारी राज्यको अवधारणालाई आत्मसात गरी फाइदा बेफाइदाको यकीन गरिनुपर्दछ । एकातिर कलिला युवाहरुलाई सहज र खुल्ला रुपमा पाइने गाँजा आकर्षणको केन्द्र बन्ने अवस्था बरकरार छ भने अर्कोतर्फ राज्यले यसलाई वैधता दिएपछि मुलुकको समग्र सामाजिक, आर्थिक अवस्थामा आउने फेरबदल वा परिवर्तन ल्याउने कुरामा राज्य कति गम्भीर हुनसक्छ भन्ने कुरामा सचेत हुन जरुरी हुन्छ ।
अहिले गाँजा प्रतिबन्धित हुँदा समेत युवाहरु दुव्र्यसनमा फसेर परिवार, गाउँ समाज आक्रान्त छ । खुला रुपमा विना रोकतोक गाँजा भेटिदा उनीहरुको स्थिति के होला ? यसले गर्दा राज्यका निकायबाट चालिने कदम परिणाममुखी पीडित परिवारमुखी भई भरपर्दो योजना तर्जुमा निर्माण गर्नु जरुरी हुन्छ । त्यो योजनाभित्र सामाजिक रुपमा भइरहेको क्षतिको न्यूनीकरण, युवाहरुको मानसिक तथा शारिरीक स्वास्थ्यको व्यवस्थापनका साथै सुधार र सचेतनाका कार्यक्रमहरु संचालन गर्नुपर्ने हुन आउदछ । संगसंगै लागु औषध सम्बन्धी ऐनलाई पुनःलेखन गरी विद्यमान समस्याहरुको समाधान निस्कने गरी कार्य अघि बढाउनु राष्ट्रहितमा हुनेछ ।
प्रहरी उपरीक्षक खनाल नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा कार्यरत छन् ।
तपाईको प्रतिक्रिया