यातायात व्यवसायीको सभामा पौडेल सम्मानित

पोखरा ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ, गण्डकी प्रदेशको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा पत्रकार वासुदेव पौडेल सम्मानित भएका छन् । पत्रकारिताको माध्यमबाट पर्यटन क्षेत्रको विकासमा योगदान गरेकोमा उनलाई पुरस्कृत गरिएको हो ।
पत्रकार पौडेललाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेमगरले २५ हजार नगदसहित दोसल्ला र सम्मानपत्र प्रदान गरे । पौडेल राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेश प्रमुख हुन् ।
कार्यक्रममा मन्त्री आलेले गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जनाए । उनले कोभिड लगायतका कारण पर्यटन क्षेत्र प्रभावित बने पनि अब त्यसको प्रभाव घट्दै गएकाले पर्यटन प्रवद्र्धनका गतिविधिअघि बढाउनुपर्ने उल्लेख गरे ।
पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटनको माध्यमबाट गण्डकी प्रदेशलाई आर्थिक रुपमा सबल र सक्षम बनाउन सकिने विचार राखे । सरकारको बजेटमा पर्यटन प्रवद्र्धन र विकासमा जोड दिनुपर्ने उनको भनाइ छ । पोखरा–मुग्लिन सडक निर्माणको ढिलासुस्तीले पोखराको पर्यटनलाई प्रभावित बनाएको बताउँदै यसलाई यथासीघ्र सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराए ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष बाबुराम पाण्डेले सवारी यातायातमा इम्बोस्ड नं राख्ने नाममा पर्यटक यातायातको पहिचान नै हराउने हो कि भन्ने चिन्ता बढाएको जनाए ।
नेपाल पर्यटन यातायात व्यवसायी संघका केन्द्रीय अध्यक्ष वेदराज बास्तोलाले पर्यटक यातायात व्यवसाय जोखिमयुक्त व्यवसाय भएको बताउँदै अव्यवस्थित सडक, बैंकको बढ्दो ब्याजदर लगायतका कारण व्यवसाय नै समस्यामा गुज्रिइरहेको सुनाए ।
कार्यक्रममा नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष बोबरजंग गुुरुङ, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सल्लाहकार सोमबहादुर थापा, पोखरा ६ का अध्यक्ष विष्णुबहादुर भट्टराई लगायतले सरकारको पर्यटनमैत्री नीति आवश्यक भएकोमा जोड दिए ।
समारोहमा सल्लाहकार गणेशबहादुर सापकोटा, सवारी चालकद्वय राजकुमार परियार र सूूर्यबहादुर विश्वकर्मालाई पनि सम्मान गरिएको थियो । संघका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष दुर्गादत्त दहाल र विकास कँडेलले पनि बोलेका थिए ।
यसैबीच, अधिवेशनले दुुर्गादत्त दहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको निवर्तमान अध्यक्षमा बाबुराम पाण्डे, प्रथम उपाध्यक्षमा रविप्रसाद आचार्य, द्वितीय उपाध्यक्ष सूर्यबहादुर घले, महासचिवमा विकासप्रसाद कँडेल छन् ।
सचिवमा श्यामप्रसाद लामिछाने, कोषाध्यक्षमा शोभाखर तिवारी र सहकोषाध्यक्षमा भुवानीप्रसाद अधिकारी चुनिएका छन् । समितिका सदस्यमा संगीता अधिकारी, सुमन कुँवर र आनन्दराज अधिकारी छन् । २ सदस्यपछि मनोनयन गरिनेछ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया