२ लाख घुस प्रकरणपछि न्यायिक समितिबाट वडा सदस्य भावनाको राजीनामा

समाधान संवाददाता २०८० मंसिर २६ गते १०:४४

पोखरा ।
पोखरा महानगरपालिकाको न्यायिक समिति सदस्य भावना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् । पोखरा ९ की वडा सदस्यसमेत रहेकी श्रेष्ठले मंसिर २३ गते न्यायिक समिति सदस्यबाट राजीनामा दिएको पत्र समितिकी संयोजक तथा पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङलाई पठाएकी हुन् ।


समिति संयोजक गुरुङले श्रेष्ठको राजीनामा प्राप्त गरेको पुष्टि गरिन् । ‘विशेष परिस्थितिका कारण न्यायिक समिति सदस्य पदमा रहेर काम गर्न इच्छुक नभएको हुँदा राजीनामा पेश गरेको पत्र पठाउनुभएको छ,’ उपमेयर गुरुङले भनिन् । भावनाले राजीनामा फेसबुकको म्यासेन्जरबाट पठाएकी हुन् ।


वडा सदस्य भावनाले राजीनामा गर्नुको विशेष परिस्थिति भने न्यायिक समितिमा रहेर घूस लिएका प्रमाणहरु सार्वजनिक हुनु हो । उनले पोखरा २६ को विजयपुर स्थित घडेरीमा बाटो पुर्‍याइदिन परेको उजुरी जिताइदिने भन्दै २ लाख रुपैयाँ लिएको घटना बाहिरिएको छ । भावनाले त्यो कुरा तेस्रो पक्षकी एक महिलासँग फोन वार्तामा स्वीकार पनि गरेकी छन् ।

Advertisement


रुपा गाउँपालिका वडा नम्बर वडा ४ को शिद्ध स्वास्थ्य चौकीका कार्यालय प्रमुख रविनकुमार श्रेष्ठ र उनका भाइबीच अंशबण्डा गरेको जग्गामा बाटो पुर्‍याउने विषयमा विवाद उत्कर्षमा पुग्यो । पोखरा २६ विजयपुरको त्यो जग्गामा बाटो पुर्‍याइदिन एक युवतीले रविनलाई सहयोग गरिन् ।


रविन र वडा सदस्य भावनाको मध्यस्तकर्ता बनेकी ती युवतीले पैसा लिने र बुझाइदिने काम गरेको स्वीकारसमेत गरेकी छन् । न्यायिक समितिले त्यो विवादित जग्गाको उजुरीमा न्यायीक समितिले ०७९ चैत २० गते फैसला गरेको थियो । तर, त्यो फैसाला रविनले भने बमोजिम नभएपछि विवाद सुरु भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया