‘सरकारी बेवसाइट दृष्टिविहीनमैत्री बनाऊ’

समाधान संवाददाता २०८० मंसिर २५ गते १३:१३

पोखरा ।
सरकारी कार्यालयले बेवसाइटमा राख्ने विद्युतीय सामाग्रीलाई दृष्टिविहीनमैत्री बनाउन सहयोग पुर्‍याउने उद्देश्यले नेपाल नेत्रहीन संघ गण्डकी प्रदेशले पहुँचयुक्त सूचना प्रविधि विषयक कार्यशाला गरेको छ ।


अपांगता भएका व्यक्तिहरुको ३२ औं अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ भएको कार्यशालामा कास्कीका सरकारी कार्यलयमा कार्यरत सूचना प्रविधि शाखामा कार्यरत कर्मचारीको सहभागिता रहेको नेपाल नेत्रहीन संघका केन्द्रीय महासचिव शिशिर खनालले बताए ।


ग्लोबल डिसाबीलीटी ईन्क्लुजम (सीबीएम) तथा अस्ट्रेलियन एडको सहकार्यमा भएको कार्यशालामा नेत्रहीन संघका वरिष्ठ उपाध्यक्ष खोमराज शर्मा सुवेदी, नेत्रहीन संघ गण्डकीका महासचिव छवि आले, आशीष खतिवडा र राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेशका व्यवस्थापक अरुण श्रेष्ठले सहजीकरण गरेका थिए ।

Advertisement


संघका वरिष्ठ उपाध्यक्ष शर्माले सबै सरकारी कार्यालयले बेवसाइटमा राख्ने सामाग्रीमा सबैको पहुँच सुनिश्चित हुनु पर्ने बताए । उनले बेव कन्टेन्ट एक्सेसिबिलिटी गाइडलाइन अनुसार ती कार्यालय राख्ने सामाग्री युनिभर्सल डिजाइन अनुसार हुनुपर्ने अडान राखे ।


‘सरकारी कार्यालयले बेवसाइटमा राख्ने विद्युतीय सामाग्री अपांगता भएका व्यक्तिको लागि बनाइ दिएको भन्दा पनि सबैको लागि पहुँच सुनिश्चिताको दायित्व पूरा गरेको हो,’ उनले भने, ‘सरकारी कार्यालयहरुको बेवसाइटको पहुँच युक्तताको परीक्षण गर्दै छौं । सबैको पहुँच सुनिश्चित नभएर मुद्दा मामिला गर्ने विषयवस्तु बन्न सक्छ ।

Advertisement


उनले अमेरिकाको सरकारी कार्यालयको बेवसाइटमा ४० प्रतिशतभन्दा पहुँचमा कमी भए मुद्दा हाल्न सकिने जानकारी दिए । उनले नेपालमा पनि मुद्दा लाग्ने विषय कानुनले प्रष्ट भनेको उल्लेख गरे ।


नेत्रहीन संघका केन्द्रीय महासचिव खनालले नेपाल सरकारले अपांगतामैत्री सूचना प्रणाली लागू गर्ने निर्णय गरेको भएता पनि कार्यान्वयन नभएको दाबी गरे । उनले सबै सरकारी कार्यालयले बेवसाइटमा राख्ने सामाग्रीमा सबैको लागि पहुँचयुक्त हुनुपर्ने बताए ।


नेपाल नेत्रहीन संघ गण्डकी अध्यक्ष लक्ष्मण सुवेदीले सरकारी कार्यालयले बेवसाइटमा राखेको सामाग्री मोबाइलको डिभाइसबाट सहज रुपमा सुन्न पाउनुपर्ने माग गरे । उनले सरकारी कार्यालयमा ह्वील चियर जाने बनाउनुका अलवा बेवसाइटको सामाग्री दृष्टिविहीनमैत्री बनाउनुपर्ने बताए । नेत्रहीन संघ गण्डकीमा महासचिव आलेले सरकारी कार्यालयका बेवसाइटमा राखेका सामग्रीमध्ये केही सूचना पहँुचयुक्त हुने जानकारी दिए ।


उनले प्रिन्ट गरेको पेपर तथा स्क्रिनमा देखिएको अक्षर पढ्ने (स्क्रिन रिडर) व्यवस्था मिलाउनुपर्ने सुझाव दिए । सूचना प्रविधिमा सबैको पहुँच पुगे साइबर सुरक्षामा असर पर्ने उल्लेख गर्दै उनले साइबर सुरक्षामा ध्यान दिँदै सूचना प्रविधिलाई पहुँचयुक्त बनाउनुपर्ने सुझाव दिए ।


राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेशका व्यवस्थापक श्रेष्ठले सबै सामग्रीलाई गुगल ड्राइभमा लगेर सफ्टवेयरले पढ्ने व्यवस्था मिलाउन सकिने उपाय प्रस्तुत गरे ।

तपाईको प्रतिक्रिया